• २०८१ बैशाख १३ बिहीबार

निर्माण व्यवसायी गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ, सात जना अझै फरार

kharibot

फाइल तस्बिर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद कुमार गौचनको हत्या योजना बनाउने मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई पक्राउ गरेको छ । सीआईबीले शनिबार चितवनको नारायणगढबाट ३४ वर्षीय बस्नेतलाई पक्राउ गरेको हो ।  

उनले रूपन्देही एमालेको भ्रातृसंगठन युवा संघ अध्यक्ष दुर्गा तिवारी हत्या, दावा लामामाथिको गोली प्रहार गरेको समेत प्रहरीको भनाइ छ । गत २०७३ पौष ४ गते सोमबारको रूपन्देही देवदह न.पा. खैरहनी स्थित एमालेनिकट यूवा संघका जिल्ला अध्यक्ष ४० वर्षीय तिवारीको गोली प्रहार गरी हत्या गरिएको थियो । त्यस्तै २०७३ चैत्र २९ गते काठमाण्डौ, गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’को प्रांगणमा दावा लामालाई ३ गोली प्रहार गरी घाइते पारेको तथा गत असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष ६० वर्षीय गौचनको   का.जि.का.म.न.पा.वडा नं.३१, नयाँबानेश्वर, प्रयाग मार्गमा गोली हानी हत्या गरिएको घटनामा बस्नेतले नै मुख्य योजना बनाएको प्रहरीको भनाइ छ । ।

बस्न्यात नै तीनवटै घटनाका मुख्य योजनाकार
नेपालमा भएका विभिन्न अपराधिक घटनाहरूमध्ये गुण्डाहरूको संगठित समूहद्वारा शृंखलाबद्ध उक्त तीनवटै घटनाको मुख्य योजनाकार बस्नेत हुन् । प्रहरीका अनुसार उनी का.जि.का.म.न.पा. बाफल—१३, स्थायी घर भई विगत २ वर्ष ६ महिनादेखि नेपालबाहिर विभिन्न देशमा बसी नेपालका व्यवसायीहरूलाई धम्क्याई असुली गर्दै आएका थिए । प्रहरीले केही दिनअघि मात्रै उनी नेपाल छिरेको सुराकी पाएको थियो । सोही क्रममा शनिबार उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

यस्ता छन् उनीसम्बद्ध अपराधको विवरण
दुर्गा तिवारी हत्यामा मनोज पुनले घटनाको सम्पूर्ण जिम्मेवारी लिएतापनि त्यस घटनाको मुख्य योजनाकार समिरमान सिंह वस्न्यात भएको खुल्न आएको छ । त्यस्तै दुर्गा तिवारीलाई गोली प्रहार गर्ने लोप्साङ लामा समिरमान सिंह वस्न्यातको मुख्य सहयोगी व्यक्ति भएको खुल्न आएको छ भने दावा लामालाई गोली प्रहार गरी घाईते बनाएको घटनामा समिरमान सिंह बस्न्यातको योजनामा लोप्साङद्दारा अमर बहादुर रानामगरलाई प्रयोग गरी गोली प्रहार गरेको समेत खुलेको छ ।
यसबाहेक शरद कुमार गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा समिरमान सिंह बस्न्यातको योजनामा लोप्साङ लामा र मनोज पुन लगायत अन्य १२ जना गरी जम्मा १५ जना संलग्न भएको खुलेको छ । बस्नेत पक्राउ परेपश्चात उक्त समूहको नेतृत्व लोप्साङ लामाले सम्हालेको र आन्तरिक द्वन्द्वका कारण मनोज पुन उक्त समूहबाट अलग्गिएको प्रहरीको भनाइ छ ।

के के बरामद भयो ?
वसन्त थेबे र धनराज योङहाङ बस्ने घरको परिसरमा राखिएको फुलको गमला भित्र लुकाई छिपाई राखेको ८ राउण्ड गोलीसहितको ९ एमएमको अमेरिकी पेस्तोल एउटा र २ राउण्ड गोलीसहितको कटुवा पेस्तोल एउटा बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बा.३५प २४६१ को साइन, बा.४६प ४८५३ को निलो पल्सर, बा. ४४प ७७८६ को कालो पल्सर मो.सा.सहित तीनवटा मोटरसाइकल समेत उनीहरुबाट प्रहरीले बरामद गरेको छ ।  

गौचन हत्याको मुख्य कारण
प्रहरीले बस्नेत समूहले प्रारम्भिक अनुसन्धानको क्रममा मृतक शरद कुमार गौचनले सञ्चालन गर्दै आएको डांफे कन्स्ट्रक्सनमा सेयर दिने भनि गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ (घैंटे)मार्फत दुई करोड ५० लाख लिएको र उक्त रकममध्ये समिरमान सिंह बस्नेतको एक करोड भएको खुलेको छ । त्यस्तै कुमार श्रेष्ठको मृत्युपश्चात् उक्त सम्पुर्ण रकम बराबरको डांफे कन्स्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनी समिरमान सिंह बस्न्यातले पटक पटक माग गर्दा समेत फिर्ता नगरेपछि विवाद बढेको थियो ।  सो क्रममा वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसनबापतको २५ प्रतिशत रकम माग गरेकोमा बेवास्ता गरेपछि हत्या योजना बनेको र घटना भएको प्रहरीको भनाइ छ ।

को को पक्राउ परे, को को बाँकी छन् ?
मुख्य योजनाकार समिरमान सिंह बस्नेतसहित वसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरूङ पक्राउ परेका छन् भने मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरूङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा हालसम्म फरार नै रहेको सीआईबीले जनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै