• २०८१ बैशाख ६ बिहीबार

के स्टेफेन हकिंग्सले भनेजस्तै पृथ्वी अबको छ सय वर्षमा आगोको लप्कोजस्तै बलिरहेको हुनेछ ?

kharibot

चीन । बेलायतका चर्चित प्राध्यापक स्टेफेन हकिंग्सले आगामी  छ सय वर्षसम्ममा पृथ्वीबाट सबै जीवहरु नामेट हुने चेतावनी दिँदै आएका छन् । उनका अनुसार मानिसहरुले विज्ञानको अध्ययन, अनुसन्धानमा तीव्रता दिएर मानव बासस्थानको लागि पृथ्वीकै विकल्प नखोज्ने हो भने यसले डाइनोसरको जस्तै परिणति मानवजातिले भोग्नुपर्नेछ ।

गएको नोभेम्बर महिनाको सुरुतिर चीनको राजधानी बेइजिंगमा भएको टेनसेन्ट वेबसमिटलाई भिडियो सम्बोधन गर्ने क्रममा उनले मानवजातिकै कारण पृथ्वी केही सय वर्षमै आगाको डल्लो हुने खतरा औँल्याएका हुन् ।  डेली मेलका अनुसार हकिंग्सले मानिसहरु नै पृथ्वीको विनाशक बन्नलागेको चेतावनी दिएका हुन् । भौतिकशास्त्री यी प्रोफेसरले विश्वमा बढ्दो जनसंख्या र मानिसहरुको शक्ति (इनर्जी)को बढ्दो मागकै कारण भयावह स्थितिको सामना गर्नुपर्नेछ ।

यदि उनले भनेजस्तै हुने हो भने अबको नवौँ, दशौँ पुस्ताले यसको सामना गर्नुपर्नेछ । सोही कारण मानवजातिले ताराहरुमा पृथ्वीसँग मिल्दोजुल्दो अर्कै ग्रहको खोजी गर्नुपर्ने बताए । उनले छिमेकी अल्फा सेन्टाउरी पृथ्वीको भरपर्दो विकल्प हुनसक्ने दाबी गरे । त्यसतर्फ मानवसहित उडान भर्ने परियोजना सुरु गर्न ढिला भइसकेको उनको भनाइ थियो ।

बेलायती नक्षत्र एवं अन्तरिक्षविज्ञ यी प्रोफेसर मोटर न्युरोन रोगबाट २१ वर्षकै उमेरमा गस्त भएका थिए । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा हकिंग्सले लाइटबिमको सहायतामा नानोक्राफ्टको आविष्कार गर्नुपर्ने समेत सुझाएका थिए । यस्तो आविष्कार गर्नसके एक घण्टाभित्रै मंगलग्रहमा पुग्नसकिनेछ भने प्लुटोमा पुग्न एक दिन मात्रै लाग्नेछ ।

यस आविष्कारले हकिंग्सले सुझाएको ग्रहमा २० वर्षमा पुग्नसकिनेछ । अल्फा सेन्टाउरी स्टार सिष्टम २५ ट्रिलियन माइल टाढा अर्थात् ४ दशमलव ३७ प्रकाश वर्ष टाढा रहेको छ । आजसम्मको तीव्रगतिको अन्तरिक्ष यानमा त्यहाँसम्म जान ३० हजार वर्ष लाग्छ ।

यस्तो एयरक्राफ्टले अहिलेभन्दा हजार गुणा तीव्र गतिमा उडान भर्नसक्छ । खगोलविद्हरुले पनि अल्फा सेन्टाउरीको तीन तारा प्रणालीभित्र बस्नलायक स्थान भएको ग्रह रहेको हुनसक्ने बताएका छन् । यतिमात्र होइन हकिंग्सले आर्टिफिसियल इन्टेलिजेन्ट (मानव आविष्कृत) वस्तुहरुबाट मानवमाथि खतरा आएको समेत दाबी गरेका छन् । उनले वेब समिटमा उपस्थित ६० हजार मानिसलाई सम्बोधन गरेका थिए । एआईलाई लिएर विश्वव्यापी रुपमा बहस भइरहँदा हकिंग्सले पनि त्यसलाई चुनौतीका रुपमा चित्रण गरेका हुन् ।

एआईलाई लिएर चिन्ता गर्नेमा स्पेस एक्स अन्तरिक्ष कम्पनीका एलेन मस्क समेत रहेका छन् । यद्यपि माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स भने यस्ता कुरालाई तत्काल चिन्ता गरिहाल्नुपर्ने ठान्दैनन् । हकिंग्सले आगामी सम्भावित चुनौतीहरुका लागि मानव समुदाय तम्तयार हुनुपर्ने आवश्यक ठान्छन् । उनी यो र अर्को पुस्तालाई सुरुवाती जीवनमा विज्ञानको खोजी र अध्ययनमा व्यस्त राख्न सुझाउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै