सिन्धुली । सिन्धुलीको बुकापुलनजिकै मध्याह्न भएको हाइस दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट गाईघाटका लागि हिँडेको बा३ख ८४६७ नम्बरको यात्रुवाहक हाइस सडकबाट तल घारीमा खसेको हो ।
मध्याह्न १२ बजे दुर्घटना भएको त्यहाँस्थित प्रहरीले खरीबोटलाई जानकारी दिएको छ । उक्त हाइस काठमाडौँबाट बिहान गाईघाटका लागि छुटेको थियो । सोही क्रममा सिन्धुलीको बुकापुलनजिकै दुर्घटना भएको हो । स्थानीय प्रशान्त सिन्धुलीयनले दिएको जानकारीअनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी टीकाबहादुर केसीले स२प ५६४७ नम्बरको बाइकसँग ठोक्किएपछि बस अनियन्त्रित भएर ४२ फिट तल खसेको बताए । केसीका अनुसार मृतक उदयपुर त्रियुगा नगरपालिकाका ८४ वर्षीय राजेन्द्र प्रसाद भट्टराई रहेको र १०/१२ जना सामान्य घाइते भएका छन् ।
एक जना कमला खड्कालाई उपचारका लागि काठमाडौं पठाइएको छ । हाइसमा २० जनाजति यात्रु रहेको प्रहरीको भनाइ छ ।