• २०८१ बैशाख ८ शनिबार

रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप

kharibot

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ । 

बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो । झडपमा परेर १४ प्रहरी र तीनजना गठबन्धनका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । 

एक्कासि प्रहरीमाथि ठूलो सङ्ख्यामा रहेका गठबन्धनका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थित नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर र एक दर्जन अश्रुग्याँस सेल प्रहार गर्नु परेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाले बताए । 

झडपमा परेर घाइते भएका तीनैजनाको टाउकामा चोट लागेको घाइतेमध्ये दुईजनाको चन्द्रनिगाहपुर अस्पताल र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको गठबन्धनले जनाएको छ । 

त्यसैगरी प्रहरीतर्फ १० र चारजना सशस्त्र प्रहरी गरी १४ जना घाइते भएका छन् । दुई जनाको टाउकामा टाँका लागेको, एकजनाको हात भाँचिएको, एकजना प्रहरीको छातीमा गम्भीर चोट लागेको र बाँकीलाई सामान्य चोटपटक लागेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । फोरमका नेता योगेन्द्र यादवले अन्य दलले आचारसंहिता उल्लङ्घन गर्दा प्रहरीले वास्ता नगरेको तर मधेशवादीमाथि दमन गरिरहेको आरोप लगाए । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दलका कार्यकर्ताले काम गरेको पाइएमा अथवा सूचना आएमा नियमानुसार कार्यवाही गर्ने बताए । गए राति भएको घटनाको छानबिनसमेत भइरहेको उनले जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै