• २०८१ बैशाख ७ शुक्रबार

'चिठ्ठा परेको' भनी फोन आए १८८ मा फोन गर्नुहोस् : नेपाल टेलिकम

kharibot

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विदेशबाट आउने अवैध कलप्रति सचेत रहन आग्रह गरेको छ । ग्राहकले गुणस्तरीय सेवाबाट वञ्चित हुनुपर्ने र अवैध कलकै कारण राज्यले संकलन गर्ने राजस्वमा समेत प्रभाव पर्ने भएकाले टेलिकमले यस्तो आग्रह गर्नुपरेको जनाएको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बिहीबार विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेकी हुन् । नेपाल टेलिकमका मोवाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अवैध मार्गबाट आएको मानिने टेलिकमको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसरी आएको कलको गुणस्तर कमजोर हुनुको साथै राजस्व समेत छलिएको हुन्छ । विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुने टेलिकमले जनाएको छ ।

त्यस्तै ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिनयता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले त्यस्ता अवैध कलहरु नियन्त्रण गर्न अग्रसर भएको समेत टेलिकमले जनाएको छ ।

यस्तो कल आएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिन समेत अनुरोध गरेको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै