• २०८१ बैशाख ८ शनिबार

विद्युतीय कारोबारमा राष्ट्र बैंकको कडाइ

kharibot

नेपाल राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सम्बन्धमा न्यूनतम सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड र मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवालगायत अन्य विद्युतीय माध्यमबाट गरिने कारोबारलाई व्यवस्थित गर्न सीमा निर्धारण गरिको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइनेछैन तर ग्राहकलाई नगद अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २० प्रतिशतसम्म रकम झिक्न बाधा पुगेको नमानिने व्यवस्थामा उल्लेख छ । क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बैंकमा जम्मा गरी समयावधि अगावै पुनः नगद झिक्न पाइनेछैन । राष्ट्र बैंकका अनुुसार प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम एक लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सकिने छ ।

प्रिपेड कार्डसम्बन्धी व्यवस्था
प्रिपेड कार्डबाट नगद झिक्दा प्रतिकारोबार न्यूनतम पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म वा प्रतिमहिना अधिकतम २५ हजार रुपैयाँसम्म नगद झिक्न सकिनेछ । डेबिट कार्डबाट नगद कारोबार गर्दा न्यूनतम प्रतिकारोबार भने पाँच सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म झिक्न पाइनेछ । यस्तो कारोबार प्रतिदिन चार वटासम्म कारोबारका दरले अधिकतम एक लाख रुपैयाँसम्म कारोबार गर्न पाइनेछ । तर, बैंक तथा वित्तीय संस्थाहरुले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा घटाउन सक्नेछ । जारी गर्ने र प्राप्ति गर्ने फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा कारोबारको सीमासम्मको रकममा एकरुपता हुने गरी बैंक तथा वित्तीय संस्थाले आफ्नो स्टिममा आवश्यक व्यवस्था मिलाउनुपर्नेछ । साथै, यस्तो कारोबारमा लिने सेवा शुल्क उपयुक्त माध्यममार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्थामा उल्लेख छ ।

मोबाइल बैंकिङसम्बन्धी व्यवस्था
मोवाइल बैंकिङबाट भुक्तानी कारोबार गर्दा भने एक पटकमा बढीमा पाँच हजार र रुपैयाँसम्म वा प्रतिदिन अधिकतम १० हजार रुपैयाँसम्म कारोबार गर्न पाइनेछ । तर, मासिक रुपमा  ५० हजार रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न पाइनेछैन, राष्ट्र बैंकले भनेको छ । यसैगरी इन्टरनेट बैंकिङबाट भुक्तानी कारोबार गर्दा दैनिक अधिकतम एक लाख रुपैयाँसम्म कारोबार गर्न सकिने भएता पनि मासिक रुपमा अधिकतम पाँच लाखभन्दा बढीको भुक्तानी कारोबार गर्न नपाइने व्यवस्थामा उल्लेख छ । इन्टरनेटबैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुको खातामा ट्रान्सफर गर्दा एक पटकमा एक लाख र मासिकरुपमा १० लाख रुपैयाँसम्मको कारोबार गर्न नयाँ व्यवस्थाले बाधा पुर्याउनेछैन ।

वालेटसम्बन्धी व्यवस्था
भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले भुक्तानीसम्बन्धी कार्यको लागि नगद वा ट्रान्सफर गरी रकम जम्मा गर्न सक्नेछन् । नगद जम्मा गर्दा सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक प्रतिनिधि वा सहायक प्रतिनिधिमार्फत वालेटमा एक पटकमा पाँच हजार रुपैयाँसम्म नगद जम्मा गर्न सकिनेछ । प्रतिदिन अधिकतम १५ हजार र मासिकरुपमा अधिकतम २५ हजार रुपैयाँसम्म जम्मा गर्न सकिनेछ । उक्त व्यवस्थाअनुसार प्रतिनिधि वा सहायक प्रतिनिधिमार्फत भुक्तानी गर्दा एक पटकमा अधिकतम पाँच हजार रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ । यसरी कारोबार गर्दा प्रतिदिन अधिकतम १५ हजार र मासिकरुपमा अधिकतम २५ हजार रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न पाइनेछैन ।

नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरु सम्बन्धित निकायहरुले विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने गरी नीतिगत व्यवस्था गरेको अवस्थामा बील बमोजिमको रकम वालेट मार्फत् भुक्तानी गर्न सकिनेछ । प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरु, खानेपानी सेवा, शिक्षण संस्था (विद्यालय÷कलेज) स्वास्थ्य संस्था, यातायात सेवा, होटल तथा रेष्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता जस्ता सेवाहरुको आवधिक रुपमा भुक्तानी गर्नुपर्ने शुल्कहरुको बील बमोजिमको रकम वालेट  बाट भुक्तानी गर्दा माथि यि व्यवस्थाले बाधा पुुगेको मानिने छैन तर यसरी भुक्तानी गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्ने छ, राष्ट्र बैंकले भनेको छ ।

भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेका वालेटमा मा वा एक वालेटबाट अको वालेटमा रकम ट्रान्सफर गर्न सकिने व्यवस्थामा  उल्लेख छ । राष्ट्र बैंकका अनुसार बंैक तथा वित्तीय संस्थामा रहेको खाताबाट वालेटमा रकम स्थानान्तरण गर्दा वा एक वालेटबाट अर्को वालेटमा रकम स्थानान्तरण गर्दा प्रति कारोबार एक रुपैयाँ देखि अधिकतम पाँच हजार रुपैयाँ सम्म र प्रतिदिन १५ हजार रुपैयाँसम्म स्थानातरण गर्न सकिने छ । बंैक तथा वित्तीय संस्थाहरुमा रहेका खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरुले सञ्चालन गरेका वालेटमा सोही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा ५० हजार रुपैयाँसम्म रकम स्थानान्तरण गर्न सकिनेछ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै