• २०८१ बैशाख ८ शनिबार

चर्चित निर्वाचन क्षेत्र : उपेन्द्र यादवलाई चुनौती दिदै वाम गठबन्धन र स्वतन्त्र उम्मेदवार  

kharibot

राजविराज । सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ । 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदान रहेका छन् । 

यो क्षेत्रमा मधेश गठबन्धन र वाम गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएकाले कसले बाजी मार्ला भन्ने सबैको नजर सप्तरी क्षेत्र नं २ प्रति ध्यान गएको देखिएको छ । 

यता काँग्रेसका उम्मेदवार सकलदेव सुतिहारले भने मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेका छन् । 

करिब ७९ हजार २६३ मतदाता रहेको यस क्षेत्रमा फोरम–राजपाको चुनावी गठबन्धन र एमाले–माओवादीबीचको चुनावी तालमेललाई हेर्ने हो भने यी दुई गठबन्धनबीच नै अन्तिम प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीविको भनाइ रहेको छ । 

तर दुवै गठबन्धनका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्ररुपमा उम्मेदवारी दिएका ठाकुर पनि पछाडि परेका छैनन् । राजपाले टिकट नदिएपछि उनी पनि स्वतन्त्ररुपमा भए पनि उम्मेदवार भएर कडा चुनौतीका साथ चुनावीमा उत्रिएका छन् । 

चुनावी मैदानमा रहेका फोरम अध्यक्ष यादव यसअघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव लडेका थिए । 

अध्यक्ष यादवले पहिलो संविधानसभामा मोरङ र सुनसरीको दुवै क्षेत्रबाट विजय भएका थिए । तर २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरीबाट चुनाव लडेर विजयी भएका थिए । 

त्यस्तै उनलाई कडा टक्कर दिन चुनावी मैदानमा रहनुभएका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वसिँचाइ मन्त्री उमेशप्रसाद यादवले पनि यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नं ३ बाट फोरमका उम्मेदवार शलेन्द्रप्रसाद साहलाई पराजित गरी निर्वाचित भएका थिए । 
यता राजपाका पूर्वसहमहामन्त्री जयप्रकाश ठाकुर मधेश गठबन्धनको विरुद्धमा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनी पनि यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन तमलोपा पार्टीबाट चुनाव लडेका थिए । 

काँग्रेसको केन्द्रीय परिपत्रअनुसार सप्तरी प्रतिनिधिसभा क्षेत्र नं २ बाट मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्न निर्देशन आएकाले फोरम अध्यक्ष बलियो देखिए पनि वाम गठबन्धनका उमेश यादवलाई एमाले र माओवादी केन्द्रको साथ छ । 
सप्तरी क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा पनि गठबन्धन र वाम गठबन्धनबीचको प्रतिस्पर्धा देखिएको छ भने स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन् । 

२ को (क)मा राजपा–फोरम गठबन्धनबाट शलेन्द्रप्रसाद साह र नेपाली काँग्रेसबाट रञ्जित कर्ण उम्मेदवार बनेका छन् । 

त्यस्तै २ को (ख)मा वाम गठबन्धनको तर्फबाट महेश यादव र राजपा–फोरम गठबन्धनबाट राजपाका महासचिव मनिषकुमार सुमन चुनावी मैदानमा रहेका छन् । 

यस्तै राजपाले टिकट नदिएपछि असन्तुष्टि जनाउँदै लक्ष्मण यादवले पनि महासचिव सुमनका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा रहेका छन् । 

सप्तरी क्षेत्र नं २ मा छिन्नमस्ता, तिलाठी कोइलाडी, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै