• २०८१ बैशाख ४ मंगलबार

पहिलो चरणमा पास : 'अक्षम' को दाग मेटाउदै प्रधानमन्त्री देउवा  

kharibot

काठमाडौँ । पहिलो चरणको संघीय र प्रादेशिक चुनावमा ३२ जिल्लामा मतदान सम्पन्न हुदा आईतवार कुल ३१ लाख ९१ हजार ९४५ मतदाता मध्ये ६५ प्रतिशत बढी मत खस्यो । 

प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा भएको मतदान जनसहभागिताका हिसाबले उत्साहजनक, राजनीतिक सहभागिताका हिसाबले सर्वपक्षिय रहयो । 

३२ वटा जिल्लामा खसेका मतको विवरण संकलन  गरिसकेको निर्वाचन आयोगले मतदानमा वृद्धवृद्धा तथा अशक्तहरुदेखि सबै तप्काका नागरिकलाई समावेश गराउने वातावरण तयार गर्नु आफैमा चुनावी सौन्दर्य  र सफलतामा चमक आएको उदाहरण थियो । ३२ सै जिल्लाका मतदाताले पनि उत्साहका साथ भाग लिएका कारण पनि यो पहिलो चरणको चुनाव जनताका लागि राजनीतिक दशैं सरह साबित हुन सक्यो । 

पहिलो चरणको आइतबार भएको मतदानमा जम्मा दुई वटा केन्द्रको मात्र मतदान स्थगित भई पुनः मतदान गराउनु पर्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दिएको जानकारीले नै स्पष्ट पार्छ आम आशंका बिपरित चुनाव शान्तिपूर्ण र बिना अवरोध सम्पन्न भएको छ । मात्रै दुई स्थानमा चुनाव रोकिनु भनेको सामान्य कुरा हो । किन भने त्यस्तो अपवादको घट्ना यस्तो विषम परिस्थितिमा हुनु कुनै पनि नौलो र असामान्य कुरा होईन ।

कूल ४ हजार ४६५ मतदान केन्द्रमध्ये रुकुम पश्चिमका दुई मतदान केन्द्रको मतदान स्थगित नभएको भए सबैस्थानमा एकै पट्क चुनाव सकिएको सन्देश जान्थयो र दोस्रो चरणको मतदानलाई थप सजिलो हुन्थ्यो नै । तर रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ११ स्थित राष्ट्रिय मावि गत्तसैना (ख) मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित हुनु मात्रैले यो मतदानको सफलतालाई ओझेल पार्न सक्दैन । 

मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने व्यवस्था मिलाइएकोले पनि आईतवारको मतदानका लागि करीब ११ दिनको प्रतिक्षा छ नै मतपरिणामका लागि । तर गणनामा विलम्व भए पनि सुरक्षित मतपेटीकाहरुमा कैद भएका ३२ जिल्लाका जनताको मत नै हो चुनाव सफल भएको र संविधान कार्यान्वयन सफलता उन्मुख भएको ऐतिहासिक परिघटना । 

चुनाव अघिका एम्वुस अवरोध, श्रृखलावद्ध बम विष्फोटनका घट्नाले पनि त्रसित र भयभित जनमनका पाईलाहरु मतदान सम्पन्न नगरुन्जेलसम्म कही कतै बिचलित भएनन् । जनताको स्वतःस्फुर्त चुनावी मोह आईतावारको मतदानमा प्रकट हुनु नै यो युगिन सफलताको सूचक हो । सफल पहिलो चरणको मतदानसंगै चुनावी सफलतामा एक नयाँ कोसेढुंगा थपिएको छ भने संविधान कार्यान्वयनको एक नयाँ अध्याय नयाँ उचाईमा पुगेको छ । 

उसै पनि मंसिर १० मा प्रदेश र प्रतिनिधि सभा तर्फ सम्पन्न चुनाव संविधान कार्यान्वयनको सफल खुटकिलो हो । निर्वाचन आयोग, सरकार वा सुरक्षा अंग र राजनीतिक दलहरुको पनि यो अग्नी परीक्षा नै  थियो । राज्यका सबै निकाय आआफ्ना् हिस्साको त्यो परीक्षामा उम्दा साबित हुन प्रयाशरत देखिनुको कुल परिणाम नै थियो सफल पहिलो चरणको मतदान । अब परिणामको प्रतिक्षामा सबै उम्मेद्धवार र दलहरुले बाँकी ध्यान दोस्रो चरणको मतदानमा केन्द्रीत गर्नेछन ।

सरकार प्रमुखका हिसाबले प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाले नै यो सफलतामा बाजी मारेका छन । किन भने प्रधानमन्त्रीका कुर्सीमा चौथो पट्क आसिन देउवामाथि उनमा यो चुनाव गराउने मनसायमा नै छैन्न भन्ने गंभिर आशंका र आरोप उनका विपक्षी मात्रै होईन, स्वयं सत्तासहयात्री र एकाथरी काँग्रेसीहरुभित्रै बाटै अधिक थियो । 
माओवादीको वाम गठबन्धनको साईड ईफेक्टका कारण सरकार माओवादी सम्बन्धमा थपिएको चिसोपनाले चुनाव प्रभावित हुने माओवादी आशंका पनि गलत साबित भैसकेको छ । 

राजा ज्ञानेन्द्रको सत्ताकालमा  चुनाव गराउन अक्षमको उपमा पाएको कालो बिगतलाई दोस्रो र तेस्रो चरणको स्थानीय चुनाव आफ्नै नेतृत्वमा सम्पन्न गराएका देउवाले प्रदेश र संसदको पहिलो चरणको चुनाव पनि सफल पारेर आफ्नो अक्षमको रेकर्ड मात्रै सुधारेन, संविधान कार्यान्वयनको सुनिश्चितता पनि ग्यारोन्टी गरे । किन भने मंसिर १० को सफल मतदान २१ मंसिरको मतदान पनि सफल हुने पूर्वसूचक नै हुन ।

देउवा नेतृत्वको सरकारको यो चुनावी सफलता आफैंमा अर्धबिराम लागेको अवस्थामा पक्कै छ । किनकी चुनावी दोस्रो प्रहर मंसिर २१ पनि चुनौति पूर्ण नै छ । यो देउवा सत्तायुगको नयाँ उपलव्धीले देउवालाई चुनावी सरकारका सफल प्रधानमन्त्री मात्रै बनाएन, २०६३ को परिवर्तनपछिको संक्रमणकालको विधिवत अन्त्य, संविधान कार्यान्वयनको अन्तिम कोर्समा पूर्णता र निर्वाचित कार्यपालिका र व्यवस्थापिकाको स्वरुपमा देशलाई पुरयाएको छ । 

संघीयता बाख्राको टाउकोमा भैंसीको सिंग भन्ने एमाले अध्यक्ष केपी ओलीहरु वा संघीयताले देश डुब्छ भन्ने चित्रबहादुर केसी र कमल थापाहरुको कथनीलाई संघीय प्रदेशको निर्वाचित नेतृत्वले नै परिपूर्ति गर्नु पनि संघीयताको सफलताको एक शुभ सुरुवात हो । 

अबका ११ दिनपछि दोस्रो चरणको चुनाव सम्पन्न गरेपछि संभवतः प्रधानमन्त्री देउवाले सत्ताबाट बिदाई नै लिनुपर्नेछ । भावी सरकार आफ्नै नेतृत्वमा बन्ने मतादेश आए पनि उनले एकपट्क त नयाँ सरकारका लागि कुर्सी खाली गर्नु नै छ । तर प्रधानमन्त्रीबाट हट्नुपूर्व उनले जनतालाई त्यो कुर्सीका खेलाडी छनौटमा सामेल गराएर चुनावी जितमा जनता, देश र व्यवस्थालाई जिताईदिए । को को हालान अनुहार र व्यक्तित्वमा त्यो फरक कुरा हुनेछ, तर जित्यो संघीयता, संविधान र गणतन्त्र जनताको मतसँगै । यही हो पहिलो चरणको चुनावी सफलताको स्मरणीय पक्ष ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै