दुवै हात नभएका आनन्द भन्छन् —चित्र बनाएरै जीवन धान्न सक्छु

खरीबोट

रत्नपार्कमा बसेर चित्र बनाइरहेका आनन्द । तस्बिर : खरीबोट

काठमाडौं । आनन्द पासवानको दुवै हात र एउटा खुट्टा पनि छैन । जन्मजात नै उनी शारीरिक रुपमा सक्षम थिएनन् । तर उनमा भएको आत्मविश्वास यति बलियो छ कि उनले आफू कहिल्यै अरु सबल व्यक्तिभन्दा केही कुरामा कमी नभएको अनुभव गरेका छन् । भन्छन्, ‘मैले कहिल्यै पनि निरीह भएको अनुभव गरेको छुइन, सबैले माया गर्नुभएको खुसी छु ।’

२०५२ सालमा भारतको समाटीपुरमा जन्मेका आनन्द दुई वर्षको उमेरदेखि नै काठमाडौंमा बस्दै आएका छन् । परिवारमा आमा, बाबु, दाइ, दिदीमध्ये आफू मात्र सक्षम नभएको बताउने आनन्दको जीवन आनन्द नै चलेको थियो । तर पनि सानै उमेरदेखि उनमा भएको प्रतिभाले उनलाई अझ माथि उठ्न सहयोग गरेको छ । उनी भन्छन्, ‘यदि म सबल भएको भए नराम्रो काम पनि गर्नसक्थे होला तर दुर्बल भएकाले नै राम्रो काम गर्दै आएको छु ।’

बाल्यकालदेखि नै बाटोमा सिन्काले कोर्दै चित्र बनाउनथालेका उनले पछि विस्तारै कलमले बनाउनथाले । विस्तारै आफूले चित्र बनाउँदै जाँदा सहज लागेपछि उनले आफू केही गर्न नसके पनि चित्र बनाएर आफ्नो जीवन धान्नसक्ने सोचाइमा पुगेको उनको भनाइ छ । भन्छन्, ‘अरु केही ठूलो काम गर्न नसके पनि आफ्नो ज्यान पाल्न कुनै समस्या छैन ।‘ सिन्काबाट सुरु भएको उनको चित्रकारिता अहिले नेपालभर नै चर्चित बनेको छ । त्यसमा नै आनन्द आनन्दित छन् । 

नेपालमै १९ वर्ष बिताइसकेका पासवान शारीरिक रुपमा कमजोर भए पनि मान्छेको सबैभन्दा ठूलो शक्ति हिम्मत रहेको बताउँछन् । जुन शक्तिले जतिसुकै कमजोर अवस्थामा रहेका मान्छेलाई पनि माथि उठ्न सजिलो हुने उनको विश्वास छ । जुन विश्वास र शक्तिको कारण नै आफू यहाँसम्म आइपुगेको उनी बताउँछन् । उनी दैनिक धेरै चित्र बनाउँछन तर आज कुन चित्र बनाउने भनी पहिले नै कहिल्यै सोच्दैनन् । ‘बनाउँदा बनाउँदै जे मन लाग्छ, त्यही बनाउँछु ।‘ प्रायः आफूले बनाएका चित्रहरु सबैले मन पराएको उनको विश्वास छ ।

सुन्धारामा एकै ठाउँमा १९ वर्ष चित्र बनाएर बसेका उनी दुई वर्ष यता रत्नपार्कमा बसेर चित्र बनाउँछन् । हरेक दिन बिहान ११ बजेबाट रत्नपार्कमा आएर साँझसम्म चित्र बनाइरहन्छन् । उनले बनाएका चित्र हेर्न रत्नपार्कमा लागेको त्यो भीड हेर्दा उनी आफँै दङ्ग छन् । भन्छन्, ‘दैनिक धेरै मान्छेको भीड मेरो चित्र बनाएको हेर्दा लाग्छ राम्रै काम गरीरहेको छु ।’  धेरै सबल मान्छेले आफूले केही गर्न नसक्ने भनेको सुन्दा उनलाई भने झन् हौसला मिल्ने गरेको उनी बताउँछन् । चित्र बनाउन मात्र नभएर आफ्ना हरेक कामहरु आफँै गर्ने आनन्द चित्र मात्र नभएर राम्रो गीत गाउने, डान्स गर्ने, मुर्ति बनाउनेलगायतका काम गर्ने क्षमता समेत रहेको छ ।

आफूमा धेरै क्षमता भए पनि अगाडि बढ्नको लागि सहयोगी हातहरुको कमी तथा सडकबाट माथि उठाउने मान्छेको अभाव भएको आनन्दको भनाइ छ । भन्छन्, ‘सहयागी हातहरु धेरै भए पनि सडकबाट माथि उठ्नको लागि सहयोगी पाएको छुइन ।’  
 
समस्या धेरै छ 
लामो समयदेखि चित्र बनाउँदै आएका आनन्दको जीवनमा धेरै दुःख छ । बाबुको सहारामा बस्दै आएका उनी बाबुको पनि मृत्यु भइसकेपछि भने उनको जीवनमा दुःख अझ थपिएको छ । उनकी आमालाई जब मिर्गौलामा पत्थरी भई मिर्गौला बिग्रिन पुग्यो । त्यसपछि भने उनको जीवनमा दुःख सुरु भएको छ । दाइ बेग्लै बसेर घरमा सहयोग नगर्ने भएपछि आमाको औषधि, उपचार गर्ने जिम्मेवारी समेत उनमा थपिएको छ । 

आमाको औषधि, उपचारको लागि पनि आफैँले संघर्ष गर्नुपरेकाले उनलाई धेरै समस्या भएको छ । आफूले बनाएको चित्र बेचेर दैनिक जीवन तथा आमाको औषधि समेतको खर्च जुटाउन उनलाई ठूलो समस्या परेको छ । त्यसको लागि उनले हालसम्म कसैको पनि सहयोग पाएको छैनन् । उनले दैनिक जेजति पैसा संकलन गरेका छन्, आफ्नै क्षमताको प्रयोगले नै सहयोग संकलन गरिरहेका छन् । 

नागरिकतामा समस्या
लामो समयदेखि नेपालमा बस्तै आएका आनन्दले अहिलेसम्म नागरिकता पाएका छैनन् । नेपाली नागरिकता लिन खोज्दा भारतीय नागरिक र भारतीय नागरिकता लिन खोज्दा लामो समयदेखि नेपालमै बस्दै आएकाले भारतीय नागरिकता नपाउने भन्दै दुवै देशमा आरोप/प्रत्यारोप लगाउनाले उनले अहिलेसम्म नागरिकता पाउनसकेका छैनन् । भन्छन्, ‘नागरिकता बनाउनसके थोरै भए पनि सहयोग हुन्थ्यो कि भन्ने आशा छ ।’ 

उनी आमा र आफ्नो स्वास्थ्य सुधारको लागि संघर्ष गर्दै आइरहेका छन् । सकेसम्म नेपाली नागरिकता नै लिन चाहने उनले नागरिकता दिलाइदिन सहयोग समेत मागे ।  

हातविनै कोरिएका चित्रबाट हजारौँ आम्दानी 

दुवै कुइनाभन्दा तल नभएका आनन्दले अहिलेसम्म चार प्रदर्शनीमा भाग लिएको ३० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । मिहिनेत गरे फल पाउनेमा उनी विश्वस्त छन् । आफूले आर्ट बनाउन पहिलादेखि नै थालेकाले जेसुकैको पनि आर्ट गर्ने आनन्द आफूले उचित प्रकारको सहयोग नपाएर वाटरप्रुफ आर्ट गर्न क्षमता भएर पनि गर्न नसकेकोमा उनी चिन्तित छन् ।

वाटर आर्टसम्म पुग्नको लागि सहयोगी हातहरु भए आफ्ना चित्र २४० बाट माथिमा बेच्नसक्ने उनको विश्वास छ । जुन मेरो आफ्नो मात्र नभएर समग्र नेपालकै इज्जतको विषय हुने उनको भनाइ छ । 

सम्बन्धित समाचार