• २०८१ बैशाख १३ बिहीबार

चितवनका राजमार्ग आसपास अत्याधुनिक क्यामरा जडान

kharibot

चितवनको टिकौली जंगलस्थित जैविक मार्ग (करिडोर) क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन शुरु गरिएको छ । यहाँका विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामरा जडान गरी अनुगमन शुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

उनका अनुसार राजमार्गको वरिपरि वन्यजन्तु तलमाथि गर्दा कस्तो असर परिरहेको छ भनेर अध्ययन गर्न क्यामरा ट्रापिङ–विधिको प्रयोग गरिएको बताए । भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा टिकौली जंगलको जैविक मार्ग पर्छ । “पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था, मानवीय र सवारी चापका कारण परेको असरबारे यहाँ अध्ययन हुन्छ” डा पोखरेलले भने ।

सो क्षेत्रमा १६ वटा स्थानमा ३२ वटा अत्याधुनिक क्यामरा राखेर अनुगमन थालिएको कोषका संरक्षण अधिकृत सन्ताष भट्टराईले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भए पनि सडकलाई नै केन्द्रित गरेर क्यामरा ट्र्यापिङबाट अनुगमन भएको यो पहिलो हो भने । यसले यहाँको वास्तविक अवस्थाको चित्रण गर्ने र पछि संरक्षणका योजना बनाउन सहयोग मिल्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जैविक मार्ग हुँदै चितवन निकुञ्जका दुर्लभ र संरक्षित वन्यजन्तु बाघ, हात्ती, गैँडा, भालु, चित्तल चुरे पर्वत र महाभारत पर्वत क्षेत्रका वनमा आवतजावत गर्ने करिडोर टिकौली जंगल हो । यसरी आवतजावतका क्रममा सवारीको ठक्करबाट वर्षेनी वन्यजन्तु मर्ने गरेका छन् ।

सो क्षेत्रमा हिँड्ने वन्यजन्तुको सुरक्षामा चुनौती थपिएपछि अहिले अस्थायी सुरक्षा चौकी स्थापना गरेर गाडी रोक्नसमेत निषेध गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै