चर्चित निर्वाचन क्षेत्र : पुर्वडिआइजी र अर्थ राज्यमन्त्रीबीच रोचक प्रतिष्पर्धा 

खरीबोट

ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार र कार्यकर्ता प्रचारप्रसारमा व्यस्त बनेका छन् । 

निर्वाचनको मिति दुई सातामात्रै बाँकी हुँदा प्रमुख दलका नेता घरदैलो कार्यक्रममार्फत जनताका आँगनमै पुगेर भोट मागिरहेका छन् । भूगोलका हिसाबले ग्रामीण क्षेत्र बढी पर्ने यस क्षेत्रमा उम्मेदवार घण्टौँ हिँडेर पनि मतदाताका घरघरमा पुगिरहेका छन् । मतदाता बढी भएकाले गाउँपालिकाभन्दा नगरपालिकाको भोट निर्णायक मानिन्छ । 

त्यसैले पनि उम्मेदवार दक्षिणी क्षेत्र र नगर क्षेत्र दुवैमा पालोपालो गरेर चुनावी कार्यक्रममा लागेका छन् । विशेष गरेर यातायात, पानी, मल, बीउलगायतका समस्या मतदाताले उम्मेदवारसँग राखेका छन् । उम्मेदवारले यी समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । 

यो क्षेत्रमा नेपाली काँग्रेसबाट अर्थराज्यमन्त्री उदयशमशेर राणा उम्मेदवार बनेका छन् । यसअघि उनी  यसै क्षेत्रबाट संविधानसभा सदस्यमा विजयी भएका थिए । युवा नेता राणा तरुण दलका पूर्व सभापति समेत हुन् । उनको चर्चा यस क्षेत्रमा मात्रै नभएर सबैतिर छ । नेकपा (एमाले)बाट उम्मेदवार बनेका पूर्वडिआइजी नवराज सिलवाल भर्खरै नेपाल प्रहरीबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् । वाम गठबन्धनका कारण उनी पनि सशक्त उम्मेदवारका रुपमा देखिएको छ । 

प्रदेशसभा सदस्यतर्फ (क) मा नेपाली काँग्रेसबाट ऋषिराम घिमिरे र (ख) मा मीनकृष्ण महर्जन उम्मेदवार छन् । वाम गठबन्धनबाट (क) मा माओवादी केन्द्रकी लालकुमारी पुन र (ख) मा चेतनाथ सञ्जेल उम्मेदवार बनेका छन् । विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभामा केशव तिमल्सिना उम्मेदवार बनेका छन् । 

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका राणाले आफूले यस क्षेत्रमा चार वर्षमा गरेको विकास आफ्नो जित्ने आधार भएको बताए । उनी भन्छन्, “मैले यस क्षेत्रमा यो चार वर्षमा काम गरेको देखेर नै उहाँहरुले माग गर्नुभएको हो, काम गर्नेसँग जनताको आशा हुनु स्वभाविक हो ।” अघिल्लो निर्वाचनको घोषणापत्रमा उल्लेख गरे बमोजिम त्यसको ९० प्रतिशत काम गरेको उनको दाबी छ । 

यो चार वर्षमा सडक, सार्वजनिक भवन, पुललगायतका पूर्वाधार निर्माण गरेको नेता राणा बताउछन् । पूर्वाधार विकास र आर्थिक समृद्धि मेरो चुनावी एजेण्डा हो, उनी भन्छन्— मतदाताले सडक, खानेपानीलगायतका माग गरिरहेका छन् । आफ्नो प्रतिस्पर्धा वाम गठबन्धनसँग हुने भए पनि ठूलो मत अन्तरले आफू विजयी हुने उनको विश्वास छ । 

एमालेबाट उम्मेदवार बन्नुभएका सिलवाल जनताले आफूप्रति आशा र भरोसा गरेर विजयी गराउने बताउछन्  । राज्यले उपेक्षा गरेको यस क्षेत्रलाई राज्यसँग जोड्ने योजना लिएर जनताका घरआँगनमा पुगिरहेको छु, उनले भने— “यस क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा, भूकम्पपीडितलाई आवासको समस्या छन् । कृषि र पर्यटनमार्फत यस क्षेत्रको विकास सम्भव छ ।” 

उम्मेदवार सिलवालले भने, “कृषिमा प्रविधि जोडेर आधुनिकीकरण गर्ने र पर्यटकीय क्षेत्रको विकास गर्दा मात्रै आर्थिक समृद्धि सम्भव छ ।” आफूले मतदातालाई ठूलो आश्वासन नदिए पनि विजयी भएपछि फर्किएर आउने र योजना पूरा गर्ने उनी बताउछन । उनी पनि आफू ठूलो मत अन्तरले विजयी विश्वास व्यक्त गर्छन् । 

वाग्मती, कोञ्जेसोम र महाँकाल गरेर तीन वटा गाउँपालिका र गोदावरी नगरपालिकाको १२ वटा वडा यस क्षेत्रमा पर्छ । स्थानीय निकायको निर्वाचनमा तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमध्ये नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र एक-एकमा विजयी भएको थियो । गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । 

यस क्षेत्रमा विसं २०४८, विसं २०५१ र विसं २०५६ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी विजयी भयो । संविधानसभा २ मा नेपाली काँग्रेसका उम्मेदवार राणा विजयी भएका थिए । 

भूगोलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो भए पनि मतदाताका हिसाबले यो क्षेत्र जिल्लाको सानो क्षेत्रमा पर्छ । यस क्षेत्रमा ५३ वटा मतदानस्थलमा जम्मा ८७ वटा मतदान केन्द्र छन् । यो क्षेत्रमा कुल मतदाता संख्या ६५ हजार ९१८ रहेको छ । 

प्रतिनिधिसभा सदस्यका लागि १२ वटा राजनीतिक दल र नौ जना स्वतन्त्र गरी कुल २१ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा क मा छ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र गरी आठ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभा (ख) मा आठ राजनीतिक दल र चार स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
 

सम्बन्धित समाचार

चर्चित निर्वाचन क्षेत्र : काठमाडौँ-२ मा पूर्वप्रधानमन्त्री नेपाललाई टक्कर दिदै कांग्रेसका कुइँकेल 

काठमाडौँ । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मत माग्ने निकै चटारो छ ।  वाम गठबन्धनका उम्मेदवार

धनुषाको चुनावी भिडन्त : धेरैजसो केन्द्रीय नेताहरुको भविष्य दाउमा

महेन्द्रनगर, धनुषा) । मंसिर २१ गतेको चुनाव आउन चार दिन बाँकी रहँदा धनुषाका उम्मेदवार मत माग्न सहर केन्द्रित हुन थालेका छन् । एक चरण गाउँस्तरीय चुनावीसभा र अर्को चरणमा घरदैलो

चर्चित निर्वाचन क्षेत्र : जीतको खोजीमा पूर्वराजदूत उपाध्याय र पूर्वकमाण्डर खनाल    

कपिलवस्तु । कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहेका चक्रपाणि खनाल र पूर्वराजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।  उपाध्याय भारतका लागि नेपालका राजदूत पदबाट राजीनामा दिएर चुनाव

चर्चित निर्वाचन क्षेत्र : महोत्तरीमा कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाइँ

गौशाला । महोत्तरी क्षेत्र नं २ मा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।  काँग्रेसबाट किरण यादव र राष्ट्रिय जनता पार्टी नेपालबाट सो पार्टीका अध्यक्ष मण्डलका