• २०८१ बैशाख ७ शुक्रबार

चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला

kharibot

रत्ननगर । पूर्वी चितवनको पदमपुरस्थित थाङ्खोला सामुदायिक वन क्षेत्रका महिला लोपोन्मुख पेशा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै आएका छन् । 

उक्त वनका उपोभोक्ताले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्शीय सहकारी संस्थाले जिल्ला वन कार्यालयको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने तालिम प्रदान गरेको हो । 

पेशा नहराओस् भनेर यसरी महिलालाई तालीम प्रदान गरिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए । वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सामुदायिक वनको हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सञ्चालन गरेको छ । 

हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा यहाँका ६५ महिलालाई हालै तालिम प्रदान गरिएको भट्टराईले बताए । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले महिलाद्वारा सञ्चालित यस सहकारीलाई आवश्यकपर्ने सबै खालको सहयोग गर्न नगरपालिका तयार रहेको बताए । 

जिल्ला वन अधिकृत केदार पौडेलले वरण्डाभार जैविक मार्गको संरक्षणका लागि तालीम महत्वपूर्ण हुने भन्दै यसमा आश्रित समुदायको आर्थिक विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । लाभान्वित समुदायले यस क्षेत्रको संरक्षण, चोरी शिकारी नियन्त्रण र जथाभावी चरिचरण नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताए । 

राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले समुदायलाई लक्षित गरी यस्ता कार्यक्रम संरक्षण गरी आयआर्जनमा टेवा पुर्याउने भन्दै २२० महिलालाई यसअघि तालिम प्रदान गरिएको थियो । 

सो क्षेत्रमा सीप सिकेर धेरै महिलाले फुर्सदको समयमा चर्खाबाट मनग्य आम्दानी गर्दै आएका छन् । हराउँदै गएको यस पेशा चितवनको पूर्वीक्षेत्र पदमपुरमा भने कायमै छ । पछिलो समयमा यहाँका महिलाले गलैँचा समेत बुन्न शुरु गरेका छन् । सामान्यतः एउटा गलैंँला बुनेको उनीहरुले रु सात हजार ज्याला पाउँछन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै