अमेरिका रुस, इरान र उत्तर कोरियालाई नयाँ प्रतिबन्ध लगाउने तर्फ अगाडी बढेको छ ।
मंगलबार अमेरिकाको संसद हाउस अफ रेप्रिजेनटेटिभमा भएको मतदानमा रुस, इरान र उत्तर कोरियालाई नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव बहुमतले पारित भएको छ । मतदानमा ४१९ सदस्यले यसको पक्षमा मतदान गरेका छन् भने तीन सदस्यले मात्र यसको विरोध गरेका छन् ।
अमेरिकाको यो कदमले अमेरिका र रुसको सम्बन्ध झन् जटिल बन्ने विदेश मामिलाका जानकारहरुले बताएका छन् । अब यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जानु अघि सिनेटले पास गर्नुपर्ने हुन्छ । यदि यो विधेयक सिनेटबाट पनि पास भएमा रुसप्रति नरम नजरले हेर्न ट्रम्प अप्ठ्यारोमा पर्नसक्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपतिसँग विधेयक लागु नगर्न भिटो प्रयोग गर्ने विकल्प भएपनि यदि उनले यसो गरेमा रुस प्रतिको उनको नरम नीति प्रमाणित हुने हुनाले ट्रम्प अप्ठ्यारोमा पर्न सक्ने बताइएको छ ।
अमेरिकाले इरान र उत्तर कोरियालाई उनीहरुको परमाणु र ब्यलेष्टिक मिसाइल कार्यक्रम रोक्नको लागि प्रतिबन्ध लगाउन चाहन्छ भने रुसका केहि कम्पनि र नागरिकलाई यसअघि नै ओबामाले प्रतिबन्ध लगाइसकेका छन् ।