• २०८१ बैशाख ८ शनिबार

कावेली करिडोर निर्माण अन्योलमा

kharibot

इलाम । मेची अञ्चलकै बहुप्रतिक्षित कावेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो चरणको निर्माण स्थानीय बासिन्दाको अवरोधका कारण ओझेलमा परेको छ । 

सिद्धिथुम्कावासीले आफ्नो जग्गामा परेर गएको प्रसारण लाइन आयोजना निर्माण गर्न नदिने अडान लिएपछि सा आयोजनाको निर्माण अनिश्चित भएको हो । 

निर्माण ढिलाइ भएका कारण पटक–पटक म्याद थप भए पनि आयोजना स्थानीय बासिन्दाको अवरोधले पर धकेलिने भएको हो । काबेली कोरिडोर आयोजना निर्माणमा ढिलाइसँगै इलाम, पाँचथर, ताप्लेजुङमा उत्पादित विद्युत् त्यसै खेर गइरहेको छ । 

ताप्लेजुङको शिवानी हाइड्रोबाट उत्पादित पाँच मेगावाट विद्युत् र पाँचथरको हेवाखोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको छैन । इलाम गोदकसम्म निर्माण सम्पन्न भएको कावेली कोरिडोर आयोजनामार्पmत इलाममा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । 

‘स्थानीयवासीको अवरोधले प्रसारण लाइन बन्न नसकेपछि विद्युत् खेर गइरहेको छ, यस विषयमा हामीले केन्द्रमा जानकारी गराइसकेका छौँ,’ आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । 

निर्माणमा ढिलाइ भएपछि आयोजनाको म्याद आगामी २०७५ साल वैशाख १० गतेसम्म पुनः थप गरिएको छ । यस अगाडि पनि निर्माण ढिलाइ हुँदा पटक–पटक आयोजनाको म्याद थप हुँदै आएको थियो । 

आयोजनाको दोस्रो चरणअन्तर्गत इलामको सोयाकदेखि पाँचथर अमरपुर खण्डमा अब ३० वटा टावर निर्माण हुन बाँकी छ । सातवटा टावर निर्माण भइरहेको, एउटा टावर चमैतामा विवादका कारण बन्न नसकेको र सिद्धिथुम्कामा ११ वटा टावर बन्न बाँकी रहेको उनले बताए । 

सिद्धिथुम्कामा आयोजनाले एकतर्फी रूपमा सर्भे गरी प्रसारण लाइन निर्माण गरेपछि आफूहरूले निर्माणमा अवरोध गरेको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरूले अब उक्त प्रसारण लाइन पहिले सर्भे गरिएको स्थान सिद्धिथुम्का– ८ बाट नै लैजानुपर्ने बताउँदै आएका छन् । आफ्नो जग्गा माथिबाट जबर्जस्ती लाइन जोड्न थालेकाले विरोध गरेको स्थानीयवासी भीम गजमेरले बताए । 

विवाद समाधान नभएपछि सिद्धिथुम्कामा कावेली आयोजना निर्माण ठप्प छ । स्थानीयवासीले चलनचल्तीको मुआब्जा नपाएको भन्दै विरोध गरिरहेका छन् । सङ्घर्ष समितिका अध्यक्ष अगमसिंह मगरले आयोजनाले स्थानीयवासीलाई पटक–पटक झुक्याएर उचित क्षतिपूर्ति नदिएकाले सङ्घर्षमा उत्रनु परेको गुनासो गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै