• २०८१ बैशाख ७ शुक्रबार

नारायणगढ–मुग्लिन सडकमा सवारी रोक्दै भित्तो काट्ने काम प्रभावकारी भएन

kharibot

फाइल तस्बिर

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी हुन सकेको छैन । निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा चारपटक सवारी रोकेर भित्तो काट्न भनेको भए पनि यसरी काम गर्दा प्रभावकारी हुन नसकेको हो । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल कालोपत्र गर्ने ठाउँमा पनि एकतर्फी सवारी रोकेर काम गर्नुपर्ने भएकाले भित्तो काट्न लागिएको तीन ठाउँमा सवारी रोक्दा व्यावहारिक नदेखिएको बताउछन् । 

उनका अनुसार सवारी रोकेर काम थालेलगत्तै एम्बुलेन्स आउने, सुरक्षा निकायका सवारी आउने, अन्य अत्यावश्यक सवारी आउने भएकाले ती सवारीलाई आडैमा रोकिराखेर काम गर्न सम्भव हुन नसकेको हो । ती अत्यावश्यक सवारीलाई बाटो खोल्दा अरु सवारी पनि सँगसँगै जबर्जस्ती जाने गरेका छन् । एक घण्टा सवारी रोक्दा आधा घण्टा भित्तो काट्ने र आधा घण्टा बाटो सफा गर्नुपर्ने भएकाले पनि काम प्रभावकारी हुन नसकेको खनालले बताए । 

सोही सडकका तीनवटै खण्डमा कालोपत्र भइरहेको छ । सडकको आधा भागमा कालोपत्र गर्दा अर्काे आधा भागमा एकतर्फी सवारी सञ्चालन गरिँदै आएको छ । पालैपालो ती सवारी आवतजावत गर्दै आएका छन् । हालसम्म उक्त सडकखण्डको ११ किमी क्षेत्रमा कालोपत्र गरिएको छ । पहिलो तह सकिएर ती क्षेत्रमा दोस्रो तहको पनि पाँच किमी भाग कालोपत्र गरिएको छ । 

गत सोमबारबाट सवारी रोक्दै भित्तो काट्दै गरिँदै आएको छ । जसअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ देखि १२ बजेसम्म, दिउँसो १ देखि २ बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम भइरहेको छ । यसअघि गत हिउँदको समयमा दिनभर सवारी रोकेर भित्तो काट्ने काम भएको थियो । 

सडकको नारायणगढबाट १६ किमी ३०० मिटर, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी ३०० मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । 

हालसम्म ६० प्रतिशतमात्रै काम भएको छ । आयोजनाका इञ्जिनियर खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्र गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मिटर हाराहारीका दरले कालोपत्र गर्न सकिएको उनले बताए । 

नारायणगढ–मुग्लिन सडकखण्डको ३४ किमी खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किमीसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्र गरिने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै