• २०८१ बैशाख ६ बिहीबार

काठमाडौं महानगरले सयवटा 'स्मार्ट सार्वजनिक शौचालय' बनाउने

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले आधुनिक शौचालय निर्माणको डिजाइन गरिरहेको छ । आधुनिक शौचालय र त्यसबाट बायोग्यास निकाल्ने नीति पास भइसकेको भन्दै महानगरपालिकाले आधुनिक शौचालयको डिजाइन थालेको हो ।  

खरीबोटसँग कुरा गर्दै महानगरका सहप्रवक्ता नमराज ढकालले भने, “हामी अहिले आधुनिक शौँचालय निर्माणको डिजाइनमा छौँ, यो महिनाभर डिजाइन गर्छौँ र अर्को महिनाबाट काम सुरु हुन्छ ।’ काठमाडौँ महानगरमा सार्वजनिक शौचालय एकदमै कम भएकाले जनतालाई ठूलो समस्या परेको भन्दै महानगरले आधुनिक शौचालय निर्माण गर्ने जानकारी दिएको छ । उक्त शौचालयबाट बायोग्यास समेत निकाल्ने महानगरले बताएको छ ।

महानगरले अहिले रत्नपार्कमा मात्र नभएर काठमाडौँ महानगरपालिकाभित्र नै एक सयवटा आधुनिक शौचालय निर्माण गर्न लागेको ढकालले जानकारी दिए । उनका अनुसार महानगरले न्युरोड, दरबार मार्ग, बानेश्वरजस्ता ठाउँमा इ–ट्वाइलेट, आधुनिक ट्वाइलेट कस्तो बनाउने भनेर आवश्यक डिजाइन तयार गरिरहेको छ ।

शौचालय निर्माणमा निजी क्षेत्रसँग सहकार्य गरिने समेत महानगरको भनाइ छ । जसअनुसार महानगरले बनाउने शौचालयहरु महिला तथा अपाङ्गमैत्री हुनेछ भने शौचालयबाट निस्किने फोहोरलाई व्यवस्थापन गर्न त्यसबाट बायोग्यासको निर्माण गरिनेछ ।

बायोग्यासलाई बत्ती बाल्न तथा खाना पकाउन प्रयोग गर्न सकिने ढकालले जानकारी दिए । बायोग्यासबाट निस्किने लेदो समेत मलको रुपमा फूल तथा बोटबिरुवामा प्रयोग गरिने महानगरको तयारी छ । क्लिन द सिटी अभियानसँगै महानगर सफा र सुन्दर राख्ने लक्ष्य राखिएको छ ।

काठमाण्डौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले गत आइतबार विश्व शौचालय दिवसको अवसरमा बायोग्याससहितको शौचालय निर्माणको शिलान्यास समेत गरिसकेका छन् । त्यो कामको प्रभाव हेरेर अरु काम अघि बढाउने  तयारी महानगरले गरेको छ ।

बायोग्यास तथा शौचालय निर्माणको शिलान्यास गरिएको शौचालय निर्माणको लागि गुठी तथा अन्य संस्थाको सहयोगमा २४ लाख रुपैयाँ संकलन गर्ने काम समेत महानगरले सुरु गरिसकेको छ ।

यदि महानगरको लक्ष्यअनुसार काम भए एक सय शौचालय बनेपछि दुई सय जनाले रोजगारी समेत पाउनेछन् । महानगरले सार्वजनिक शौचालय भने पनि पैसा हुनेसँग पैसा लिने र पैसा नहुनेले निःशुल्क शौचालय प्रयोग गर्नेसक्ने बताएको छ ।

सुन्दर सहर निर्माण गर्न शौचालय नै प्रमुख भएको बताउँदै ढकालले शौचालय निर्माणमा महानगरले ध्यान दिएको बताए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै