• २०८१ बैशाख ८ शनिबार

अमेरिकाद्वारा उत्तर कोरियालाई पुनः 'आतंकवाद प्रायोजन गर्ने राष्ट्र' घोषणा

kharibot

उत्तर अमेरिका । संयुक्त राज्य अमेरिकाले १० वर्षपछि पुनः उत्तर कोरियालाई आतंकवादको प्रायोजन गर्ने राष्ट्र घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उत्तर कोरियामाथि स्टेट स्पोन्सर अफ टेररिजम (आतंकवाद प्रायोजक राष्ट्र)को सूचीमा राखेको घोषणा गरेका हुन् ।

ह्वाइटहाउसस्थित मन्त्रिपरिषद् बैठकमा यस्तो गम्भीर कदम उठाइएको हो । त्यस्तै अमेरिकी वित्त विभागले मंगलबार नै उत्तर कोरियाविरुद्ध थप कडा प्रतिबन्धहरु समेत लगाउने भएको छ । योसँगै दुई कोरियाबीच जारी तनावले ग्रस्त कोरियन पेनिन्सुला अब पुनः अशान्त हुने देखिएको छ । सन् २००८ मा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले उक्त सूचीबाट उत्तर कोरियालाई हटाए पनि ट्रम्प पुनः आणविक शक्तिसम्पन्न राष्ट्र बन्ने दौडमा एकपछि अर्को आणविक हतियार परीक्षण गरिरहेको उत्तर कोरियाविरुद्ध आक्रामक भएका हुन् ।

जापानद्वारा स्वागत
यसैबीच उत्तर कोरियाको रकेटमुनि भय र त्रासमा बाँच्न विवश राष्ट्र जापानले अमेरिकी कदमको स्वागत गरेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले उक्त घोषणाको स्वागत गरेका हुन् । यो घोषणापछि उत्तरमाथि थप दबाब बढ्नेछ । यही बीचमा उत्तर कोरियाले आक्रामक रुपमा आणविक परीक्षणको तयारी गरिरहेको शंकास्पद स्याटेलाइट तस्बिरहरु सार्वजनिक भइरहँदा अमेरिका थप आक्रोशित भएको हो ।

हाम्रो भन्नु केही छैन : संयुक्त राष्ट्रसंघ
यसैबीच, अमेरिकाको उक्त घोषणालाई संयुक्त राष्ट्रसंघले भने यसबारे केही भन्न चाहेको छैन । राष्ट्रसंघका सहप्रवक्ता फरहान हाकले हाम्रो लिष्ट नभएको प्रतिक्रिया दिएका हुन् । दुई साता लामो पूर्वी एसियाको भ्रमणपश्चात् ट्रम्पले उत्तर कोरियाविरुद्ध उक्त कदम चालेका हुन् ।

अरु पनि छन् यो सूचीमा
अमेरिकाले आतंकवाद प्रायोजक राष्ट्रको सूचीमा उत्तर कोरियामात्र नभएर यसअघि नै इरान, सुडान र सिरिया यो सूचीमा समावेश छन् । यो सूचीमा क्युबा पनि समावेश थियो तर सन् २०१५ मा हटाइएको थियो । त्यस्तै इराकलाई सन् २००४ मा र लिबियालाई सन् २००६ मा यो सूचीबाट हटाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै