• २०८१ बैशाख ८ शनिबार

चर्चित निर्वाचन क्षेत्र : कञ्चनपुरमा लेखक, साउद र विनाको चर्चा 

kharibot

भीमदत्तनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा लोकतान्त्रिक र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउद, निर्वाचन क्षेत्र नं ३ बाट काँग्रेसका नेता एंव पूर्वमन्त्री रमेश लेखक तथा निर्वाचन क्षेत्र नं. १ मा वाम गठबन्धनबाट पूर्वप्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी नेत्री बिना मगरका उम्मेदवारीका कारण कञ्चनपुरको निर्वाचन प्रदेश नं ७ मै सबैभन्दा बढी चर्चामा छ । 

पूर्वमन्त्री साउदलाई निर्वाचन आफ्नो पक्षमा पार्नु प्रतिष्ठाको विषय बनेको छ । यसअघि साउद विसं २०७० को निर्वाचनमा कञ्चनपुर–२ बाटै निर्वाचित भएका थिए । उनीसंग वाम गठबन्धनबाट एमालेका उम्मेदवार नरबहादुर धामी प्रतिस्पर्धामा रहेका छन् । अघिल्लो निर्वाचनमा धामी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा नेपाली काँग्रेसका बहादुरसिंह थापासित पराजित भएका थिए । 

पार्टीको टिकट वितरण गर्ने समितिमा रहेकाले पनि नेता साउदले आफ्नो क्षेत्रमा समावेशीरुपमा टिकट वितरण गरेकाले उनको जित सहज हुने काँग्रेसी नेता, कार्यकार्ताको बुझाइ छ । उक्त क्षेत्रमा करिब २६ प्रतिशतभन्दा बढी जनजाती राना थारु र चौधरी थारुको बसोबास छ । राना थारु र चौधरी समुदायबाट पनि कञ्चनपुरमा काँग्रेसले उम्मेदवार बनाएकाले मत आउनेमा काँग्रेस नेता बढी आशावादी छन् । नेता साउदले सासंद÷मन्त्री हुँदा उक्त क्षेत्रमा ल्याएका विकास निर्माणका कामले पनि निर्वाचन नेता साउदको पक्षमा हुने नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहराको दाबी छ । 

“निर्वाचन क्षेत्रमा जाँदा सबैतिर कार्यकर्तामा उत्साह देखिएको छ”– सभापति बोहराले भने, “पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन भएकाले पनि माहोल सकरात्मक बन्दैछ ।” 

यता एमाले नेता धामी दुई मुख्य पार्टीको तालमेल र पार्टीको संगठनसमेत राम्रो भएकाले निर्वाचन जित्ने दाबी गर्दै हिँडेका छन् । 
उक्त क्षेत्रमा स्थानीय तहको निर्वाचनमा दुई काँग्रेस र एक एमालेका नगरप्रमुख छन् । त्यहाँको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा काँग्रेस र बेदकोट नगरपालिकामा एमालेको पकड रहेको देखिएको छ । 

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा काँग्रेस उम्मेदवार लेखक र वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार डा दीपकप्रकाश साउदबीच मुख्य प्रतिस्पर्धा रहेको छ । 

तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काँग्रेसलाई सघाएको छ । काँग्रेसको पोल्टामा जित दिलाउनका लागि जिल्लाभर चुनावी अभियान संयुक्तरुपमा सञ्चालन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ । 

गत संविधानसभा–२०७० को निर्वाचनमा भारी मतले विजयी भएका लेखकको क्षेत्र काँग्रेसका लागि कञ्चनपुरकै सबैभन्दा सुरक्षित क्षेत्रका रुपमा हेरिएको छ । दोधारा–चाँदनीलाई सडकमार्गबाट जोड्न महाकालीमा चार लेनको पुल निर्माणका लागि पहल तथा यहाँको सडक, खानेपानीलगायतका पूर्वाधारमा मन्त्री छँदा धेरै बजेट विनियोजन गराउन सघाउन पु¥याएको लेखकलाई श्रेय दिनेको कमी पनि यहाँ छैन् । 

नेता लेखक कञ्चनपुरलाई आवागमन तथा व्यापारको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने एजेण्डासहित आफू निर्वाचनमा होमिएको बताउछन् । “नेपाल–भारत र चीनको त्रिदेशीय नाका, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह र महाकाली करिडोर निर्माण अबका मेरा मुख्य काम हुन् ।” उनले भने, “त्यसमा आवश्यक महाकाली पुल निर्माण शुरु भइसकेको छ ।” उनले कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्नसके रोजगारीका सम्भावना बढेर जाने विश्वास व्यक्त गरे । 
वाम गठबन्धनका उम्मेदवार डा दीपकप्रकाश भट्टले काँग्रेसले विकासका नाउँमा प्रचारबाजी मात्रै गरेको बताउनुहुन्छ । उहाँले आफूले निर्वाचन जिते समृद्धि र विकासका लागि ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 
एमालेबाट निर्वाचन क्षेत्र नं ३ मा हीरासिंह विष्टले दिएको वागी उम्मेदवारीले भने गठबन्धनमा तरंग ल्याएको छ । विज्ञप्तिमार्फ उम्मेदवारी फिर्ता लिएको बताइए पनि जिल्लामा हुने गरेका चुनावी बैठकमा उक्त विषयमा अझै नेताबीच विवाद हुने गरेको छ । 

क्षेत्र नं १ मा वाम गठबन्धनकी उम्मेदवार विना मगर काँग्रेस उम्मेदवार दिवानसिंह विष्ट भन्दा बढी चर्चामा छन् । काँग्रेसभन्दा प्रचारप्रसारलाई भड्किलो बनाएकी उम्मेदवार विनालाई पति प्रकाश दाहालको निधनको वियोगले एक्कासी च्यापेको छ । विसं २०७० को संविधानसभा निर्वाचनमा काँग्रेसका विष्टले विनालाई थोरै मतले हराउँदै विजयी भएका थिए । निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनपछि काँग्रेसमा आन्तरिक असन्तुष्टि देखिनु र वाम घटकको साथ रहनुले विनालाई जितका लागि सहज रहेको वामपन्थी नेताहरु बताउँछन् । 

महिला उम्मेदवार विनालाई जिताउन माओवादी केन्द्रका जिल्लाका महत्वपूर्ण शक्ति क्षेत्र नं १ मै खटिएको छ । निर्वाचन क्षेत्र नं १ का प्रदेशसभाका उम्मेदवार तथा नेकपा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा तामाङले माओवादी युवा नेता दाहालको निधनले आइतबार एक दिन चुनावी कार्यक्रम स्थगित गरे पनि सोमबारदेखि सञ्चालन भएको बताए । 

क्षेत्र नं १ मा विनालाई सहानुभूति मत बढ्ने देखिएको छ । उनले वाम गठबन्धनको कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा पकड बलियो रहेको दाबी गर्दै सबै क्षेत्रमा वाम घटकका उम्मेदवारका पक्षमा मतदाता रहेको बताछन् । 
माओवादी केन्द्रका कञ्चनपुर संयोजक वीरबहादुर थापाले शोकमा रहनुभएका उम्मेदवार विना मगर केही दिनभित्रै चुनावी क्षेत्रमा आउने जानकारी दिए । “जिल्लाभरि वाम घटकका पक्षमा राम्रै माहोल छ भन्ने सुनिन्छ”– थापाले भने, “चुनावी अभियानलाई जिल्लाभर गतिका साथ अघि बढाएका छौँ ।” 
नेकपा (एमाले)का कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्लाभर वाम गठबन्धन संयुक्त टोली चुनावी प्रचारमा परिचालन गरिएको बताए । “जिल्लाभर प्रचार अभियान बढेको छ”– उनले भने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै