• २०८१ बैशाख ७ शुक्रबार

नारायणकाजीले चुनाव जित्ने सपना नदेखे हुन्छ : बाबुराम

kharibot

गोरखा । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू राजनीति गरुञ्जेलसम्म नारायणकाजीले गोरखामा चुनाव जित्नै नसक्ने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आईतबार गोरखामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै डा. भट्टराईले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘मैले राजनीति गरुञ्जेलसम्म नारायणकाजी श्रेष्ठजीले गोरखामा चुनाव जित्ने सपना नदेखे हुन्छ, उहाँलाई गोरखाका डाँडापाखा हिँड्न आउँदैन, र सुहाउँदैन पनि, त्यसैले बरु काठमाडौंतिर सरे हुन्छ ।’

उनले अबको निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई वा बहुमत आउने भन्ने कुरा हल्लामात्रै भएको भन्दै मुलुकमा हंग पार्लियामेन्ट हुने दाबी गरे । उनले आफ्नो पार्टी नयाँ शक्ति नेपालले पाँच वर्षपछि मुुलुकमा शासन गर्ने समेत दाबी गरे । उनले आफूहरु अहिले निकै व्यस्तरहेको समेत प्रतिक्रिया दिए । उनले थपे, ‘विहानदेखि बेलुकासम्म १५ देखि १८ घण्टा खटिइरहेका छौँ । मैले जनताबाट आगाध माया, सद्भाव र स्नेह पाउँछु । किनकि ६४ सालको चुनावमा नेपालभरी नै सबैभन्दा बढि भोट मलाई आएको थियो । ४६ हजारभन्दा बढि अर्थात् यस क्षेत्रको ८२ प्रतिशत मत मैले पाएको थिएँ । संविधान लेख्ने जिम्मेवारी दिए । संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भयो । संवाद समितिको सभापतिको हैसियतले महत्वपूर्ण भुमिका खेलेँ । अब जनताले विकास र समृद्धि चाहेका छन् । यसका लागि बाबुरामकै योगदान जनताले चाहेका छन् ।’

उनले आफूले माओवादी केन्द्रका नेता नारायणकाजीसँग प्रतिस्पर्धा नगरेको समेत दाबी गरे । डा. भट्टराईले थपे, ‘उहाँलाई यहाँ ल्याएर मसँग भिडाएर अनावश्यक ढंगले उहाँको सिङ भाँच्न लगाइएको छ । उहाँको यो क्षेत्र नै होइन । स्कुलको पढाई सकेपछि उहाँ गोरखा कहिल्यै पनि फर्किनुभएन । कार्यथलो पनि यो होइन । गोरखामा उहाँ कहिलेकाँही पर्यटकको रुपमा मात्रै आउने हो । म त यहीँ जन्मिएँ, हुर्किएँ । आन्दोलनको कार्यक्षेत्र पनि यही थियो । यअसघ २ वटा संविधानसभाको चुनावमा यहीँबाट जितेँ ।’

गोरखाली जनताले आफूबाट जुन अपेक्षा गरेका छन् त्यो आफूले इमानदारिताका साथ सेवा गरेको उनको तर्क थियो । उनले थपे, ‘अहिले पनि जनतको दैलोमा गएर सोध्नुस्, बाबुरामलाई उहाँहरुले कसरी बुझ्नुहुन्छ ? मैैले उहाँहरुकै आंकाक्षा बुझेको छु । मेरो प्रतिस्पर्धी को हुन्छ भन्ने कुरा ठूलो होइन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले आफूलाई हार र जितको कुनै शंका नभएको समेत प्रतिक्रिया दिए । उनले थपे, ‘निष्पक्ष जनताको मतका आधारमा शंका गर्ने कुनै ठाउँ छैन । मार्जिन कति हुन्छ भन्ने मात्रै हो । हारजितको विषयका कुनै शंका छैन ।’

नारायणकाजीले चुनाव जित्ने दाबी गर्नुभएको छ भनेर सोधिएको अर्को प्रश्नमा बाबुरामले मुख खोले, ‘चुनावको बेलामा आफ्नो दलिल पेश गर्नु स्वभाविक हो । बहुदलीय प्रतिस्पर्धामा त्यसलाई हामीले अन्यथा मान्नु पनि हुँदैन । मैले २०२६ सालको एसएलसी परीक्षामा सर्वप्रथम भएपछि जुन ढंगले यो क्षेत्रमा चर्चाको विषय बन्यो, त्यसपछि निरन्तर रुपमा म यही क्षेत्रका जनताको सेवामा समर्पित छु । गोरखाको विकासका लागि चित्र कोरेँ । छोटो समय अर्थमन्त्री हुँदा गोरखामा विकासका आधारभूत विकासका पूर्वाधारको जग बसालेँ । अब त्यो जगलाई पूर्णता दिनुपर्छ । गोरखालाई देशकै विकासको मोडल बनाउनुपर्छ भन्ने उद्देश्य मेरो छ । जनताले पनि त्यही अपेक्षा राखेका छन् । त्यसैले अरुले के भन्छन् भन्ने कुरा महत्वपूर्ण छैन ।’

उनले २७५ सासंदमध्ये जो पनि प्रधानमन्त्री बन्न सक्ने भएकोले सबैले प्रधानमन्त्रीको सपना देख्नु कुनै ठूलो कुरा नभएको प्रष्ट पारे । उनले भने, ‘सपना देख्न सबैले पाउँछन् । मेरा लागि जनताको निम्ती विकास र समृद्धिको एजेण्डा मुख्य हुन् ।’

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै