• २०८१ बैशाख ८ शनिबार

उमेदवारमाथि भएका आक्रमण रोक्न सुरक्षाको व्यवस्था कडा प्रधानमन्त्री देउवाको प्रतिबद्धता

kharibot

डडेल्धुरा ।  प्रधानमन्त्री शेरबहादुर देउवाले उमेदवारमाथि भएका आक्रमण रोक्न सुरक्षाको व्यवस्था कडा पारिने बताएका छन् । 

नेपाल प्रेस युनियन डडेल्धुराले आज बिहान गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै आफू सोमबार राजधानी फर्केपछि सबैसँग छलफल गरी सुरक्षा व्यवस्था अझै कडा पारिने बताए । 

“माओवादी विप्लव समूहबाहेक अरु कसैले पनि आतंक मच्चाएको खबर छैन, हमला गर्ने र हमलाको प्रयास गर्नेलाई पक्राउ गरी कडा कारबाही गरिनेछ । सुरक्षा व्यवस्था कडा पारी भव्य रुपमा चुनाव भएरै छाड्छ, यसमा शंका गर्नुपर्ने कुनै कुरा छैन”, प्रधानमन्त्रीले भने । 

अर्काे प्रसङ्गमा प्रधानमन्त्री देउवाले सरकार र चिनियाँ कम्पनी ‘थ्री गर्जेज’बीच पश्चिम सेती परियोजना निर्माण गर्न लगानी सम्झौता भइसकेको जानकारी दिँदै भने, “अब त पश्चिम सेती परियोजना आइसक्यो, थ्री गर्जेज कम्पनी ठूलो कम्पनी हो, धेरै विद्युत् आयोजना परियोजना निर्माण गरिसकेको कम्पनी भएकाले उसमा हाम्रो विश्वास छ ।” 

पञ्चेश्वरको काम अघि बढ्दै 

उनले पञ्चेश्वर निर्माणको काम पनि अघि बढेको र केही समयभित्रै भारतीय टोली नेपाल आई आवश्यक प्रक्रिया अघि बढाउने तयारी रहेको जानकारी दिँदै २०४८ सालपछि राजधानीसँग सिंगो सुदूरपश्चिम जोडिएपछि अहिलेसम्म भएका विकासले गति लिएको जिकिर गरे । 

उनले भने, “त्यस बखत काठमाडाँै– डडेल्धुरा आउँदा जाँदा ११ दिन लाग्थ्यो, म आफंैँ पनि हिँडेर ११ दिनमा डडेल्धुरा पुगेको हुँ, अहिले त गाउँगाउँमा सडक पुगेका छन्, अब यी सबै सडक काँग्रेसकै नेतृत्वमा कालोपत्रे हुन्छन् र यहाँका जनतालाई आर्थिक तवरले समृद्ध बनाइनेछ ।” 

सूदूरपश्चिमका सबै जिल्ला सदरमुकामसम्म जोडिएका सडक कालोपत्रे भएको जनाउँदै प्रधानमन्त्री देउवाले पहाडी र तराईका जिल्लामा बन्द विमानस्थलको पनि स्तरोन्नति भइरहेको, डडेल्धुराको भित्री मधेशस्थित पन्तुरा र सुनखोला नदीमा पक्की पुल बनिसकेको, रंगुन नदीमा पुल निर्माणको काम अन्तिम चरणमा रहेको, रंगुन नदी नियन्त्रणका लागि बजेट परेको, बुडर जोगबुढा–दैजी सडक कालोपत्रेका लागि ठेक्का भइसकेको, डडेल्धुरा सदरमुकाममा व्यवस्थित खानेपानी विस्तारका लागि ठेक्का भइसकेको लगायत कामले गति लिएको र सदरमुकाम क्षेत्र व्यवस्थित पार्न दुई लेनको सडक विस्तारका लागि पहल भइरहेको जानकारी दिए । 

पत्रकार सम्मेलनमा प्रेस युनियन डडेल्धुराले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि आवश्यक योजनासहितको अनुरोधपत्र प्रधानमन्त्री देउवालाई बुझाएको थियो । सात नं प्रदेशको राजधानी डडेल्धुरा कायम गर्न, सदरमुकाम क्षेत्रको सडक फराकिलो बनाई व्यवस्थित सडक र शहर बनाउन, पश्चिम सेती र पञ्चेश्वर आयोजनाको निर्माणलाई प्राथमिकता दिन, डडेल्धुरामा उपयुक्त विमानस्थल निर्माण गरी पर्यटकीय क्षेत्र घोषणा गर्न, निमार्णाधीन सडकको स्तरोन्नति, कालोपत्रे, बसपार्क निर्माण, खेलमैदान, राष्ट्रियसभालगायत पूर्वाधार निर्माणका काममा तीव्रतालगायत माग गरिएको अनुरोधपत्र युनियन डडेल्धुराका सभापति टेकराज अवस्थीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै