• २०८१ बैशाख ७ शुक्रबार

निर्धारित समयभन्दा २० सेकेण्ड चाँडो छुटेकोमा रेल कम्पनीले माफी माग्यो !

kharibot

पूर्वी एसिया । जापानको एउटा रेल कम्पनीले निर्धारित समयभन्दा २० सेकेण्ड पहिले नै रेल छुटेकोमा माफी मागेको छ । यात्रु बोक्दै आएको त्सुकुबा एक्सप्रेसले उत्तरी टोकियोको मिनामी नागारेयामा स्टेसनबाट २० सेकेण्डअघि नै छुटेकोमा कम्पनीले माफी मागेको हो ।

उक्त रेल ९ः४४ः४० एएममा छुट्नुपर्ने थियो तर २० सेकेण्ड चाँडै ९ः४४ः२० एएममै छुटेको थियो । कम्पनीले ट्विट गरी माफी मागेको छ । ट्विटमा आफ्ना उपभोक्तामाथि पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ भनिएको छ । मेट्रोपेलिटान इन्टरसिटी रेलवे कम्पनीले माफी मागेको हो । रेलका कर्मचारीले समयतालिका राम्ररी नहेर्दा समस्या आएको भन्दै कम्पनीले रेलका चालकवर्गलाई सचेत गराइएको बताएको छ ।

कम्पनीले २० सेकेण्डको लागि माफी माग्नुले त्यहाँका कम्पनीहरु आम उपभोक्ताप्रति कति संवेदनशील छन् भन्ने देखाउँछ । उक्त रेल गएको ४ मिनेटमै पुनः अर्को रेल आइसकेको थियो । तर यस्तो अवस्थामा समेत कम्पनीले माफी मागेको भन्दै समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

त्सुकुबा एक्सप्रेसले जापानमा वर्षेनी १ सय ३० मिलियन यात्री टोकियोको अकिहाबारा र इबाराकी (त्सुकुबा)को बीचमा बोक्दै आएको छ । यी दुई स्थानबीचको दूरी ४५ मिनेटमा पूरा हुन्छ । निर्धारित समयअगाडि नै रेल छुट्नु जापानमा असामान्य होइन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै