• २०८१ बैशाख ६ बिहीबार

कस्ता कस्ता चुनाव प्रचार : धान काट्ने, गाई दुहुनेदेखि मालाले पुरिए नेताहरु   

kharibot

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुनलागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका नेताहरु अहिले व्यापक चुनावी प्रचारमा होमिएका छन् । जसरी पनि जित्नैपर्ने मानसिकता पाल्ने नेताहरुको तडकभडक अहिले चर्चामा छ ।

भित्री रुपमा हुने पैसोको खोलो बगाइ एकातिर छँदै छ त बाहिरी रुपमा जुलुस, कार्यक्रम, पम्फ्लेट टँसाइ, घरदैलो तीव्रतर बनिरहेको छ । अधिकांश उम्मेदवारहरु आआफ्नो निर्वाचन क्षेत्रका मतदाता आकर्षित पार्ने नयाँ नयाँ स्टन्ट तरिका अपनाउन थालेका छन् । चाहे बोल्दा होस्, वा चाहे नयाँ कुरा देखाएर होस्, गज्जबको शैली देखिन थालेको छ नेताहरुको । 

एमाले उपाध्यक्ष गौतमको बर्दियामा बाढी आउनै नदिने भाषण होस् कि राम कार्कीको अफ्रिकी युवतीको गालाजस्तै चिल्लो सडक बनाउने काइदा होस्, नेताहरु जनमानसमा पर्नसक्ने सम्भावित विवादास्पद अभिव्यक्तिलाई लत्याएरै भोट माग्दै हिँडेका छन् । 

कुस्ती खेलेर हुन्छ कि बाँसको खाँबो चढेर हुन्छ, यसपालि जित्ने मैले नै हो जसरी उनीहरुले गरेको प्रचारबाजी शैली अहिले सामाजिक सञ्जालमा लाइक र कमेन्टका साथै आलोचना पनि  बटुलिरहेका छन् । 

चुनावी स्टन्टकै कारण उम्मेदवारहरुको आलोचना समेत भएको छ । यही सिलसिलामा आगामी चुनावको लागि भोट माग्नेहरुले घरदैलोमा जाँदा देखाएको केहि चर्चित घटना जो सामाजिक सञ्जालदेखि आम मतदातासम्म चर्चित बनेका छन् । 

सिलवालले सर्ट, पाइन्ट लगाएर धान काटे ! 

नेपाल प्रहरीको आईजीपीप्रकरणका मुख्य चरित्र नवराज सिलवाललाई नेकपा एमालेले ललितपुर क्षेत्र नं. १ बाट आगामी २१ गते हुने निर्वाचनमा उठाएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् नवराज सिलवाल । उनलाई वाम गठबन्धनको तर्फबाट नेकपा एमालेले उम्मेदवार बनाएको हो । आईजीपी नियुक्ति प्रकरणमा न आईजीपी, न पदोन्नति भएपछि उनलाई आफ्नो सरकार आएपछि गृहमन्त्री बनाउने घोषणा गरेका एमाले अध्यक्ष ओलीकै पहलमा सिलवालले टिकट पाएका हुन् । उम्मेदवारी दर्तापछि उनले भोट माग्ने पृथक् शैली अपनाएका थिए । आइरन गरेको छिर्केमिर्के सर्ट र खैरो रंगवाला पाइन्ट, छालाको पेटी, छालाको जुत्ता र मोजा लगाएर उनले मतदाता आकर्षित गर्न उनीहरुको खेतमै पुगेर धान काटेका थिए । 
यही कात्तिक २२ गते बुधबार ललितपुरमा आफ्नो निर्वाचन क्षेत्रमा सिलवालले भोट माग्न यस्तो तरिका अपनाएका हुन् । 

आरजु राणा देउवाको ढकिया मोह ! 

प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा देउवा कैलाली ५ बाट पहिलोपटक प्रत्यक्षतर्फ चुनावी युद्धमा होमिएकी छिन् । यसअघि दुई पटक सभासद बने पनि प्रत्यक्षतर्फबाट भने पहिलोपटक विजयको स्वाद लिन उनी यतिखेर चुनावी प्रचारमा छिन् । विशेष गरी थारुबहुल क्षेत्र मानिने कैलालीमा मतदाता आकर्षित गर्न उनले अपनाएको प्रचारशैली रोचक छ ।

उनले केही दिनअघि मात्रै थारु मतदाताको मत तान्न परम्परागत पोसाकमा सजिएका थारु युवतीसँगै लामबद्ध भएर उनीहरुको चलन अपनाउँदै भोट मागेकी थिइन् । सो क्रममा उनले थारु महिलाले जस्तै टाउकोमा ढकी बोकेर भोट मागिन् । रोचक त के थियो भने राणा खानदानी परिवारमा हुर्किएकी आरजुको टाउकोमा एउटा साधारण थारु महिलाले बोक्ने ढकी थियो । यसले कतिको मतदाता आकर्षित भए त्यो त निर्वाचनले नै देखाउनेछ । 

प्रधानमन्त्रीपत्नी त्यसमाथि नेपाली शक्तिशाली महिलाको अग्रमोर्चामा रहेकी उनले एमालेका थारु समुदायकै उम्मेदवार नारदमुनि राना थारुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अर्को एउटा रोचक तथ्य पनि छ आरजु राणाको । केही दिनअघि उनलाई उक्त क्षेत्रको टुरिष्ट उम्मेदवारका रुपमा प्रचार गरिनलागेपछि उनले आफूलाई सोही जिल्लाबासी देखाउनकै लागि भए पनि लगभग तीन करोड मूल्य पर्ने घर धनगढीमा किनेको चर्चा छ । 

महतोको भर्यांगे चटक र लालबाबुको जोताइ ! 

नेताहरुका भोट माग्ने शैली यसपटक रोचक देखिएको छ । सिलवाल र आरजुजस्तै राष्ट्रिय जनता दलका नेता राजेन्द्र महतोको चुनावी प्रचार स्टन्ट सम्झिनलायक छ । केही दिनअघि मधेश आन्दोलनका सहिदलाई माल्यार्पण गर्न उनी अग्लो बाँसको टेको चढेका थिए । बाँसै बाँस जोडेर बनेको अग्लो भर्यांग चढेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि राजेन्द्र महतोको चुनावी प्रचारशैलीको चर्चा भएको हो ।

यस्तै नयाँ नयाँ शैलीबाट भोट माग्ने क्रममा पीआर होल्डर कर्मचारीलाई कारबाही पाएर चर्चा कमाएका एमालेका उम्मेदवार लालबाबु पण्डितले किसानको खेतमै पुगेर हलो जोतेका छन् । उनी मोरंगमा कांग्रेसका हस्ती नेता शेखर कोइरालाविरुद्ध चुनावी मैदानमा छन् । 

रवीन्द्रले गाई दुहे, महेन्द्रले सलामी लिए !

एमालेका युवा नेता रवीन्द्र अधिकारी पनि नयाँ किसिमबाट भोट माग्ने तौरतरिका प्रयोगमा चुकेनन् । अधिकारीले किसानको घरमा गाई दुहेर भोट मागेका हुन् । कास्की २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेता अधिकारीले मतदाताको घरमा गाई दुहेपछि उनी सामाजिक सञ्जालमा चर्चामा छन् । रवीन्द्र अधिकारीमात्र होइनन्, थुप्रै अन्य नेताहरु चुनावी स्टन्टका कारण चर्चित बनिरहेका छन् यतिबेला । 

यसैमध्येका अर्का स्टन्टकर्ता हुन् पूर्वऊर्जामन्त्री एवं हालका विना विभागीय मन्त्री महेन्द्र बहादुर शाही । प्रदेश ६ को कालीकोट जिल्ला ‘ख’बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका उनले चुनावी प्रचारकै क्रममा हरेक बिहान प्रहरीको सलामी खाने गरेको कुराले चर्चा बटुलिरहेको छ । त्यसो त कांग्रेसका नेता एवं सूचना तथा सञ्चारराज्य मन्त्रीले पनि स्यालुट लिएको चर्चा चुलिँदै गएको छ । 

जब राम कार्कीले सडकलाई अफ्रिकी युवतीको गालासँग तौलिए !

पूर्वसञ्चारमन्त्री रहिसकेका माओवादी केन्द्रका नेता राम कार्कीले चुनावी प्रचारकै क्रममा सडक चिल्लो बनाउने भनी भाषण गर्दा अफ्रिकी युवतीको गालासँग तौलिएका छन् । नेताहरु चुनावी प्रचारकै क्रममा अनेकानेक शैली र स्टन्ट अपनाइरहेका बेला कार्कीले भने ग्राभेल सडकलाई पिच गरेर अफ्रिकी युवतीको गालासँग तुलना गरेका हुन् । यसलाई बुझाइअनुसार सकारात्मक र नकारात्मक जसरी पनि लिन सकिन्छ । झापा क्षेत्र नं. १ का उम्मेदवार रहेका कार्कीलाई कांग्रेसका नेता विश्वप्रकाश शर्माले चुनौती दिँदै छन् ।

विवेकशीलको नेपाल यातायात र रोटीको चर्चा 

ठूला पार्टीका नेताहरुमात्रै होइनन्, प्रचारबाजी स्टन्ट गर्नेमा विवेकशील साझाजस्तो कान्छो पार्टीका उम्मेदवार रवीन्द्र मिश्रको पनि सामाजिक सञ्जालमा चर्चा चुलिएकै हो । मनोनयन दर्ता गर्न जाँदा र फर्किँदा नेपाल यातायात चढेर यी बीबीसीका पूर्वपत्रकारले तस्बिर खिचाएर सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनी काठमाडौं १ बाट कांग्रेस नेता प्रकाशमानलाई चुनावमा चुनौती दिँदै छन् । 

त्यस्तै सोही पार्टीका अर्का संयोजक उज्वल थापाले सुख्खा रोटी पकाउँदै चुनावी प्रचार गरेको पनि समाजिक सञ्जालमा देखियो ।

मालाले पुरिएका नेताहरु  

चुनाव नजिकिँदै जाँदा नेताहरुको चुनावी चटक पनि दर्शनीय बनेको छ । ठूला नेतादेखि साना तहका नेतासम्मका गला मालाले पुरिएका छन् । मानौ चुनावअघि नै विजय पक्का भइसक्यो । मनोनयन दर्ता देखि भोट माग्न घरदैलो जाँदा टाउको नै नदेखिने गरी नेताहरुले माला भिरेको दृश्यले यही देखाउँछ । 

मनोनयनमै नाराजुलुस गर्दै बाजा बजाएर तामझामका साथ जाने नेताहरु देखाउनकै लागि भए पनि माला लगाएर विजय पाएको सपनामा डुबिरहेको देख्दा जनमानस आश्चर्यचकित भएका छन् ।

जे होस्, पाका नेतादेखि भर्खरका नेतासम्मले चुनावी प्रचारमा अपनाएको शैली साँच्चै रोचक र अचम्मको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै