काठमाडौँ । दक्षिण अमेरिकी देश पेरु आगामी बर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ ।
आज भएको न्युजील्याण्डविरुद्धको प्लेअफको दोस्रो लिगमा २-० ले विजयी हुदै समग्रमा २-० को जित सहित विश्वकपमा ठाउ बनाएको हो ।
न्युजील्याण्डविरुद्धको खेलमा पेरुका लागि जे फार्फानले खेलको २८औ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल खेलको ६५औ मिनेटमा सि रामोसले गरेका थिए ।
पेरु पाचौ पटक विश्वकपमा छनौट भएको छ । सन् १९८२ मा अन्तिम पटक विश्वकप खेलेको पेरु ३६ बर्षपछि विश्वकपमा पुनरागमन गरेको छ । पेरुले यसअघि सन् १९३०, १९७०, १९७८ र १९८२ मा विश्वकप खेलेको थियो ।
पेरु रसिया विश्वकपका लागि छनौट हुने अन्तिम टिम हो । योसँगै रसिया विश्वकपमा भाग लिने ३२ वटै टिमको टुंगो लागेको छ ।
दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपका लागि छनौट हुने पेरु पाचौ टिम हो । यस क्षेत्रबाट ब्राजिल, अर्जेन्टिना उरुग्वे र कोलम्बिया छनौट भइसकेका छन् ।