• २०८१ बैशाख ६ बिहीबार

मतदान प्रक्रिया झण्झटिलो भएको मतदाताको प्रतिक्रिया

kharibot

बेँसीशहर । सोमबार अपराह्न फूलबारी मैदानमा चुनावी रौनक थियो । सुरक्षा व्यवस्थामा खटिएका म्यादी प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे भयो । 

मतदानका लागि पुरुष र महिलाको छुट्टाछुट्टै लाइन थियो । डोरी टाँगेर बनाइएको मतदान केन्द्रमा तीनवटा फरकफरक बक्साका साथै तीनवटा गोप्य मत राख्ने ठाउँ बनाइएको थियो । 

झट्ट हेर्दा लाग्थ्यो मंसिर १० गते आज नै हो । निर्वाचनका लागि खटिएका कर्मचारीले पालैपालो मतदातालाई मतदान गराइरहेका थिए । सर्वसाधारण पालैपालो मतदान गर्दै बाहिर निस्किएका थिए । 

मतपत्र खसालेका मतदाताले पहिलेको भन्दा अहिले निर्वाचन झण्झटिलो भएको प्रतिक्रिया दिए । नमूना मतदान गरेपछि सर्वसाधारणको यस्तो प्रतिक्रिया आएको हो । 

नमूना मतदानले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न झण्झटिलो देखिएको उनीहरुले प्रतिक्रिया दिएका हुन् । मतदाताले मतपत्र लिन, छाप लगाउन र बाकसमा राख्न तीन–तीन पटकसम्म ओहोरदोहोर गर्नुपर्दा गर्दा झण्झटिलो भएको नमूना मतदान गर्नुभएकी बेँसीशहर निवासी सिर्जना श्रेष्ठले बताए । 

‘स्थानीय तह निर्वाचनमा पनि यस्तो झण्झट भएको थिएन’ श्रेष्ठले भने ‘तीनवटा मतपत्रका लागि तीन पटक ओहोरदोहोर गर्नुपर्ने रहेछ ।’ स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रक्षत्यतर्फ मतदान गर्न निकै सजिलो भएकामा समानुपातिकतर्फ भने धेरै चुनाव चिह्न भएकाले धेरै मतदाता अलमलिने बेँसीशहरकै सविता वाग्लेको भनाइ थियो । 

‘प्रक्षत्यतर्फ त ठीकै हो, सजिलो लाग्यो’ वाग्लेले भने ‘समानुपातिक मतपत्रमा त आँखा नै तिरमिराए, चिह्न भेट्टाउनै मुस्किल पर्ने रहेछ ।’ नमूना मतदान गरेका बेँसीशहरकै सिराज मियाले पनि समानुपातिकमा अलिक बढी समय लाग्ने जानकारी दिए । ‘समानुपातिक मतपत्र ठूलो र चिह्न धेरै हुँदा अलिक अलमलिदो रैछ’ मियाले भने ‘आफूले खोजेको चिह्न देख्नै समय लाग्यो ।’ 

निर्वाचन आयोगले एउटा मतदाताले दुई मिनेटमा सबै मत हाली सक्ने समय आँकलन गरेको छ । प्रक्षत्यतर्फको मतपत्रमा थोरै चुनाव चिह्न भएकाले समय नलाग्ने तर समानुपातिकतर्फ धेरै चुनाव चिह्न भएकाले मतदातालाई बढी समय लाग्नसक्ने जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सेनाको भनाइ छ । ‘प्रक्षत्यमा समय लाग्दैन’ तिमिल्सेनाले भने ‘समानुपातिकमा मतपत्र ठूलो भएकाले केही बढी समय लाग्न सक्छ ।’ 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गरी जिल्ला निर्वाचन कार्यालयले बेँसीशहरमा नमूना मतदान गराएको हो । बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तौरतरिका सिकाउन नमूना मतदान गराइएको उत्त कार्यालयले जनाएको छ । 

बेँसीशहरसहित सुन्दरबजार, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा नमूना मतदान गराउन थालिएको छ । नमूना मतदानको क्रममा केही मतदाताले स्थानीय तहको निर्वाचन झै एकै लाइनका एकभन्दा बढी चिह्नमा मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

नमूना मतदानमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देललगायत कार्यालय प्रमुख, जिल्लाका सञ्चारकर्मीको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै