• २०८१ बैशाख ७ शुक्रबार

ओली र प्रचण्डलाई यूएईबाट खुल्लापत्र

kharibot

काठमाडौं । श्रद्धेय ओली र क. प्रचण्डज्यू ! हार्दिक नमस्कार साथै न्यानो अभिवादन ! नेपाली राजनीतिका अदम्य पुरुष, देश र जनताप्रति हरपल चिन्तित, राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा कोही कसैसँग सम्झौता नगर्ने स्वाभिमानका शक्तिशाली क.ओली एवं जातीय र उत्पीडन मुक्तिका सफल योद्धा, नेपाली राजनीतिका छलाङी नेता, समावेशिताका प्रयोगकर्ता, दश वर्षे क्रान्तिका नायक क. प्रचण्डबीचको राजनीतिक सहमतिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सबैको ध्यानाकर्षण भएको छ ।

विशेषगरी निकट भविष्यमा नै नेपालका यी दुई वामपन्थी शक्तिशाली दल नेकपा एमाले र एकीकृत माओवादी मिलेर एकै पार्टी बन्ने उद्घोष गरेयता संयुक्त रुपमा निकालिएको घोषणापत्रले नेपाली राजनीति तरंगित भएको छ । इतिहासमा सत्ताभन्दा बाहिर नरहेको कांग्रेस र छिमेकी देश भारतको निदहराम भएको छ । आदरणीय नेताद्वय, हाम्रो देश हिमाल, पहाड, तराईको संगम हो । अझ यसो भनौँ देश एक विशेषता अनेक यो देश बहुजातीय, बहुभाषिक , बहुधार्मिक, बहुसांस्कृतिक र बहुदलीय व्यवस्था भएको प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो देश नेपाल विश्वको सुन्दर देश हो ।

नेपाललाई प्राकृतिक सुन्दरताले सुन्दरताले बेहुलीजस्तै सिँगारिदिएको छ । विभिन्न किसिमका जडीबुटीजस्तै तीतेपाती, यार्सागुम्बा, पाँच औँले हर्रो, बर्रो, बोजो, अलैँची, तुलसीपत्र आदि हाम्रो माटोमा पाइन्छ । विश्वको सर्वोच्च हिमशिखर सगरमाथा जलसम्पदाको दोस्रो धनी देश, मनमोहक झर्नाहरु, तालतलैयाहरु यही देशमा पाइन्छ । ७६५ प्रजातिका चराहरुमध्ये काँडेभ्याकुर नेपालमा मात्र पाइन्छ । धेरै किसिमका जनावरहरुमध्ये गैँडा, अर्ना र मानव विकास चरणको स्वरुप मानिने चिम्पान्जी यही मात्री भूमिमा पाइने गहना हो । मौसमअनुसारको फलफूल पाइने देश नेपाल हो । लेकमा स्याउ, सुन्तला, नास्पाती, पहाडमा लप्सी, अम्बा, तराईमा आँप, कटहर, उखु साथै अन्नको प्रचर खानी ।

लेखक

प्रचूर सम्भावनाले भरिपूर्ण यो सुन्दर देश नेपाललाई छिमेकीको इसारामा दक्षिणपन्थीहरु न आफ्mू काम गर्छन् न अरुलाई काम गर्न दिन्छन् । जब देशमा योजनाबद्ध ढंगबाट विकासका कुरा उठ्छन्, तब छिमेकी देश र त्यसका मतियारहरु सल्बलाउन थाल्छन् । हाम्रो राजनीतिक भविष्य छैन भन्दै सरकारको खुट्टा तान्न थाल्छन् र अन्ततः सरकार ढाल्छन् ।

पूर्ववर्ती सरकारका योजना केबल कागजमा सीमित हुन्छ । यस्तै छ हाम्रो देशको राजनीति, न सरकार छ, न त नैतिकता अनि नीति छ त केवल अभाव, अशिक्षा, बेरोजगारी, महङ्गी, भ्रष्टाचार, प्रकृतिको दोहन, फोहोरी राजनीति, देश विभाजन गर्ने षड्यन्त्र यी र यस्तै अनगिन्ती समस्याबाट ग्रसित भएर लगभग ५० लाख युवा विदेशिएका छन् । जसमध्ये म पनि पर्छु । कोही युरोप, अमेरिका, जापान त कोही खाडीतिर ।

आफ्नो परिवारको सुन्दर भविष्यको लागि । देश रेमिट्यान्सले चलेको छ । सालाखाला तीन करोड जनसंख्या भएको हाम्रो देशमा ५० लाख सृजनसील युवा आफ्नो पसिना र श्रम बेच्न बाध्य छन् नेपाल बाहिर । यो हाम्रो रहर होइन विवशता हो । यिनै समस्याका चाङ हटाउन वाम एकता जरुरी छ, अब हामी फुटेर हैन जुटेर अघि बढ्नुपर्छ ।

अझ भनौँ प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो देश नेपाल विश्वको सुन्दर देश हो । यो कुनै एकादेशको कथा हैन, तीतो यथार्थ हो । सामाजिक, आर्थिक रुपान्तरणको लागि, यो राष्ट्रको समृद्धिको लागि, स्थायी सरकार निर्माणको लागि । समाजवाद हुँदै साम्यवादसम्म पुग्नको लागि र नेपाली कम्युनिष्ट आन्दोलनको उद्देश्यपूर्तिको लागि वाम एकता आजको आवश्यकता हो ।

हाम्रो यिनै पार्टीका नेताको अभिव्यक्तिले घरीघरी सनसनी पनि बनाएको छ हामीलाई । उनीहरु भन्ने गर्छन् वामपन्थीबीचको एकता चुनावसम्मको लागि मात्र हो । चुनावपछि यी दुई पार्टीको एकता हुँदैन । साँच्चै उनीहरुले भनेजस्तै भयो भने वर्तमानका यी दुई हस्तीहरु क.केपी र क. प्रचण्ड नेपाली राजनीतिक इतिहासमा कलंकित हुनेछन् । अतः सैद्धान्तिक र वैचारिक हिसाबले नजिक रहेका यी दुई पार्टी एमाले र माओवादी एकीकरण हुन जरुरी छ ।

जनभावनाको अवमूल्यन नहोस् । हामी उत्साहित छौँ, हामीलाई विश्वास छ दोस्रो चरणको निर्वाचनपछि नेपाली कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट अघि बढ्नेछ । राजनेता केपी र क्रान्तिका नायक प्रचण्ड युगपुरुष बन्नेछन् । नेपाली राजनीतिको विश्व रङ्गमञ्चमा क्रान्तिकारी छलाङ मार्नेछन् । वामपन्थीको दुई तिहाइको सरकार बन्नेछ र झिँगटे दलहरुको अस्तित्व समाप्त हुनेछ । क्षेत्रीय दलहरु कि वामपन्थी दलमा समाहित हुनेछन् कि त कांग्रेससँग ।

अबको प्रतिस्पर्धा दुई पार्टीबीच हुनेछ । त्यो भनेको कम्युनिष्ट र कांग्रेस हो । रवीन्द्रजी र बाबुराम भट्टराई कम्युनिष्ट पार्टीतिर धु्रवीकृत भएको विचार राम्रो । विचारविनाको राजनीति र कार्यकर्ताविनाको पार्टी कुनै राजनीतिक दल हुनै सक्दैन । त्यो त केबल समूह हो । समूहको नेताभन्दा ठूलो पार्टीको कार्यकर्ताको विशेष महत्व हुन्छ । सुनखानीमा सुतिरहेको हाम्रो देशको समृद्धि र जनताको प्रगति हाम्रै पालामा सम्भव छ ।

वाम शक्तिबीचको मिलन आजको आवश्यकता बनेको छ । हार्दिक शुभकामना त्यो ऐतिहासिक दिनलाई ।
              

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै