• २०८१ बैशाख ८ शनिबार

भारतीय गाडीमा अडेस लाग्दै केपी ओलीका भावी परराष्ट्रमन्त्रीले गरे चुनावी सम्बोधन  

kharibot

काठमाडौं । चुनावी प्रचार प्रसारमा कार्यक्रम गर्दै हिँडेका वाम गठबन्धनका काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. राजन भट्टराई र प्रदेश सभा सदस्यका लागि उम्मेदवार क्षेत्र नं. ४ ‘क’ का उम्मेदवार निर्मल कुइँकेलले भारतीय नं. प्लेटको गाडीसँगै उभिएर चुनावी सभालाई सम्बोधन गरेका छन् ।

शनिबार काठमाडौंको ज्ञानेश्वरमा चुनावी सम्बोधन गर्दै भारतको आलोचना गरिरहेका एमाले उम्मेदवार भट्टराईले भारतीय नं. प्लेटको गाडीमा टाँस्सिएर बोलिरहेको पत्तै पाएनन् ।

एमाले उम्मेदवार दुवैले एचआर १२ एए ८३०५ नं. को सेतो भारतीय कारसँगै उभिएर कार्यक्रमलाई सम्बोधन गरेका थिए । रोचक कुरा त के थियो भने राष्ट्रवादी कुरा गर्दै नाकाबन्दी सम्झिरहेका एमाले उम्मेदवार भट्टराईले भारतीय नं. प्लेटको गाडीको अघिल्तिर भारतको पनि आलोचना गरिरहेका थिए । यद्यपि यो सबै संयोगवश भएको थियो । उनीहरु जहाँ कार्यक्रम गरिरहेका थिए त्यहाँ पहिले नै उक्त कार रोकिराखिएको थियो । सर्वप्रथम उक्त कार्यक्रममा निर्मल कुइँकेलले सम्बोधन गर्दै भोट मागेका थिए, र पछि त्यही कार्यक्रममा हतारिँदै डा. राजन भट्टराई आइपुगेका थिए । भट्टराईलाई केही दिनअघि मात्रै केपी ओलीले काठमाडौंमै आयोजित एक चुनावी कार्यक्रममा अबका परराष्ट्रमन्त्री भनेर परिचित गराइसकेका छन् । 

वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि आगामी चुनावमा साझा उम्मेदवार बनेका डा. राजन भट्टराईले शनिबार आफूहरुलाई जिताउन मतदातालाई आग्रह गरेका हुन् । आगामी निर्वाचन महत्वपूर्ण निर्वाचन र संविधानपछिको पहिलो निर्वाचन भएकाले संविधानको परिपालनासँगै देशविकासमा भूमिका खेल्न सक्ने गरी विवेकपूर्णमतदान गर्न मतदातालाई आग्रह गरे । विगतमा संविधानअनुसार निर्वाचन हुने तर निर्वाचित प्रतिनिधिले नै संविधान जोगाउन नसक्ने स्थिति देखिएको २०१५, २०४८ का निर्वाचनपछि यस्तै देखापरेको थियो भन्दै उनले अब त्यस्तो स्थिति आउन नहुने बताए । 

सन् १९५० मा भारतले ल्याएको संविधान अहिले पनि कायम रहेको उनले बताए । ६७, ६८ वर्षसम्म पनि त्यही संविधानले काम गरेको उनले सुनाए । चीनमा सन् १९४९ संविधान ल्याएको भन्दै उनले त्यही संविधानले उनीहरुले आज पनि काम गरिरहेको उदाहरण दिँदै उनले नेपालमा पाँचवटा संविधान असफल पारिएको र अहिलेको छैटौँ संविधान पनि असफल बनाउने तत्वहरु सक्रिय रहेको आरोप लगाए । भारततर्फ संकेत गर्दै डा. भट्टराईले संविधान जारी गर्न नदिन राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब आएको सबैलाई थाहा भएको भन्दै उनले त्यसको प्रतिवादका रुपमा संविधान जारी गरेको बताए । उनले त्यसबापत नेपालले नाकाबन्दी खेप्नुपरेको सुनाए । 

उनले दुश्मनी साँधेर संविधान जारी गर्दा अवरोधको प्रयास नभई नेपालीले बनाएको संविधान जारी गर्नलागेकामा अवरोध आएको भन्दै अप्रत्यक्षरुपमा भारतको आलोचना गरे । रातोपुलमा आयोजित चुनावी सभामा वामपन्थीलाई एकपटक अवसर दिन मतदातालाई आग्रह गरे । उनले आफूहरुले जिते पाँच वर्षसम्म एउटै सरकार दिने दाबी गरे । 

विगत २० वर्षसम्म जनतालाई केही दिन नसकेकोमा गुनासो गर्दै उनले ०५१ सालमा नौ महिने नै भए पनि जनताले केही पाएको बताए । उनको संकेत मनमोहन अधिकारीको वृद्धभत्तातर्फ थियो । 

केपी ओलीको पालामा केही कदम चाल्न खोजे पनि चौतर्फी घेराबन्दी गरेर सत्ताबाट बाहिर पठाइएको उनले गुनासो गरे । त्यतिबेला विकास निर्माण, राष्ट्रियताका अडान, चीनसँगको पारवहन सम्झौता, केरुंग काठमाडौं, काठमाडौं पोखरा लुम्बिनी र पूर्व पश्चिम रेलको कुरा आफूहरुले अगाडि बढाउन खोजेको दाबी गरे । एकपटक आफूहरुलाई मतदाताले टेष्ट गर्नुपर्ने उनको आग्रह थियो । 

कार्यक्रममै संवोधन गर्दै एमालेका निर्मल कुइँकेलले आफ्नो क्षेत्रका जनताका दैनिक झेल्नुपरेका समस्याको समाधान गर्ने बताएका थिए । उनले गौशालाको ट्राफिक जाम व्यवस्थापन, खानेपानी, ढलनिकास जस्ता कुरालाई समाधान गर्ने प्रतिबद्धता जनाए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै