• २०८१ बैशाख ७ शुक्रबार

जनताको समस्यामा सहयात्री बनेर सहयोग गर्छु : एमाले प्रदेशसभा उम्मेदवार कार्की

kharibot

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेश ‘ख’ नेकपा एमालेको तर्फबाट उम्मेदवार कुसुम कुमार कार्कीले आफ्नो क्षेत्रको विकास गर्न थुप्रै विकासका नीतिहरु अघि सारेका छन् । उनले आफूले देश र जनताको लागि आफूले हरेक तबरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । खरीबोटसँग कुराकानी गर्दै उनले जनताका सामान्य जनजीवनलाई सहज पार्ने र देशको विकासमा सकेको योगदान दिनको लागि आफूले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको बताए ।

चुनावनजिकै आहिरहँदा उनी चुनाव प्रचार—प्रसार र घरदैलोमा व्यस्त बनेका छन् । संघीयतामा देश गइसकेपछिको पहिलो ऐतिहासिक चुनावमा प्रदेश तहको विकाससँगै उनले आफ्ना एजेण्डाहरु सडकको समस्या, पिउने पानी, व्यवस्थित ढल निकास, फोहोर व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक पुनर्निर्माण, धोवी खोला प्रदूषणमुक्त, विद्युत्को काम लगायतका क्षेत्रमा आफू सशक्त रुपमा लागिपर्ने लगायतका छन् । यसमध्ये पनि उनी सडक, पानी र बत्तीको काम सँगसँगै लाने बताउँछन् । वि.सं. २०२३ मा काठमाडौंमै जन्मिएका कार्की भन्छन्, ‘विकास निर्माणको काम देश र संरचनाले माग गरेअनुसार गर्ने हो ।” स्थानीयको समस्या बुझ्ने नेता नभएको कारण आफू स्थानीयबासीका समस्या समाधानमा हातेमालो गर्नकै लागि चुनावी प्रतिस्पर्धामा होमिएको दाबी गर्छन् उनी ।

सरकारै नटिक्दा समस्या

सरकार लामो समयसम्म नटिकेकै कारण देशले विकासमा गति लिन नसकेको उनको बुझाइ छ । सरकारको आयु छोटो हुँदा जनताको समस्या बुझ्ने मौका नहुने भएकाले आफ्नो कार्यकालमा कुनै पनि सरकारलाई अवरोध आउन नहुने बताउँछन् उनी । यसका लागि कम्तीमा पनि पाँच वर्षसम्म सरकार टिक्ने वातावरण बनाउनुपर्ने उनको राय छ । यदि यसो भए  मात्र जनताका कथाव्यथा सरकारले राम्रोसँग सुन्न र समाधान गर्नसक्ने कार्की बताउँछन् । बहुमत आउँदा मात्र सरकारले विकास गर्नसक्ने मानसिकता बोकेका यी उम्मेदवार स्थायित्व, समृद्धि, दिगो विकास र अधिकारसम्पन्न जनता नै देशविकासको मेरुदण्ड भएको उनको भनाइ छ । यसका लागि पार्टी÷गठबन्धनको बहुमत आउनैपर्ने बताउँछन् कार्की ।

सहरको स्वरुप परिवर्तन गर्छु

प्रदेश तहमा उम्मेदवारी दिएका कार्की आफूले जिते सहरमा नयाँ बस्ती बसाल्ने क्रममा जथाभावी थालिएको बस्तीको व्यवस्थापन गर्न पहिल गरिहाल्ने बताउँछन् । उनका अनुसार  अब बन्ने सहरहरु योजनाबद्ध र व्यवस्थित हुनुपर्छ । जसका लागि काम गर्ने उनको भनाइ छ । खेतीयोग्य जमिनको प्लटिंग रोक्ने र अव्यवस्थित निर्माणलाई नियमन गर्नसके काठमाडौंलाई सुन्दर पार्न सकिने उनको आशा छ ।

जित्ने आधार धेरै छन्

घरदैलो र चुनावी प्रचारप्रसारमा होमिएका कार्की वाम गठबन्धनले नै जित्ने आधारहरु धेरै रहेको बताउँछन् । गत वैशाख ३१ मा भएको निर्वाचनको आधार भनेकै सुदृढ संगठन, वाम गठबन्धन र हिजो खसेको मत, वाम गठबन्धनले दिएको सन्देश तथा आफूले विकास निर्माणको लागि चाल्ने हरेक कदम भएको उनको विश्वास छ ।

त्यस्तै अर्को भनेको राजनीतिप्रति आम मानिसको धारणा नकारात्मक भएकाले त्यस्तो धारणा हटाउन आफू सक्षम हुने दाबी गर्छन् । यसका लागि आफूले आजैबाट काम थाल्ने बताउँदै उनी भन्छन्, ‘राजनीतिप्रतिको नकारात्मक धारणा हटाउन आजैबाट काम थाल्नेछु, अहिले घरघर पुगेर कुरा गर्दै छु, बुझाउँदै छु विजय प्राप्त भएपछि काम गरेर, विकास निर्माणको काम गरेर, जनताको समस्यामा सहयात्री बनेर सहयोग गरी सकारात्मक परिवर्तन ल्याउनेछु ।’

जितेपछि फर्केर नहेर्ने प्रवृत्ति देख्दा दुःख लाग्छ

सर्वसाधारण जनतालाई जस्तै उनलाई पनि नेताहरुको भोट माग्ने र जितेपछि फर्केर नहेर्ने प्रवृत्ति देख्दा दुःख लाग्छ । मुखले मात्र हैन कामले गरेर देखाउने अवसर पनि हो चुनावको जित । त्यसैले उनी चुनावमा जिते गरेर देखाइदिने बताउँछन् ।

प्रतिबद्धता

निर्वाचित भएपछि सुरुमा नै प्रतिबद्धता पूरा गर्ने लाग्ने उनको ध्येय छ । अरु नेताभन्दा फरक किसिमको राजनीति गर्ने दाबी गर्दै उनी भन्छन्, ‘आफू नागरिकको बीचमा जाने, छलफल गर्ने र सकारात्मक प्रभाव पार्नेछु ।’ व्यवस्थित र योजनाबद्ध सहर निर्माणमा ध्यान दिने बताउने उनको बाँकी लक्ष्य भनेको समृद्धि, उद्योग विस्तार, रोजगारी सृजना, युवाको वैदेशिक पलायन रोक्न तथा महिलालाई आर्थिक उन्नतिमा ल्याउन विशेष योगदान गर्ने लक्ष्य छ ।

(कार्कीसँग खरीबोट डटकमकी कविता घिमिरेले गरेको कुराकानीमा आधारित ।)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै