• २०८१ बैशाख १३ बिहीबार

पहिलो आवश्यकता अस्थायी ल्याण्डफिल साइट : काठमाडौँ महानगरपालिका

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केन्द्र सरकारलाई अस्थायी ल्याण्डफिल साइट निर्माण गरिदिनका लागि अनुरोध गर्ने भएको छ । 

तेह्र वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर थुपारिँदै आएको नुवाकोटस्थित सिसडोलमा अब बढीमा छ महिनासम्म मात्र फोहर राख्न सकिने भएकाले तत्काल अर्को स्थान तय गर्नुपर्ने भएकाले केन्द्र सरकारसँग यस किसिमको माग गर्ने भएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । 

अघिल्लो शुक्रबार काठमाडौँ उपत्यकाका १८ नगरपालिकाका प्रमुखको बैठकले दीर्घकालीन ल्याण्डफिल साइटभन्दा पहिले अस्थायी ल्याण्डफिल साइट निर्माण गर्न आवश्यक रहेको निष्कर्ष निकालेकाले यस किसिमको माग गर्ने जनाएका हुन् । 

सरकारले विसं २०५२ देखि नै दीर्घकालीन ल्याण्डफिल साइट निर्माण गर्ने भन्दै हाल फोहर व्यवस्थापन गरिएको स्थानभन्दा दुई किमी पर बञ्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा लिइसकेको छ । 

केन्द्र सरकार र कामपाले बञ्चरे डाँडालाई नै स्थायीरुपमा फोहर संकलन गर्ने स्थान बनाउने बताए पनि काम अघिबढ्न सकेको छैन । कामपाले फोहर व्यवस्थापन गर्ने स्थान केन्द्र सरकारले व्यवस्था गर्नुपर्ने, कि त बजेटसहित स्थानीय सरकारलाई निर्माणको जिम्मा दिनुपर्ने माग राख्दै आएको छ । 

काम अघि नबढेकाले बञ्चरेडाँडामा कहिलेदेखि फोहर संकलन गर्न पाइने कुरा यकिन नभएकाले हालका लागि अस्थायी फोहर राख्ने स्थान अत्यावश्यक रहेको कामपाको भनाइ छ । 

उपत्यकाका १८ नगरपालिकामध्ये १२ नगरपालिकाको फोहर सिसडोलमा फाल्ने गरिएको छ । हरेक दिन काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर सिसडोल लाने गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै