• २०८१ बैशाख ६ बिहीबार

लिफ्ट प्रविधिको सिँचाइ आयोजना निर्माण

kharibot

बाबियाचौर । बेनी नगरपालिका– २ खबरामा जिल्लामै पहिलो पटक ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । 

तरकारी खेतीको पकेट क्षेत्र खबरामा लिफ्ट प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पुर्याइएको हो । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले नयाँ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो । 

नदी किनारमा इनार खन्ने, पाइप गाड्ने, पोखरी बनाउने र उपकरण खरिद गर्ने काम सकिसकेको यो आयोजना यसै महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए । 

नदी किनारमा बनाइएको इनारबाट २५० मिटर उचाइमा रहेको लभ्लीहिलमा निर्माण भएको रिजर्भ ट्यांकीमा पुर्याइएको हो । योजनाको पूर्वाधार निर्माण र उपकरण खरिदमा हालसम्म रु एघार लाख खर्च भइसकेको छ । 

जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु दश लाख अनुदान उपलब्ध गराएको थियो । इनारभित्र पसेको बालुवा फालेर आयोजना सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष कार्कीले बताए । 

मर्मत गरी सञ्चालनमा ल्याउन थप रु ५० खर्च हुने अनुमान गरिएको छ । योजनाबाट ४० घरधुरी कृषक लाभान्वित हुने जनाइएको छ । नदी किनारदेखि पाँचसय मिटर लामो ६३ मिलिमिटरको पाइपबाट प्रतिघण्टा १२ देखि १८ हजार लिटर पानी तान्ने क्षमताको समसिवल वेल पम्प जडान गरिएको छ । 

उक्त पम्प विद्युत्को सहायताले चल्ने जनाइएको छ । लभ्लीहिल, पिपलडाँडा, सिम्लेधारा र दारीम्बोटमा नदीबाट तान्ने पानी संकलन गर्ने पोखरी निर्माण भएको छ । लभ्लीहिलमा संकलन हुने पानी अर्को पम्पबाट पिपलडाँडा, सिम्लेधारा र दारीम्बोटमा पुर्याउने योजना समेत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै