• २०८१ बैशाख १३ बिहीबार

इलाम नगरपालिकामा गुफा फेला परेपछ हेर्न जानेको भीड

kharibot

मंगलबारे । इलाम नगरपालिका–६ मा गुफा फेला परेको छ । ओढारे भालुढुंगा सामुदायिक वन क्षेत्रमा सो गुफा पत्ता लागेको हो । भालुढुंगा ओढारकै सामुन्नेबाट २० मिटर पश्चिमतर्फको पहरामुनि सो गुफा भेटिएको हो । 

ओपिधारा–चियाबारी–भालुढुंगा क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका पदाधिकारीले भालुढुंगा क्षेत्रमा पर्यटकीय विकासका लागि थप सम्भावना खोज्ने क्रममा भालुढुंगाकै पहरामा गुफा फेला पारेको अध्यक्ष हरि गुरुङले बताए । 

समितिकै सचिव डम्बर गुरुङ र समितिका पदाधिकारी अर्जुन कँडेल गुफाभित्र छिरेर बाहिरिएपछि प्रतिक्रिया दिँदै गुरुङले भने, अर्को एउटा गुफा पत्ता लागेको छ, यहाँको पर्यटन विकासमा यसले सेतुको काम गर्नेमा म विश्वस्त छु ।’ सो गुफाको हालसम्म नामाकरण गरिएको छैन । ओढारे भालुढुंगा झौ नयाँ गुफाभित्र पस्ने द्वार सानो भए पनि भित्र पुगेपछि उभिन र हिँड्डुल गर्न सकिने ठाउँ छ । 

गुफाको २० मिटरभित्रसम्म आफूहरु प्रवेश गरेको जानकारी दिँदै कँडेलले भने, ‘त्यहाँ भुइँचालो वा केही कारणले बीचमा ढुंगा खसेकाले बाटो छेकिएको रहेछ । हामी समिति लागि परेर केही समयमा नै त्यो बाधा पन्छाउने सोचमा छौँ ।’

समितिका सदस्य तोया ढकालले गुफाभित्र अत्यधिक सङ्ख्यामा चमेरा भेटिएको बताए । भालुढुंगा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि हरि गुरुङको नेतृत्वमा सो क्षेत्रमा काम हुन थालेपछि हाल दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रने गरेका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै