• २०८१ बैशाख ८ शनिबार

मोरङमा  ११ महिला चुनावी प्रतिस्पर्धामा

kharibot

विराटनगर । मोरङमा दश प्रतिशत भन्दा पनि कम महिला चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधि र प्रदेश सभा गरी उठेका १६९ उम्मेदवारमध्ये ११ जना मात्रै महिला छन् । 

छवटा संसदीय क्षेत्र रहेको मोरङमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मात्र तीन महिला चुनावी प्रतिस्पर्धामा देखिएका छन् । प्रतिनिधि सभाका लागि ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

छवटा संसदीय क्षेत्रमध्ये प्रतिनिधि सभाका लागि क्षेत्र नं २, ५ र ६ बाट मात्र महिला उठेको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 

तीमध्ये मोरङको क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारको रुपमा कल्पना विमली उठेकी छिन् । त्यस क्षेत्रका १२ उम्मेदवारमध्ये उनी एक्लो महिला हुन् । 

त्यस्तै, क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारको रुपमा अनिताकुमारी ढकाल देखिएकी छन् । त्यस क्षेत्रबाट सातजना चुनावी प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं ६ बाट नयाँशक्ति पार्टीका विमला अर्याल चुनावी मैदानमा छन् । त्यस क्षेत्रबाट १० जना चुनावी मैदानमा देखिएका छन् । प्रतिनिधि सभाका लागि नयाँ शक्ति पार्टीले मात्र यहाँ महिला उम्मेदवारलाई उठाएको छ । 

मोरङमा प्रदेश सभाअन्तर्गत १२ वटा क्षेत्र रहेको भए पनि मात्र आठ महिला चुनावी प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं १ ‘क’बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती र ‘ख’ बाट राजपाका शशी राई छन् भने क्षेत्र नं २ ‘ख’ बाट एकीकृत राप्रपा राष्ट्रवादीबाट गोमा कार्की चुनावी प्रतिस्पर्धामा छिन् । क्षेत्र नं ३ ‘क’बाट नेकपा माओवादीकेन्द्र का गीता तिम्सिना र क्षेत्र नं ४ ‘क’ बाट एकीकृत राप्रपा राष्ट्रवादी का रुपादेवी राजवंशी छन् । 

क्षेत्र नं ५ ‘ख’बाट स्वतन्त्र रुपमा जसवी मण्डल पनि निर्वाचनमा होमिएकी छन् । क्षेत्र नं ६ ‘क’ बाट संघीय समाजवादी फोरमबाट नीरा भगत र ‘ख’ बाट मंगोल नेशनल अर्गनाइजेशनबाट लालकुमारी राई चुनावी प्रतिस्पर्धामा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै