• २०८१ बैशाख ११ मंगलबार

अक्टोबर क्रान्तिको सयौँ वर्षगाँठ : यसरी सुरु भयो विश्वमै पहिलोपटक मार्क्सवादी शासनसत्ता

kharibot

फाइल तस्बिर

सन् १९१७ को रुसी क्रान्ति फेब्रुअरी क्रान्ति र अक्टोबर क्रान्ति गरी दुई चरणमा भएको थियो । फेब्रुअरी क्रान्तिले रुसमा जारको शासनकालको अन्त्य भएको थियो भने बोल्सेभिक पार्टीको नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्तिले रुसमा माक्र्सवादी राज्यको स्थापना गरेको थियो जसको नेतृत्व भ्लादिमिर लेनिनले गरेका थिए । तत्कालीन परिस्थितिमा रुसमा यी यी कारणहरुले दुई ठूला क्रान्ति सफल बनाउन मुख्य भूमिका निर्वाह गरेका थिए ।

सामाजिक कारण

रुसमा त्यतिबेला किसानको अवस्था एकदमै दयनीय थियो । धनी जमिनदारले उनीहरुको शोषण गर्ने गर्थे । विना काम नै जमिनदारहरु धेरै मुनाफा लिन्थे । यद्यपि रुस युरोपभन्दा औद्योगीकरणमा पछाडि चाहिँ थिएन तर त्यहाँ काम गर्ने मानिसको अवस्था भने गतिलो थिएन । लामो समय काम गरे पनि त्यसबापत निकै कम पारिश्रमिक मिल्थ्यो । यसले मानिसहरुमा असन्तोष जगाइदिएको थियो ।

रक्तरञ्जित आइतबार

२०औँ शताब्दीको पहिलो दशकमा रुसका मानिसहरु जार निकोलस द्वितीयको निरंकुश शासनबाट धेरै नै निराश थिए । २२ जनवरी १९०५ को आइतबारका दिन निहत्था प्रदर्शनकारीहरुको एउटा समूह निकोलस द्वितीयलाई ज्ञापन पत्र बुझाउन सेन्ट पिटर्सबर्गमा रहेको विन्टर प्यालेसको नजिकै पुग्नै लागेका थिए । प्रदर्शनकारी निकोलसलाई श्रमिकहरुको समस्याबारे अवगत गराउन चाहन्थे । तर निकोलसले उनीहरुको आवाज सुन्नुको साटो सैनिक लगाएर अन्धाधुन्ध गोली चलाए त्यसमा धेरै मानिस हताहती भए । उक्त दिनलाई रक्तरञ्जित आइतबारको नाममा पनि स्मरण गरिन्छ । यो घटनापछि रुसमा मानिसहरु जार शासकप्रति निकै असन्तुष्ट र क्रोधित भए जसले क्रान्तिको आधार तय गरिदियो ।

निकोलस द्वितीयको निकम्मा नेतृत्व

निकोलस द्वितीयले १९०५ को क्रान्तिपछि संवैधानिक सुधार गर्ने आदेश दिए र पहिलोपटक आफ्नो निरंकुश शासनमा संसदलाई साझेदार बनाउन सहमति जनाए । तर पछि उनले आफ्नो सहयोगी नै नभएपछि पहिले नै दुई संसद खारेज गरिदिए ।  यसबाहेक तयारी नहुँदा पहिलो विश्वयुद्धमा रुसलाई नोक्सान पुगेपछि मानिसहरुले निकोलस द्वितीयलाई नै यसको जिम्मेवार मान्न थाले र जारको शासनमाथि मानिसहरुको असन्तोष क्रान्तिको रुपमा पोखियो ।

पहिलो विश्वयुद्ध

पहिलो विश्वयुद्धको कारण रुसको आर्थिक र राजनीतिक स्थिति निकै खराब भयो । युद्धमा भएको धेरै क्षति विद्रोहको कारण बन्यो । सैनिकहरु भोकै रहनथाले । खाद्यान्नको आपूर्ति पनि रोकियो भने स्थिति निकै दयनीय बन्यो । रुसमा खाद्यान्न कमीले विकराल संकटको रुपधारण गर्यो । युद्धको लागि सरकारले लाखौँ रुबेल नोटहरु छाप्यो । जसले गर्दा १९१७ मा वस्तुको मूल्य धेरै वृद्धि भयो । यी सबैबाट पनि मानिसमा असन्तुष्टि थामिएन र उनीहरु अघि बढे । यही प्रकारले पहिलो विश्वयुद्धले रुसी क्रान्तिको लागि मद्दत गर्यो ।

फेब्रुअरी क्रान्ति

जारको निरंकुश शासन र भ्रष्टाचारलाई लिएर उत्पन्न असन्तोषको कारण पहिलो रुसी क्रान्ति १९१७ फेब्रुअरीमा भयो । पहिलो सबैभन्दा ठूलो आन्दोलन २२ फेब्रुअरी १९१७ मा भयो जब पेट्रग्राडमा रहेको ठूलो औद्योगिक संयन्त्रका कामदारहरुले सरकारविरुद्ध आन्दोलनको घोषणा गरे ।

जारको निरंकुश शासनको अन्त्य

२६ फेब्रुअरीमा निकोलसले विद्रोह गर्न आएकाविरुद्ध सेनालाई दमन गर्न आदेश दिए । २७ फेब्रुअरीमा ६० हजार सैनिक क्रान्तिमा सामेल भए र रुसको राजधानीमा क्रान्तिकारीहरुले कब्जा गर्न सफल भए । २ मार्चमा निकोलसलाई पद छोड्न बाध्य पारियो । यसबाट रुसमा जारको निरंकुश शासनको अन्त्य भयो ।

द्विशक्तिसंघर्ष

३ मार्चमा जार निकोलसको शासनको अन्त्यपछि रुसको संसदले प्रोभिजनल सरकार गठन गर्यो । चार दिनपहिले पेट्रग्राड सोभियतको गठन भयो जुन सहरको कामदार र सैनिकको प्रतिनिधित्व गर्दथ्यो । फेब्रुअरी क्रान्तिपछि मार्चबाट अक्टोबरको बीचमा सत्तालाई लिएर पेट्रग्राड सोभियत र प्रोभिजनल सरकारबीच खिचातानी सुरु भयो । तर सोभियतको सत्तामा बलियो पकड थियो । सोभियतले सेनालाई आफ्नो आदेश मात्रै मान्न बाध्य बनायो । प्रोभिजनल सरकार सोभियतको यो आदेशलाई खारेज गराउन असमर्थ रह्यो । एकतरहले भन्नुपर्दा सोभियत पेट्रग्राड सत्तामा हावी भयो ।

पेट्रग्राड सोभियतको वर्चस्व

प्रोभिजनल सरकारमा अलेक्जेन्डर क्यारेन्सकी भन्ने एक जना थिए पछि उनी नै यसका नेता बने । उनले पहिलो विश्व युद्धमा रुसको प्रयासलाई जारी राख्ने फैसला लिए तर मानिसहरुले भने यसलाई अप्रिय कदमका रुपमा लिए । क्यारेन्सकी राजनीतिक र आर्थिक समस्या हटाउन पनि असफल रहे । यस्तो अवस्थामा पेट्रग्राड सोभियतको वर्चस्व बढ्यो । किनभने उनी आम मानिससँग जोडिएका थिए भने युद्धबाट रुसलाई हटाउने पक्षपाती पनि भए । यही प्रकारले पेट्रग्राड सोभियतभित्र बोल्सेभिकको प्रभाव बढ्यो । बोल्सेभिक (बहुसंख्यक) माक्र्सवादी रुसी सामाजिक लोकतान्त्रिक लेबर पार्टीको एउटा गुट थियो जसले १९१२ मा कम्युनिष्ट पार्टी अफ सोभियत युनियन (सीपीएसयू)को स्थापना गरेको थियो । बोल्सेभिकको नेतृत्व प्रसिद्ध रुसी कम्युनिष्ट भ्लादिमिर लेनिनले गरे । अप्रिलमा निर्वासनबाट उनको फिर्तीपछि रुसमा बोल्सेभिकको लोकप्रियता पनि बढ्यो ।

बोल्सेभिकको नेतृत्वमा अक्टोबर क्रान्ति

सन् १९१७ मा दोस्रो रुसी क्रान्ति अर्थात् अक्टोबर क्रान्तिको नेतृत्व भ्लादिमिर लेनिनले गरे जसको विचार कार्ल माक्र्सबाट प्रभावित थियो । फेब्रुअरी क्रान्तिको तुलनामा अक्टोबर क्रान्ति योजनाबद्ध तरिकामा गरिएको थियो । २४, २५ अक्टोबर (६, ७ नोभेम्बर)मा लेनिनको नेतृत्वमा वामपन्थी क्रान्तिकारीले प्रोभिजनल गभर्नमेन्टविरुद्ध आन्दोलन गरे । बोल्सेभिकले सरकारी भवन, टेलिग्राफ स्टेसन र अन्य महत्वपूर्ण स्थानमा कब्जा जमाए । चाँडै नै नयाँ सरकारको गठन भयो र त्यसको नेतृत्वकर्ता बने लेनिन ।

जनयुद्ध

यो क्रान्तिपछि विश्वमै पहिलोपटक माक्र्सवादी शासनसत्ताको स्थापना भयो । जुलाई १९१८ मा बोल्सेभिकले जार निकोलस द्वितीय र उनकी पत्नीसहित पाँच बच्चालाई फाँसी दियो । क्रान्ति त भयो तर त्यसपछि रुसमा जनयुद्ध अर्को समस्याका रुपमा देखा पर्यो । जनयुद्ध त्यहाँको रेड आर्मी र ह्वाइट आर्मीबीच चलेको थियो । रेड आर्मी बोल्सेभिकको तर्फबाट समाजवादको लागि लडिरहेको थियो भने ह्वाइट आर्मी समाजवादको विक्लपको रुपमा पुँजीवाद, राजशाहीको लागि लडिरहेको थियो । १९२० मा बोल्सेभिक विरोधीलाई हराएर १९२२ मा युनियन अफ सोभियत सोसलिष्ट रिपब्लिक्स (यूएसएसआर)को स्थापना भयो ।

  • नवभारत टाइम्सबाट अनुदित । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै