• २०८१ बैशाख ७ शुक्रबार

आचारसंहिता पालना गर्न मोरङमा सर्वदलीय बैठक

kharibot

विराटनगर / मोरङ जिल्लामा रहेको मतदानस्थलमा मतदान कार्यमा सहजता ल्याउन आवश्यक भौतिक सामग्री व्यवस्था गर्न तथा आचारसंहिता पालना गर्न आज यहाँ आयोजित सर्वदलीय बैठकले सहमति जनाएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयद्वारा आयोजित सर्वदलीय बैठकले सहभागी राजनीतिक दलका प्रतिनिधिले छोटो दिन भएकाले बत्ती व्यवस्था गर्न, मतदानस्थलमा आवश्यक टेण्ट तथा फर्निचरको व्यवस्था गर्न र विद्यालयमा थुपारिएका निर्माण सामग्री हटाउन स्थानीय निकायलाई आग्रह गर्ने भएको छ ।

यस्तै कतिपय सामुदायिक विद्यालयको मतदानस्थल ज्यादै नै साँघुरो भएकाले सोही स्थललाई केन्द्र मानी नजिकै केन्द्र थप गर्नका लागि निर्वाचन कार्यालयले केन्द्रमा पत्राचार गर्ने भएको छ ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले राजनीतिक दलले संवेदनशील मतदान स्थानमा स्वच्छ, स्वतन्त्र र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले आचारसंहिता पालना गर्न आग्रह गर्दै स्थानीय प्रशासन मतदान कार्य भयरहित वातावरण सम्पन्न गर्न आफूले सुरक्षाको प्रत्याभूति दिने दृढता व्यक्त गरे ।

सर्वदलीय बैठकमा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले विभिन्न राजनीतिक दलका प्रतिनिधिको स्थानीय पत्रपत्रिकामा प्रकाशित हुने समाचारको समेत अनुगमन गर्नुपर्नेमा जोड दिए ।

निर्वाचन – पत्रकार प्रशिक्षण

क्षेत्रीय निर्वाचन कार्यालयले प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचन–२०७४ निर्वाचन र संचार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण शुभारम्भ गर्दै कार्यालय प्रमुख सञ्जेलले निर्वाचनमा खटिने कर्मचारी दलप्रति आबद्ध भएर काम गरेमा कारबाही गरिने बताए ।

उनले गत असारमा भएको स्थानीय तह निर्वाचनमा भएको कमी कमजोरीलाई सुधार गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलले पत्रकारले आचारसंहिताको पालना गर्दै सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गरे । प्रशिक्षणमा मोरङ जिल्लामा कार्यरत ६० पत्रकारको सहभागिता थियो ।

मतदान र मतगणना प्रशिक्षण

आगामी मंसिर १० र २१ गते हुन लागेको संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान प्रक्रिया र मतगणनालाई सहज र सरलरूपमा सम्पन्न गराउन क्षेत्रीय प्रशिक्षक प्रशिक्षण गरिएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरद्वारा आयोजित दुई दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागीलाई तीन मतपत्र चार छाप, मतदान प्रक्रिया, मतदानस्थल व्यवस्थापन, मतगणनाको तरिकाबारे प्रशिक्षण दिइनेछ ।

प्रशिक्षकले सम्बन्धित जिल्लामा गएर मतदान अधिकृत र मतगणना अधिकारीलाई प्रशिक्षण दिएपछि निर्वाचनका लागि मतदानस्थल जानेछन् । मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सजिलो र सहज निर्वाचन प्रक्रिया अपनाए मात्र निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने बताए । उनले मतदान सामग्री व्यवस्थापन र मतदाता शिक्षालाई प्रभावकारी बनाउनुका साथै मतगणनालाई छिटो छरितो सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रशिक्षणमा एक नम्बर ११ र दुई नम्बर प्रदेशको सप्तरी गरी १२ जिल्लाका ६१ प्रशिक्षक प्रशिक्षार्थी सहभागी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै