• २०८१ बैशाख ७ शुक्रबार

हात्ती र मान्छेको द्वन्द्व कहिलेसम्म, झापामा पाँचबर्षमा २४ जनाको गयो ज्यान

kharibot

फाइल तस्बिर

काँकडभिट्टा ।  पाँच वर्षयता जंगली हात्तीको आक्रमणबाट झापामा २४ जनाको मृत्यु गएको छ । 

जिल्ला वन कार्यालयमा रहेको तथ्यांकअनुसार २०६९ सालयता मारिने आधाभन्दा बढी दक्षिण झापाकै छन् । भारतसँग सीमा जोडिएको उत्तरी झापाको बाहुनडाँगीलाई हात्तीपीडित क्षेत्र’ मानिदै आए पनि पाँच वर्षमा यस्तो पीडा दक्षिण झापातिर सरेको छ । 

पृथ्वीनगर क्षेत्र त हात्तीको क्रिडास्थलजस्तै बन्न पुगेको स्थानीयवासीको भनाइ छ । जिल्लाभरमा मृत्यु भएकामध्ये १२ जना दक्षिण झापा, ११ जना उत्तरी झापाका र एक जना माइपश्चिम क्षेत्रका छन् । पाँच वर्षका अवधिमा पृथ्वीनगर (हाल भद्रपुर) क्षेत्रका मात्रै छ जना हात्तीको आक्रमणमा मारिएका छन् । सो अवधिमा बाहुनडाँगीमा तीन जना मारिएको जिल्ला वन कार्यालयले जनाएको छ । 

हात्ती आक्रमणबाट ज्यान गुमाउनेमा ज्ञानबहादुर चाम्लिङ र मंगलवीर तामाङ दवीकुमार राई पृथ्वीनगर, बजारी राजवंशी बालुबाडी, भवानीप्रसाद घिमिरे बनियानी, झुमादेवी भट्टराई शरणामति, जयनारारायण अधिकारी गरामनी, बालमाया लिम्बू र शर्मिला लिम्बू दुर्गा कटुवाल भद्रपुर, रतिलाल मेचे हल्दिबारी, मनराज केरुङ कचनकवल, गणेशबहादुर भुसाल र लक्ष्मीप्रसाद पौडेल बुधबारे, शुक्र कवर धाइजन, असली राई, लक्ष्मी रम्तेल र मनोहरि ढुंगेलबाहुनडाँगी, गोपीलाल विक शान्तिनगर, कृष्णमाया रानामगर बुधबारे, धनबहादुर राई शान्तिनगर, रामचन्द्र बोगटी अर्जुनधारा, डम्बरबहादुर कुँवर मेचीनगर र धनमाया कार्की दमक छन् । 

जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले भारतीय बथानसँग वर्षांैदेखि छुट्टिएर करिब १३ जंगली हात्ती दक्षिण झापाको जलथल जंगलमा बस्दै आएको बताउनुभयो । तिनै हात्ती राति चरनका लागि गाउँ पस्दा मानवीय क्षति हुने गरेको उहाँको भनाइ छ । अधिकांश रैथाने हात्ती जलथलमा बस्ने गरेको र केही निचाझोडा तथा दहीझोडातिर घुम्ने गरेको स्थानीयवासी बताउँछन् । 

दिनभरी जंगलको झाडीमा लुकेर बस्ने ती हात्ती साँझ पर्नासाथ आहारको खोजीमा पाखा निस्कन्छन् र स्थानीयवासीको खेत र घरभित्र घुसेर जे भेट्यो त्यही खाइदिन्छन् । पाकेर झुलेको धान, मकै र फलफूल हात्तीले मन पराउने आहारा हुन् । जंगल छेउछाउका बासिन्दाले फलाएको बाली हात्तीका लागि आहार बन्ने गरेको छ । वर्षभरिको मेहनतको कमाइका रुपमा रहेको अन्नबाली खान आएको हात्तीलाई लखेट्दा मानिसमाथि हात्तीले आक्रमण गर्दैआएको छ । मान्छे र हात्तीबीचको यही द्वन्द्वमा कहिले हात्ती र कहिले मानिस मारिने गरेका छन् । 

हतियार छ, तालीम छैन 

वनको सुरक्षाका लागि सरकारले परिचालन गरेको सशस्त्र वन रक्षकलाई हाल जंगली हात्ती धपाउन प्रयोग गरिँदै आएको छ । गोलीगठ्ठा भए पनि हात्ती धपाउने तालीम नभएका वन रक्षकले गाउँ पसेका हात्तीलाई परम्परागत तरिकाले जंगलतिर धपाउने गरेका छन् । हात्ती गाउँ पसेको खबर आउनासाथ तत्काल सो गाउँमा जाने गरेका वन रक्षकले गाउँलेलाई जोगाउँदै हात्तीलाई जंगलतिरै फर्काउन प्रयास गर्दैआएका छन् । 

“हाम्रा वन रक्षक पुगिसकेपछि मानवीय क्षति हुने गरेको छैन”, सहायक वन अधिकृत देवेन्द्र उप्रेती भन्नुहुन्छ, “किनकि वन रक्षकले गाउँलेलाई सुरक्षित रहन सल्लाह दिन्छन् र हात्तीलाई जंगलतिरै फर्काउन भरमजदुर प्रयास गर्छन् ।” हतियार साथमा भए पनि हात्तीलाई गोली हान्ने स्वविवेकीय अधिकार भने वन रक्षकलाई दिइएको छैन । वन रक्षकले साइरन बजाएर हात्तीलाई धपाउने गर्छन् भने गाउँलेलाई हात्ती नजिक पुग्नबाट रोक्छन् । यो तरिका परम्परागत शैलीकै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै