• २०८१ बैशाख ७ शुक्रबार

चितनवमा गोदावरी विमर्श

kharibot

चितवन । कविडाँडा साहित्य समाजको आयोजना तथा चितवन साहित्य परिषद्को आतित्थमा भरतपुरमा महेश पौड्यालको पछिल्लो कथासंग्रह “त्यसपछि फुलेन गोदावरी” माथि कार्तिक १८ गते विमर्श भएको छ ।

चितवन साहित्य परिषद्को भवनमा आयोजित उक्त कार्यक्रममा अग्रज आख्यानकार रामबाबु घिमिरे प्रमुख अतिथि तथा चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष साहित्यकार एवं समाजसेवी अच्युत वाग्ले विशेष अतिथि हुनुहुन्थ्यो ।

पुस्तकमाथि बोल्दै आख्यानकार अनुपम रोशीले महेशका कथाले मान्छेको भावना र मनोविज्ञानको पक्षलाई सुन्दर ढङ्गले उजागर गरेको बताइन् । बालबालिका, महिला तथा एक्ला पात्रहरूमार्फत पौड्यालले नेपाली धरातलबाट कारुणिक कथाहरू टिपेको टिप्पणी उनले गरिन् । अर्का आख्यानकार प्रा. डा. हरिहर पौडेलले पौड्यालको आख्यान शिल्पको प्रशंसा गर्दै उनले आगामि दिनमा पारम्परिक विषयभन्दा बद्लिएको समयका नवीन कथानक उठाउँदा राम्रोे हुने सल्लाह दिए । 

प्रमुख अतिथि रामबाबु घिमिरेले पौड्यालका कथा पश्चिमको विसङ्गतिवाद तथा पूर्वको शून्यवादबाट प्रभावित भएकोले मृत्युकेन्द्रित हुन पुगेको टिप्पणी गरे । सभापतिको रूपमा बोल्दै कथाकार तथा कवि एलबी छेत्रीले पौड्याल समालोचक पनि भएका हुँदा उनको कथामा सामाजिक विसङ्गतिप्रतिको आलोचना प्रकृतिक रूपमा आएको टिप्पणी गरे । कार्यक्रममा श्रष्टाहरू सुरेन्द्र अस्तफल, ईश्वर कँडेल, रमेश प्रभात, उदय अधिकारी तथा दिनेश पौडेलले पनि कृतिमाथि आफ्ना अवधारणा राखेका थिए । 

अग्रज श्रष्टा प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, डा. लकाश पौडेल, डा. एकनारायण पौडेल, भूपिन, पुष्प अधिकारी अञ्जली, बालकृष्ण थपलिया, गणेश श्रमण, द्वारिका नेपाल, अजिता अधिकारी, लेखराम सापकोटा, महेश क्षितिज, शरद ऋतुजस्ता लोकप्रिय सर्जकहरूको पनि उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै