• २०८१ बैशाख ७ शुक्रबार

बाम गठबन्धनले प्युठानी जनतामाथी गरेको एउटा भद्दा मजाक !

kharibot

आस्थाको राजनीतिको लागी हजारौं बर्ष संघर्ष भएको छ र फेरी पनि हजारौं बर्ष संघर्ष हुनेछ । जमिन जोत्नेको र घर पोत्नेको हुन्छ भन्ने राजनीतिक सोंचका साथ बामपन्थी राजनीतिमा होमिएकाहरु मेहनत गरेर सबै नागरिकलाई गास बास कपासको ग्यारेण्टी र त्यस्ता नागरिक माथी प्रताडित गर्ने, शोषण गर्ने राज्य शत्ता बिरुद्धको लंडाइ गरेर शोषित पीडित मानिसलाई संगठित गरेर शासनमा पुराउन सकिन्छ भन्ने सोंचका साथ लागेका हुन ।

समानता र समतामुलक राज्य निर्माण गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै संघर्षमा होमिएका हुन । श्रमजीबि जनताको मुक्तिका लागी र सहज जीवनयापनका लागी लाग्न प्रेरित गर्नेहरु आफ्नाका लागी मरिहत्ते गर्न थाले पछि आस्थाको राजनीति धरापमा परेको महशुस गरिरहेका छन  ।

आगामी मंसिर २१ गते हुन गैरहेको प्रतिनिधि सभाको संघीय निर्वाचनमा बाम तालमेलका नाममा प्युठानको सबालमा हुन लागेको गठबन्धनमा सबै खाले बामपन्थीहरुले यसलाई पचाउन सकिरहेका छैनन जसलाई निम्न बुँदाहरुले स्पष्ट गर्ने नै छ :

क) कम्युनिष्ट पार्टीभित्र आन्तरिक लोकतन्त्र हुन्छ भन्छन् तर आन्तरिक लोकतन्त्रको जरो समाते जस्तो पनि गर्ने र जनबादी केन्द्रीयताको नाममा पार्टी भित्र निरङकुशता लाद्ने हो भने इमानदार कार्यकर्ता त्यस्तो पार्टीको पछाडी लाग्नुको कुनै औचित्य नै रहँदैन । जब पार्टी भित्र निरङकुशता लादिन्छ तब केन्द्रिय नेतृत्वमा रहनेहरुले आफनो नजिकको परिवारको सदस्य, नाता सम्बन्ध र आफनो वरीपरी घुम्नेलाई नै नेतृत्व सुम्पने, लाभको पद दिने र तमाम कार्यकर्तालाई उनैको पुच्छर समायर बैतर्नी तराउन खोज्ने नियति बाहेक अरु देखिदैन जसको प्रमुख पात्रका रुपमा बर्तमान अबस्थामा प्युठानको हकमा ने क पा मसालका महामन्त्री मोहन बिक्रम सिंहकी कान्छी श्रीमती दुर्गा पौडेललाई हेर्न सकिन्छ । सिंहले बाम गठबन्धनको बैशाखी टेकेर आफ्नो निष्ठाको राजनीतिमा कालो पोत्ने गरि प्रतिनिधि सभाको सदस्यको रुपमा पौडेललाई अगाडी ल्याएर बामपन्थी आन्दोलनलाई शर्मनाक गर्ने गरी प्युठानी जनतामाथी एउटा भद्दा मजाक गरेका छन् ।

ख) राष्ट्रिय जनमोर्चाका तमाम कार्यकर्ताको मथिङ्गल चर्काउने गरी २०७० को निर्वाचन पछाडी दुर्गा पौडेललाई नै प्युठान जिल्लाको पात्रको रुपमा समानुपातिकको रुपमा प्युठानबाट प्रतिनिधित्व गराइयो जब कि यस जिल्लामा नै तमाम कार्यकर्ताहरु उनको अगाडी जिल्लाको प्रतिनिधित्व गराउन अयोग्य साबित गराइयो यसबाट जिल्लामा खारिएर बसेका तमाम कार्यकर्ताहरु निरिह बनेर टुलु टुलु हेर्ने बाहेक अरु हुन सकेन । 

ग) समानुपातिकबाट संबिधान सभा र व्यबस्थापिकाको सदस्य बनेकी माननीय ज्यूबाट यस अबधिमा यस जिल्लाले कुनै पनि प्रकारको लाभ पाउन सकेन र जिल्लाको समृद्धिको लागी उनले गरेका योगदानमूलक कार्य के हुन  त ? त्यसको जवाफ उनलाई प्रतिनिधित्व गराउने पार्टीले औंला भाँचेर भन्न सक्ने देखिदैन ।

घ) उनको अग्रसरतामा पर्यटनको सवालमा ओखरकोटलाई केन्द्रबिन्दु बनाएर एउटा गैह्रसरकारी संस्था गठन गरियो र त्यसलाई पर्यटकीय स्थल बनाउन खोजियो । बिगतमा तमाम कार्यकर्ताहरु एनजिओ र आइएनजिओमा आबद्ध भएकै कारण पटक पटक कारवाहीमा पर्नु र स्पष्टीकरण दिनाले आजित भएका हुन तर दुर्गा पौडेल संस्थापक रहने गरी गठन गरिएको र बैदेशिक सहयोग माग गर्ने उक्त गैह्र सरकारी संस्था राष्ट्रिय जनमोर्चाको लागी कसरी उचित हुन सक्दछ ? र आम कार्यकर्तामा कस्तो सन्देश दिन सक्ला ? यो पनि सोचनीय छ । 

ङ) बाम गठबन्धनकै नाममा दुर्गा पौडेललाई प्रतिनिधित्व गराउन अर्धभूमिगत रहेका महमन्त्री क. मोहन बिक्रम सिंह एमाले र माओवादी केन्द्रका नेताहरुसमक्ष लम्पसार पर्न जानुले उनमा रहेको बामपन्थी लफ्फाजी छर्लङ्ग नै देख्न सकिन्छ जसबाट आफनो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा देख्ने चरित्रको उजागर भएको छ । 

च) यदि दुर्गा पौडेल प्रतिनिधि सभामा निर्वाचित भइहालिन भने उनको व्यबस्थापीका संसदमा रहने भुमिका निकै गौण रहने निश्चित प्राय छ । हिजोका दिनमा सानो हैसियतमा रहेका जनता दल, परिवार दल जस्ता पार्टीले आफ्नो जिल्लामा कति सम्बृद्धि ल्याउन सके त्यसलाई हेरे पुग्नेछ, त्यसले नै देखाउछ, संसदमा हैसियत नपुग्दा जिल्लाको बिकासमा कति असर पर्छ भन्ने कुरा । 

छ)  मुलुकमा घटेका तमाम कुराहरुको हकमा एक जना प्रस्तावक, एकजना सर्मथक रहने गरी संसदमा टेबुल गर्नुपर्ने हुन्छ यस परिस्थितिमा बाम तालमेलमा जित्ने भनेको एउटा मात्र जनमोर्चाको प्रतिनिधि पात्र हुनेछिन यस अबस्थामा उनले प्रस्ताबक र सर्मथक खोज्दा एमाले र माओवादी केन्द्रका सदस्य वा तराई मुलका सदस्य वा नेपाली काँग्रेसलाई खोज्नु पर्ने हुन्छ यस अबस्थामा उनको एजेण्डा नै संसदमा दर्ज हुने देखिदैन भने उनलाई मत दिनुको औचित्य पनि देखिदैन भने अर्को तर्फ बिकासको कार्यमा केन्द्र र जिल्लाको सम्बन्ध नै कटौती भएर जानेछ ।

ज) बर्तमान अबस्थामा यस जिल्लामा जनमोर्चाका कार्यकर्ताको अबमुल्यन गर्दै बालापन देखि जनमोर्चाको राजनीति गर्दै आएका तमाम कार्यकर्ताको मनोबल गिराउने काम गर्दै दुर्गालाई उमेदवार सदस्य बनाउनुले पार्टी पारिवारिककरण हुन जाने र इमानदार कार्यकर्ताहरु सधै ओझेलमा पर्ने देखिएकोले पनि तमाम कार्यकर्ताहरुले यस प्रकारको निर्णयलाई चुनौति दिन अग्रसर हुनुपर्नेछ र त्यो प्युठानको बिकास लागि अपरिहार्य आवश्यकता हो । 

झ) बर्तमान अबस्थामा राजमोको आधार भनेकै सीमित जिल्लामा नै जनाआधार देखिन्छ । यस अबस्थामा उसले खोज्ने भुमिका जिल्लाको प्रदेश सभा नै हो तर दुर्गाको नाममा प्रदेश सभाको सदस्य हुनबाट अलग रही प्रतिनिधि सभाको सदस्य मात्र हुन खोज्नुले आस्थाको राजनीति माथि नै प्रश्न चिन्ह उठेको छ ।

ञ) नेकपा एमालेलाई हेर्ने दृष्टिकोण नेकपा मसाल र उसको चुनावी मोर्चा राजमो दक्षिणपन्थी भासमा जाकिएको, काँग्रेस एमालेमा राजनैतिक रुपमा कुनै फरक नरहेको भन्ने भएबाट पनि उसको तालमेल एमालेका लागी पनि राजनैतिक रुपमा उपलब्धि मुलक देखिदैन ।

ट) भरखरै भएको स्थानीय निर्वाचनमा प्युठानको स्र्वगद्वारी खालका एमाले सर्मथित भीम रानालाई मरणासन्न हुने गरी कुटपिट गरेको आलो रगत अझै सुकेको छैन साथै उनलाई दिएको ४, २५००० रुपैयाँले एमालेको राजनीतिमा लामबद्ध भएका कार्यकर्ताको मनले दुर्गालाई भोट दिन कुन नैतिकताले स्वीकार गर्ला । 

ठ) राजनैतिक रुपमा यस जिल्लामा एमालेलाई एकलाउन गरिएका उद्योग बाणिज्य संघ, स्थानीय तहका निर्वाचन र बिकास निर्माणका काम देखि उपभोक्ता समुहको गठन सम्मका क्रियाकलापमा राजमोले देखाएको असहिष्णु प्रबृतिप्रति नेकपा एमालेका तमाम कार्यकर्ता दुर्गाको पक्षमा जानु निमार्थ जायज हुने छैन । 

ड) दुर्गा माननीय बनाउनकै लागी योग्य थिइन भने एमाले माओवादी कै सर्मथनमा पनि समानुपातिकबाट पनि हुन सक्दथिन तर प्युठानबाटै हुन खोज्नुले राजमो वा अन्य सर्मथन गर्ने दलका कार्यकर्ता माथि पनि ठुलो अन्याय भएको छ । 

ढ) २०४२ सालमा पार्टी फुटे देखि नै कहिले मध्य पन्थी, कहिले उग्र बामपन्थी भडकाव र जनयुद्धलाई सत्तामा जाने खेल हो भन्दै अलापिरहने कहिल्यै पनि सकारात्मक बचन समेत नपस्केको राजमो माथि माओवादी केन्द्रका कार्यकर्ताले दिए त्यसलाई स्वभाविक मान्न सकिएला र ? 

ण) माओवादी शान्ति प्रक्रियामा आइसकेपछि माओवादीको नेतृत्वमा गठन भएका कुनै पनि सरकारलाई राजमोले सर्मथन गरेको पाइदैन यस अबस्थामा माओवादी कार्यकर्ताले कुनै पनि कोणबाट दुर्गालाई सर्मथन गरेर मत दिने छैनन ।

त) हत्या आतंक र फासीबादीको आरोप लागेको माओवादी केन्द्र दुर्गालाई मत दिनको लागी मित्र शक्ति बन्न सक्ला ? 

थ) बर्तमान अबस्थामा संघीय निर्वाचनमा कसैलाई हराउने नभई जिल्लाको बिकास र समृद्धिको लागी योग्य ब्यक्तिलाई जिताउनको लागी नागरिकहरु स्वतस्फूर्त रुपमा अगाडि आउनेछन यस परिबेशमा प्युठानी जनता एक दुइ जनाको गोठालोको हेपाह र मिचाह प्रबृतिगत सोंचबाट पक्कै पनि अगाडि आउनेछन ।

जनता कसैका दास होइनन कसैका रैती पनि होइनन आफनो बिबेकको प्रयोग अबश्य नै गर्नेछन । पहुँचको भरमा फरक भुगोलको नेतालाई टिकट दिएर सिंगो जिल्ला र पार्टीमा जीवन दिएर लाग्ने प्युठानी जनता र नेताहरुमाथि अन्याय भएको महसुश भैरहेको छ यस्तो कार्यलाई तमाम प्युठानी जनताले चुनौति दिनेछन् । 

(माथि उल्लेखित विचार लेखकका निजी विचार हुन् - सम्पादक)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै