• २०८१ बैशाख ८ शनिबार

गगन र राजनविरुद्ध उठेकी सुबुना भन्छिन्, ‘कुनै पनि मानेमा उहाँहरुभन्दा कम छैन’ 

kharibot

काठमाडौँ ।  विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको लागि  सुबुना बस्नेतले समेत बिहीबार आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन् । कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईजस्ता हस्तीसँग लड्ने साहस गरेकी उनै सुबुनासँग खरीबोट डटकमकी कविता घिमिरेले उनको चुनावी एजेण्डा र अन्य पक्षहरुबारे गरेको कुराकानीको सम्पादित अंश : 

प्रचारप्रसार तथा घरदैलोमा कतिको लाग्नुभएको छ ?

चुनाव नजिकिँदै गर्दा प्रचारप्रसार तथा घरदैलो त गरिन्छ नै, यो आवश्यक पनि छ र जनताले चाहेको कुरा पनि हो । गत हप्तादेखि प्रचारप्रसारमा लागिरहेकी छु । 

कत्तिको आशावादी हुनुहुन्छ ?

चुनावी अभियानमा लागेको नेता सानो वा ठूलो जुनसुकै पार्टीको किन नहोस् ! ऊ अवश्य आशावादी हुन्छ । म पनि ठूलो आशाको साथ चुनावमा होमिएकी छु । विवेकशील र साझा पार्टीको एकीकरण भएपछि र निर्वाचनको परिणाम नआउन्जेल त हामी दोस्रो शक्ति भएका छौँ । यसले गर्दा पनि मलाई लाग्छ ८०-९० प्रतिशत नै सकारात्मक प्रतिक्रिया पाएकी छु । यसपटक धेरैले परिवर्तन चाहेको मैले बुझेकी छु । 

के छन् चुनावी एजेण्डा तपाईंको ?

समग्र देशको विकास गर्ने त छँदै छ । त्यसमा पनि काठमाडौँ क्षेत्र नं. ४ मा विकास गर्नुपर्ने धेरै कुराहरु छन् । यहाँको बाटोघाटो, खानेपानीदेखि धार्मिक तथा सांस्कृतिक हिसाबले भरिपूर्ण यो ठाउँको लागि धेरै काम गर्नुपर्नेछ । त्यस्तै धार्मिक तथा पुरातात्विक वस्तुहरुको संरक्षणदेखि धूवाँधूलो नियन्त्रणको लागि काम गर्नेछु । त्यस्तै शान्तिसुरक्षामा पनि कदम चाल्नेछु । 

मेरो आत्मविश्वास र आँटलाई देखेर पनि उहाँहरुले मलाई मतदान गर्नुहुन्छ भन्नेमा ढुक्क छु  !

तपाईंको क्षेत्रको गोपीकृष्ण हुँदै कपन जोड्ने बाटो विगत २ वर्षदेखि वर्षामा बाढी र घाम लाग्दा धूलोले पुरिएको छ, यसबारे के सोच्नुभएको छ ?

हेर्नुस् त यो मेरो कार्यालय हो, तल बाटोमा घुडासम्म धूलो छ । कपनको हालत त्यस्तै छ, धूलो नै धूलो छ । घरदैलोमा हिँड्दै गर्दा रुघाखोकी लागेको छ मलाई । यहाँको अवस्था बिजोक छ, यसका लागि त सुरुवातमै काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । 

सुबुना बस्नेतलाई भोट किन हाल्ने ?

अहिलेसम्म तपाईंले धेरैलाई हेर्नुभयो, अब मलाई हेर्नुस् । म भन्नभन्दा पनि केही गर्न चाहन्छु । राजनीतिमा म मान्छे मारेर आएको होइन, गुण्डाहरुलाई राजनीतिक संरक्षण दिएर त्यसको स्वार्थभोग गरेर वा गर्न पनि म राजनीतिमा आएको होइन, हो त केवल देशको मुहार फेर्न म राजनीतिमा आएको हो। मेरो अनुभव छ त परिवारमा एउटा छोरीको जिम्मेवारी पूरा गरेको, पार्टीमा उद्यमशीलता विकास सञ्चालन गरेको छु । खोजेर हेर्दा पनि मैले कसैलाई नराम्रो गरेको छैन भने जनताले राम्रोलाई चुन्ने कि नराम्रो उम्मेदवारलाई । मैले अगाडि समाजमा गरेको सहयोग हेरेर पनि मलाई अगाडि ल्याउनुपर्छ भन्ने लाग्छ । २६ वर्षकै उमेरमा केही गर्र्र्ने अठोट बोकेर चुनावमा होमिएको मान्छेलाई मतदाताले एकपटक अवसर दिने हो भने म पहिलोपटक नै उहाँहरुको मनोरथ पूरा गर्न तयार छु । म यही समाजको नागरिक हुँ, उहाँहरुले जस्तै यही धूलो र माटोमा जीवन बिताएकी छु, देशको समस्याबाट टाढा छैन । देश र गाउँ दुवै बुझेकी पढेलेखेकी छु । धेरै अनुभव छ । देश बनाउने अठोट र साहस लिएर आएकी छु । यसकारण पनि मलाई भोट दिनुपर्छ भन्ने लाग्छ । मेरो चुनाव चिह्न तराजु परेको छ, यसले गर्दा नयाँ पार्टीले कति र पुराना पार्टीले कति काम गरे भनेर तौलिने बेला पनि आएको छ । 

यसबाहेक अन्य तपाईंका एजेण्डाहरु के के छन् ? 

वामपन्थी, लोकतान्त्रिक गठबन्धनको चुनाव हैन, अबको चुनावी एजेण्डा विकास र समृद्धिको हुनुपर्छ । मेरो चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, आम नागरिकको सुरक्षा, विधिको शासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु नै हो । 

देश बनाउने अठोट र साहस लिएर आएकी छु । यसकारण पनि मलाई भोट दिनुपर्छ भन्ने लाग्छ । मेरो चुनाव चिह्न तराजु परेको छ । यो बेला भनेको नयाँ पार्टीले कति र पुराना पार्टीले कति काम गरे भनेर तौलिने बेला पनि  हो ।

रञ्जु दर्शनाले पाएको भोटको संकेत के हो ? यसले तपाईंलाई कत्तिको आत्मविश्वासी बनाएको छ ? 

हेर्नुस्, भोट भन्ने कुरा जनताले आफूलाई मन खाएको व्यक्तिलाई चुनेर दिने हो । रञ्जुलाई भोट दिने सबैमान्छेले मलाई दिनुपर्छ भन्ने पनि छैन । रञ्जु र मेरो व्यक्तित्व फरक छ  । मलाई पनि एकपटक हेर्नुस्, छान्नुस् भन्ने मेरो कुरा हो । भोटबुक गरेर राख्ने कुरा पनि त हैन । 

मिडियामा जसरी आइरहनुभएको छ, त्योअनुसार जनताको घरदैलोमा जाँदा कस्तो अनुभव भइरहेको छ ? 

एकदमै राम्रो छ । घरदैलोमा जाँदा ‘एट लिस्ट’ म सुबुना हो भनेर चिनाउनुपरेको छैन, सबैले चिन्नुहुन्छ । बस्नुस् चिया खाऊँ भन्नेसम्मको वातावरण छ । माहोल एकदमै राम्रो छ, सबैले स्वागत गरेका छन्, त्यसकारण म पनि निकै आशावादी भएकी छु । आखिर देशमा युवाकै खाँचो छ । 

गगन थापा र राजन भट्टराईसँग उठ्नुभएको छ, मनमा डर वा उत्साह कत्तिको छ ?

मान्छे जीवनको मोडमा कहिले खुसी त कहिले दुःखी भइ नै हाल्छ । अहिलेको मेरो अवस्था हेर्ने हो भने एकदम कठोर  ठाउँमा छु । तर पनि मलाई गाह्रो भएको छैन । किनभने मेरो विगत एकदमै निर्मल छ, वर्तमानमा मतदातासामु उभिएको छु ताकि उहाँहरुको भविष्यको लागि म केही न केही गर्न सकूँ । मेरो आत्मविश्वास र आँटलाई देखेर पनि उहाँहरुले मलाई मतदान गर्नुहुन्छ भन्नेमा ढुक्क छु । यदि उहाँहरुले को नेतासँग उठेको भन्दा पनि यसको देश हाँक्ने आँट कति छ भनेर विश्वास गर्नुभयो भने म पनि उहाँहरुभन्दा कुनै पनि मानेमा कम छैन ।  अब काठमाडौँमा मात्र नभएर देश भरीनै चुनावी माहोल एकदमै राम्रो छ ।

अन्त्यमा, एक सिट त ल्याउनैपर्छ कहाँबाट आउला ?

कहाँबाट आउँछ सिट भन्ने कुराचाहिँ अहिल्यै नभनौँ । काठमाडौँ लगायत पश्चिममा पनि हाम्रो राम्रो माहोल छ, एक त अनिवार्य नै हो तर एकभन्दा बढी नै सिट आउँछ । म विश्वस्त छु ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै