कूटनीतिबाट राजनीतिमा फर्किनु मेरो स्वनिर्णय हो – दीपकुमार उपाध्याय

खरीबोट

काठमाडौँ । भारतका लागि नेपाली राजदुत रहेका पुर्वमन्त्री तथा सांसद दीपकुमार उपाध्याय मन्त्रीस्तरको राजदुतको पद छोडेर फेरी राजनीतिमा आएका छन् । उनले राजदुत पदबाट दिएको राजीनामा स्वीकृत भएको छ र उपाध्याय कपिलवस्तु क्षेत्र नम्बर १ बाट कांग्रेसको प्रत्यक्ष तर्फको उम्मेदवार बन्दै छन् । यसै सेरोफेरोमा खरीबोट डटकमका लागि हुमनाथ पौडेल र संजय पन्थीले नेता उपाध्यायसँग गरेको कुराकानीको सम्पादित अंश :

एउटा राष्ट्रिय जिम्मेवारीको पदलाई स्थगित गरेर फेरि जनतासामु पुग्दै हुनुहुन्छ, चुनावमा आउने वातावरण कसरी तयार भयो ? 

स्थगित हैन, मेरो फिर्ती नै हो । विशेष परिस्थितिमा विशेष एउटा असाइनमेन्टमा गएको हो । यसको प्रमाण त हाम्रा आदरणीय सुशील दा रहनुभएन । पूर्वराष्ट्रपति डा. रामवरण यादव हुनुहुन्छ । उहाँहरुकै आग्रहमा म गएको हुँ । बीचको त्यो घटनापछि पनि अब जे हुनु भयो, अब नजाने नै भनेको हुँ । तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, अहिलेका प्रधानमन्त्रीलगायत हाम्रा नेताहरुले आग्रह गरेपछि जानुपर्ने परिस्थिति बन्यो । 

मैले सधैँ भनेको छु, मेरो दुईवटा कोण छ । एउटा जनताको आग्रह किनभने स्थिति असहज हुँदासम्म हामीले बुझ्यौँ, सहज भएपछि पनि किन नफर्किने भन्दा मसँग जवाफ थिएन । अर्को मेरो कपिलवस्तु जिल्ला भनेको जहाँ पवित्र माटो छ । चारवटा मानसबुद्धमध्ये तीनवटा मानसबुद्ध त्यहीँ जन्मेको हुर्केको ठाउँ पनि हो । शाक्यमुनिलगायत तीन बुद्ध जन्मेको त्यो पवित्र भूमिले मेरो अन्तरात्मा त्यसमा पनि ४५ वर्ष लामो सामाजिक राजनीतिक जीवन यात्रामा अब म फर्किन्छु, फर्किनुपर्छ भन्ने नै हो । यो मेरो स्वनिर्णय हो । देशमा जुन किसिमको परिस्थिति छ, त्यसमा मैले कूटनीतिक मर्यादाअन्तर्गत आफ्ना भावना पनि खोलेर राख्न मिल्ने होइन, त्यसकारण मैले तपाईंहरुसँग यति कुरा गर्न पनि फर्किनुपर्ने थियो र फर्किएँ । 

अन्तर्पार्टीमा अरुको भन्दा तपाईको सम्बन्ध अब्बलै देखिन्छ । तपाईं बीचमा फिर्ता भएपछि पुनः प्रचण्डजीले जानु भनेपछि अहिले पुनः प्रचण्डजीले नै तपाईंको जिम्मेवारी देशभित्रै छ भनेर बोलाउनु भएको त होइन ? 

ए हैन, हैन । त्यसरी होइन । उहाँसँग त संयोगवश सम्पर्क हुन पाएन । अरु पार्टीका नेताहरुसँग चाहिँ मैले सम्पर्क गरेको हुँ । म फर्किने कुरा गरेको हुँ । तर गर्दागर्दै पनि कहिलेकाहीँ अलिकति व्यवस्थापकीय कमजोरी हुन्छ । केही मेरो पनि भए होला । मैले कूटनीति आफ्नै मर्यादामा हुन्छ, यसको विशेषता हुन्छ, मर्यादित अवतरणको कुरा गरेको थिएँ । त्यो भनेको मैले नेपाल सरकारमा भारत सरकारमा पनि आफूले एउटा समयमै सूचना दिएर सबैसँग भेटघाट गरेर, विदावारी भएर र भारत र नेपालको सहज भएको सम्बन्धलाई पछिसम्म पनि राम्रो आधार बनाएर फर्किने कुरा गरेको थिएँ । अब म विदावारी भइसकेपछि हैन अहिलेको स्थितिमा सायद त्यहाँ बस्नु उचित हुन्छ कि भन्ने कुरा नेताहरुबाट आएको हो । मैले अत्यन्त विनयपूर्वक अब त्योचाहिँ मेरो एउटा स्वाभिमानले कूटनीतिक मर्यादाले पनि राम्रो देखिन्न । भनेर मैले यहाँ आएर बडो विनम्रतापूर्वक राजीनामा स्वीकृतिको लागि पहल नै गर्नुपर्यो र त्यसपछि मचाहिँ अत्यन्त नेताप्रति हृदयदेखि आभार नै प्रकट गर्छु । 

प्रचण्डजीले त्यतिबेला हजुर नै जानुपर्छ भन्नुभएको थियो, तपाईं आइसकेपछि चाहिँ प्रचण्डजीसँग भेट भयो त ? 

अब यति व्यस्त हुनुहुन्छ कि मैले व्यक्तिगत रुपमा चाहिँ भेटघाट गर्न पाएको छैन । राजनीतिमा एउटा तरंग छ, संविधानसभाबाट संविधान बनेको छ, नेपालको राजनीतिक शान्तिप्रक्रिया विश्वमै अनुपम बन्न सक्छ । हिजोको असहज अवस्थालाई कल्पना गरौँ । आमनेसामने लडेका हामी आज काँधमा काँध मिलाएर जनअभिमतको लागि संविधानको फ्रेममा स्वीकार गरेर आवधिक निर्वाचनलाई मानेर हामी गएको अवस्था छ । यो अवस्थालाई हामीले अलिकति निर्वाचनपछि पनि फेरि मिल्नुपर्ने, मिलाउनुपर्ने, दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धि नै आजको मूल एजेण्डा हो ।

एकल पार्टीको बहुमतको कुरा अहिलेको संविधानको संरचनामा त्यति देखिन्न । त्यसैले दलले पनि के गर्दा आफू सुरक्षित होइन्छ भनेर अहिले विभिन्न गठबन्धनको तरंग चलेका छन् । यी सबै निर्वाचनका तरंग हुन् । निर्वाचन पछि चाहिँ तपाईंले भनेजस्तो म आएदेखि भाइटीकामा नेपाल आएदेखि मैले यही बहस अगाडि सारेको छु । हामी जिम्मेवार नेता जिम्मेवार भूमिकामा रहनुपर्छ । 

कांग्रेससँग सम्बन्ध तोडेर प्रचण्डजी एमालेतिर जानु भएको छ,  उहाँसँग कांग्रेसले राम्रो व्यवहार गर्न नसकेको हो कि ? 

अब हेर्नुहोस्, यसमा केही मानवीय स्वभावहरु हुन्छन् । हुन त मलाई थाहा छैन तर उहाँले अलिकति बढी लाभ, बढी सुरक्षा देखेर किनभने सरकार पनि छोडेको छैन, सरकारमा पनि हुनुहुन्छ । सरकारलाई अन्तिमसम्म पनि साथ दिन्छु भन्नुभएको थियो । यो सबै सरसर्ती हेर्दा कसरी आफ्नो साइज बढ्छ भन्ने नै रणनीति हो जस्तो मलाई लाग्छ । 

जुन उहाँहरुले गठबन्धन गर्नुभएको छ, यो पस्थिति कता कता ०४८ सालको छोइछिटो हाल्ने अवस्थामा देखिँदै छ भनेपछि यही हिसाबले राजनीति गयो भने फेरि एकअर्कालाई भित्तामा पुर्याउने गरी आरोप प्रत्यारोप गरिँदै छ, यसले लोकतन्त्र बलियो होला ? 

यसमा हेर्नुहोस्, मेरो आफ्नो व्यक्तिगत अभिमत के छ भने लोकतन्त्र र कम्युनिष्ट शासनबीच एउटा रोज्ने भनेर विचारको रुपमा जनतासामु लैजानुपर्छ । यतिबेला चाहिँ उहाँहरुले यसो नगर्नुभएको भए हुने थियो । किन भने हामी अहिले प्रस्रवको बेला वेदना भएजस्तै अनन्त संक्रमणको राजनीतिक दुश्चक्रबाट हामी बल्ल बल्ल निस्किँदै छौँ । यस्तो बेलामा अहिले तुरुन्तै गरिहाल्न आवश्यक थिएन । तर अब यो स्थानीय तहको हाम्रो दुई नं. क्षेत्रको निर्वाचन परिणामले अहिले अलिकति बढी नै भनेर सशंकित भएर बनाइहाल्नुभयो, त्यसकै तरंगको रुपमा मैले लिएको छु । तर मलाई यो दूरगामी हुँदैन भन्ने छ ।

उहाँहरुको गठबन्धनको तरंगमा जसरी पार्टी पनि एक बनाउने भन्ने यो खालको रणनीतिक लडाइँ त छ नि, नागरिकको सर्वोच्चता हो कि पार्टीको सर्वोच्चता त ? वामपन्थी दर्शनले खास गरी कम्युनिष्ट दर्शनले पार्टीले निर्णय गरेपछि जनता केही होइनन्, उनीहरु घोप्टिनुपर्छ भन्ने देखाउँछ तर म विनम्रतापूर्वक भन्न चाहन्छु हामी त्यो स्वीकार्न सक्दैनौँ । मानिस भनेपछि हरेक कुराको स्वतन्त्रता हुनुपर्छ ।

अहिलेको चुनावमा बलियो उम्मेदवारले जित्ला हाहु गर्ला भन्छौँ तर त्यो होइन, त्योभन्दा पनि मैले विचारको जनमतसंग्रह भनेँ, त्यो रुपबाट लान सक्नुपर्छ । त्यो भयो भने हामीपछिको पुस्तालाई कस्तो नेपाल छोड्ने भन्ने अहिलेको निर्वाचनको विषय हुनुपर्छ । अहिलेको विश्वमा ज्ञान र बुद्धिले नै मार्गदर्शन गर्ने हो । राजनीति आदर्श, मूल्य मान्यताकै हुन्छ । लोकतन्त्रमा यी कुराविनाको कल्पना पनि गर्न सकिन्न । 

प्रचण्डजीले हामीले गर्दा कांग्रेस एक हुने भो भन्नु भएको छ तर उनीहरुको गठबन्धन देखेर तपाईंहरु किन चिन्ता गर्दै हुनुहुन्छ ? 

हैन, चिन्ता लिएको छैन । कांग्रेसको इतिहास के छ भने हामी एकल बहुमत हुँदा पनि गुमाएका थियौँ । त्यसलाई हामीले पाठका रुपमा लिएका छौँ । तर यो उदारता हेर्नुस्, लोकतन्त्र भनेको करुणा, दया हो, जसभित्र सबै विचार अटाउनसक्छ । देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान कंग्रेसको फ्ल्यागसिप, ब्यानर वा नेतृत्व जे भने पनि आवश्यक छ भन्ने त देखियो नि । मान्छु, राजनीतिमा भन्न सजिलो गर्न गाह्रो । सबै परिवर्तनमा नेपाली कांग्रेसको अग्रसरतामा सफल भएको देखिएकै छ नि । हामी यसलाई सकारात्मक रुपमा ग्रहण गरौँ र पछि पनि यही रुपमा लिन सक्नुपर्छ भन्ने मेरो विचार हो । 

वामपन्थीहरुको एकताको साइडइफेक्ट चाहिँ के कसरी आउला, तपाईंले यसलाई कसरी मूल्यांकन गर्नुभएको छ ? 

अब हेर्नुस्, वातावारण जबसम्म लोकतन्त्रअनुकूलको वातावरण हुँदैन तबसम्म हामीले वैदेशिक लगानीका कुरा, प्रविधि निवेशका कुरा त्यति सजिलै हुँदैन । हुन त चीनमा वामपन्थी शासन हुँदा पनि सम्पूर्ण मल्टिनेशनल कम्पनी त्यहाँ जान्छन्, किनभने त्यहाँको प्रोफिटचाहिँ ग्यारेन्टेड अन म्याथम्याटिकल रेसियो भन्छन् ।

अहिले त भारत र चीनको पनि नेपालमा शान्ति, स्थिरता र समृद्धि उनीहरु दुवैको एजेण्डा हो त्यसकारण यो त अवसर हो हामीलाई । किनकि यहाँको अस्थिरतामा दुवै छिमेकीलाई चिन्ता हुन्छ ।

त्यहाँ लाभले गर्दा मानिसको आकर्षण छ, तर सबै ठाउँमा त्यस्तो छैन । नेपालमा त्यो सम्भव छैन । तत्कालीन चुनावको लागि यी रणनीतिक कुरा हुन्, वामगठबन्धन दीर्घकालीन होला भन्ने त मैले सोचेको छैन । हामीकहाँ त्यो स्कुलिंग नै छैन । उहाँहरुले हामीले निर्णय गरिहाल्यौँ सकियो भन्नुभएको छ तर त्यो त कार्यकर्ताले कति स्वीकार्छन्, त्यो परिणामले नै देखाउला । 

एमाले र माओवादी मिल्नुमा चीन या भारतको हात छ भनेर विभिन्न टिप्पणीहरु भएका छन्, तपाइलाई के लाग्छ ? 

नेपाल त कहिल्यै पराधीन नभएको विरासत हामीले पाएका छौँ । यस्तो इतिहास बोकेको हामी नेपालीले सधैँ हीनताबोध राख्नुहुन्न । हामी आपसमा मिल्दैनाँै अनि शंकाचाहिँ अरुलाई गर्छौँ । त्यो प्रवृत्तिबाट हामी मुक्त हुनुपर्छ । म त त्यस्तो केही देख्दिन । अहिले त भारत र चीनको पनि नेपालमा शान्ति, स्थिरता र समृद्धि उनीहरु दुवैको एजेण्डा हो त्यसकारण यो त अवसर हो हामीलाई । किनकि यहाँको अस्थिरतामा दुवै छिमेकीलाई चिन्ता हुन्छ । हाम्रा राष्ट्रिय आधारलाई अत्यन्त व्यवस्थित गर्ने र एकता बलियो पारे हामीलाई सजिलो छ । 

नेपालको मौसमी राजनीतिक गठबन्धनले हिजोको नेतृत्वप्रतिको एउटा अगाध माया थियो, आजकल नेतृत्वतहप्रति नेपालमा अविश्वास बढेको छ नि ? 

हेर्नुस्, कूटनीति भनेको निरन्तरतामा आधारित हुन्छ । तत्काल कुनै क्षणको घटनाले फरक पार्ने हुँदैन । तर त्यो शान्त, परिणाममुखी हुनुपर्छ । यो भनेको नेपाली जनता र राष्ट्रलाई हित हुने तिर हाम्रो ध्यान जानुपर्छ । कूटनीतिमा लडाइँ गर्नुहुँदैन । हामीले विगतमा सुरुंग खेतर भिड्ने भनेको पनि देख्यौँ, नाकाबन्दीको बेला कुनै पनि सामान प्रयोग नगर्ने, पैदल हिँड्ने भनेको पनि देख्यौँ तर यी सब सम्भव हुँदैन नि । एउटा सेन्टिमेन्टमा जाने भन्ने एउटा हुन्छ । राष्ट्रिय स्वाभिमानलाई जनहितमा जोडेर राष्ट्रलाई सेफल्याण्ड गराउनेतिर कूटनीति हुनुपर्छ । सफल कूटनीति यही नै हो । 

एउटा समय थियो, प्रशासनिक तहमा नेपाल भारतको सम्बन्ध अडेको थियो । भारतीय राजनीतिमा मोदीजीको आगमनपछि राजनीतिक तहमा सम्बन्ध बढेको छ, सबै हाम्रा संयन्त्रहरु ब्युरोक्रेटिक संयन्त्र पनि परिचालित नै छन् । पहिलेभन्दा निकै सहज छ । अब कति हामी गर्न सक्छौँ भन्नेचाहिँ यो त हाम्रो कलामा भर पर्ने कुरा हो । 

तपाईं दिल्लीमा रहदा भारतलाई अलि बढी फेभर गर्नुभयो भन्ने आरोप पनि आउँछ नि ? 

अब यसरी हेर्नुहोस्, मैले तपाईंलाई भनेँ नि त आफ्नो आफ्नो कोण हुन्छ । हामी जस्तै जो कूटनीतिज्ञ जुन देशमा हुन्छ, अब तपाईंले इण्डियन मिडियामा नेपाली जनताले दुःख पाएको बारेमा के के मैले बोलेँ भन्ने कुरा भन्न आवश्यक छैन तर त्यही कुरो भनेर मैले उनीहरुको परराष्ट्रमा गएर झगडा गर्ने भन्ने त हुँदैन । मतलब त्यो बेलामा हेर्नुस्, हाम्रो जुन तस्करी संयन्त्रले जरो गाडेको थियो, त्यो तोडिनचाहिँ मलाई लाग्छ धेरै समय लाग्न सक्थ्यो । तर त्यो तोडियो नि । यी कामको समयले मूल्यांकन गर्ला । मैले गरेँ भन्ने होइन । सम्पूर्ण नेपालीको ज्ञान र विवेकले उनीहरुलाई सोच्न बाध्य पारेको हो । कहिले कहिले राजनीतिमा टकराव हुन्छ तर त्यो निहुँमा जनताले दुःख पाउनुहुन्न भन्ने कुरामा त उनीहरु पनि सहमत भए नि । आज अत्यन्त राम्रो सम्बन्ध छ । एउटा राम्रो जग बनेको छ । द्विपक्षीय हितका कुरा, पानीका प्रबन्धनका कुरा, नेपाली वस्तुले निर्बाध भारत जाने कुरामा राम्रो जग बसेको छ । प्राकृतिक मित्रको हिसाबले नेपाल भारत सम्बन्धलाई सुमधुर पार्ने र नेपालको आर्थिक समृद्धिमा लैजान भारतसँगको सम्बन्ध राम्रो हुनैपर्छ । 

म स्वतन्त्र उठ्छु, नपाए अर्कोमा गएर लड्छु भन्ने प्रवृत्ति आउनथाल्यो । सेवा गर्नेले मेवा पाउनछोडे, यसमा मलाई चिन्ता छ । हाम्रो काउन्सिलिङमा कहीँ न कहीँ कमजोरी छ । यो क्षेत्रमा जे देखेर आउँथे आज त्यसलाई हेर्ने कोणमा बदलाव आएको छ ।

नाकाबन्दीका बेला तस्करीले जरो गाडेको तपाईंले जुन स्वीकार्नुभयो, तर नेपाली राजनीतिमा पनि तस्करीतन्त्रले जरो गाडेको देख्नुभएको छ ? 

हैन, दुवैतिर गाड्यो त । दुवैतिरका शासन प्रशासनमा त स्वर्णकाल थियो नि । आखिर दुवै देशका साँध सिमानामा त सामान आउँथ्यो नि त । हामीले १४-१५ सयमा आउने ग्यासकै ८-१० हजार तिर्नुपर्थ्यो । त्यसबाट लाभ त दुवैतर्फ थियो नि । 

प्रभाव त अहिले नेपाली राजनीतिमा पनि देखिन्छ नि, त्यस्ता मान्छेले बढी टिकट पाउनथालेका छन् नि होइन ? 

अब अघि मैले भनेँ राजनीति निष्ठामा आधारित हुन्छ । यो तरवारको धारमा हिँड्छ । राजनीतिलाई व्यापार र पेसाको रुपमा लिनथाले, उसले पाउने मैले किन नपाउने, मैले नपाए देखाइदिन्छु भन्न थाले । म स्वतन्त्र उठ्छु, नपाए अर्कोमा गएर लड्छु भन्ने प्रवृत्ति आउनथाल्यो । सेवा गर्नेले मेवा पाउनछोडे, यसमा मलाई चिन्ता छ । हाम्रो काउन्सिलिङमा कहीँ न कहीँ कमजोरी छ । यो क्षेत्रमा जे देखेर आउँथे आज त्यसलाई हेर्ने कोणमा बदलाव आएको छ । यी कुरा नहेर्ने हो भने लोकतन्त्रमा चल्न चलाउन गाह्रो हुन्छ । 

तपाईं स्वयं कपिलवस्तुको प्रतिनिधि हुनुहुन्छ, लुम्बिनी करिडोरको योजना लामो समय देखि अलपत्र जस्तै छ अहिले फर्किसकेपछि त्यो जिम्मेवारी कसरी अगाडि बढाउँदै हुनुहुन्छ ? 

खास गरेर लुम्बिनी विश्वमै अनुपम स्थान छ किनकि हामीले समयमै जग्गा अधिग्रहण गर्न सफल भयौँ । ढिला त भयो तर हामीले त्यहाँ ग्रेटर लुम्बिनी भनेर देवदह, रामग्राम, कपिलवस्तुका सम्पूर्ण क्षेत्र समेटेर हामीले गर्ने भनेका छौ, ती कुरा समेटेरै हामीले अगाडि लैजाने हो । 

त्यही माटोको भएको हुनाले तपाईं लुम्बिनीको भविष्य कस्तो देख्नुहुन्छ ? 

त्यो त उज्वल छ नि । त्यहाँ आफ्नै खालको पहिचान, ख्याति र अन्तर्राष्ट्रिय महत्व छ । भैरहवाको एयरपोर्ट बन्नासाथ नै त्यसलाई यसले टेकअफ गर्छ नै । हामीले कल्पना गरेको लुम्बिनी योजना र अहिलेको लुम्बिनी योजना पनि विश्वमै उत्कृष्ट छ । बुद्धिष्ट साइटहरु अन्य मुलुकमा पनि मैले देखेँ त्यसमा लुम्बिनीको माष्टर प्लान अतुलनीय छ । ग्रेटर लुम्बिनी बनाउने जुन हामीले कुरा गर्दै छौँ त्यसको त अरुसँग तुलनै हुन सक्दैन नि । 

कपिलवस्तुमा जाँदै हुनुहुन्छ, त्यहाँका मतदातालाई के कुरामा कसरी आश्वस्त पार्न चाहनुहुन्छ ? 

नेताहरुप्रति आभारी छु कि राजीनामा दिएर तपाईंहरु सामु आएको छु । जिल्लामा मेरो भूमिका आफ्नोमात्रै पार्टी नभएर सबै पार्टीप्रति समभावमा जिल्लामा अभिभावकत्व दिएर राष्ट्रलाई योगदान दिने कुरामा त म सधैँ तयार नै छु, हुनेछु । 

नेपालको कानुन, संविधानले त्यहाँ आउन रोक्दैनथ्यो तर मैले स्वमर्यादामा नै नआउने निर्णय लिएँ । त्यसकारण साथीहरुमा त भ्रम पनि भयो कि म आजीवन कूटनीतिमै गएँ भन्ने तर अहिले आउँदा फेरि खुसी लाग्यो भन्छन् । आफ्नो मर्यादा, आचरण आफैँ राख्ने हो, यसमा म दृढ छु । 

आगामी निर्वाचनमा कपिलवस्तुमा विकासको एजेण्डा के छ तपाईंको ? 

सबै सम्भावना बोकेको भनेको तराई नै हो त्यसमा पनि कपिलवस्तुको त कुरै नगरौँ । यो त सांस्कृतिक धरोहर भएको स्थान पनि हो । जुन रुपबाट मानव सूचकांक अगाडि बढ्नुपर्ने थियो, त्यो त्यति बढ्नसकेको छैन । पछाडि परेको छ । त्यसलाई ध्यान दिनेछु । हुन त स्थानीय सरकार छ, प्रादेशिक सरकार हुनेछ । बुझ्नुपर्ने कुरा के छ भने संविधान प्रदत्त संरचनाअनुसार प्रायः विकास प्रदेशले गर्ने हो । केन्द्रमा संविधानले नै सानो मन्त्रीमण्डल भनेको छ । पहिलेजस्तो केन्द्रको भूमिका पनि असीमित हुँदैन ।

अब त्यहाँका जनताले पनि अब तपाईं फिर्ती किन नहुने भन्ने कुरा गरिसकेपछि मैले कर्तव्य सम्झेर जाने दायित्व हो । कर्तव्य र दायित्व भनेर नै म फर्किन लागेको हुँ । त्यही कुरा तपाईंहरुलाई भन्छु । मलाई पदको परिचय चाहिन्न । टिकट पाए पनि, नपाए पनि मानिसले आफ्नो कर्म गर्ने हो । कर्म गरेपछि परिणाम त हाम्रो हातमा छैन तर पनि सत्कर्मले सत्परिणामचाहिँ अवश्य दिन्छ भन्नेमा ढुक्क छु । त्यसकारण सकारात्मक सोच र दृढ इच्छाशक्तिबाट हामी अगाडि बढ्नुको विकल्प छैन । 

अन्त्यमा, पार्टीमा चाहिँ तपाईंको भूमिका के हुन्छ अब ? 

मेरो त आफ्नो केही छैन । त्यो त नेताहरुले निर्धारण गर्नुहुन्छ । किनभने मैले जानेबेलामा सबै पद त्यागेर कूटनीतिमा लागेको हुँ । राजदूतको भूमिका निष्पक्ष हुनुपर्ने भएको कारण तपाईंहरुले नै देख्नुभयो पार्टीको महाधिवेशन लगायत थुप्रै घटना भए, म आइन पनि । हुन त नेपालको कानुन, संविधानले त्यहाँ आउन रोक्दैनथ्यो तर मैले स्वमर्यादामा नै नआउने निर्णय लिएँ । त्यसकारण साथीहरुमा त भ्रम पनि भयो कि म आजीवन कूटनीतिमै गएँ भन्ने तर अहिले आउँदा फेरि खुसी लाग्यो भन्छन् । आफ्नो मर्यादा, आचरण आफैँ राख्ने हो, यसमा म दृढ छु । 
  

सम्बन्धित समाचार

कांग्रेस उम्मेद्वार पूर्वराजदूत उपाध्यायविरुद्ध उजुरी

जितपुर, कपिलवस्तु ।  कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।  उम्मेदवार उपाध्यायले निर्वाचन आयोगको

कूटनीतिबाट राजनीतिमा फर्किनु मेरो स्वनिर्णय हो – दीपकुमार उपाध्याय

काठमाडौँ । भारतका लागि नेपाली राजदुत रहेका पुर्वमन्त्री तथा सांसद दीपकुमार उपाध्याय मन्त्रीस्तरको राजदुतको पद छोडेर फेरी राजनीतिमा आएका छन् । उनले राजदुत पदबाट दिएको राजीनामा स्वीकृत भएको छ र

भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा

काठमाडौं । भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले राजीनामा दिएका छन् । आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचनमा सहभागी हुन राजदूत उपाध्यायले राजीनामा दिएका हुन् ।  कपिलवस्तुको क्षेत्र नम्बर १