बिम्स्टेक मन्त्रीस्तरीय बैठक आगामी बिहीबार, तयारी अन्तिम चरणमा

खरीबोट

काठमाडौँ, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक यही साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ । 

बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेश मन्त्रीले त्यसमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले पहिलोपटक उक्त बैठक आयोजना गर्न लागेको हो । 

भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको चौथो शिखर सम्मेलन काठमाडाँैमा आयोजना गर्ने निर्णय मन्त्रीस्तरीय बैठकले गर्ने सम्भावना छ । 

बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बंगलादेशका विदेश मन्त्री अबुल हसन महमुदअली र भूटानका विदेश मन्त्री दाम्चो दोर्जी आगामी बिहीबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ । थाइल्याण्ड र म्यान्माबाट भने उपविदेश मन्त्रीस्तरीय बैठकमा सहभागिता हुनेछ । 

सोही दिन सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औँ बैठक (एसओएम) हुनेछ । परराष्ट्र सचिव शंकरदास वैरागीले उक्त बैठकको नेतृत्व गर्नेछन । 

मन्त्रीस्तरीय बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अपराह्न राजधानीमा बैठकको उद्घाटन एवं त्यसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उहाँले सोही दिन साँझ सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्रमन्त्रीसँग सामूहिक शिष्टाचार भेट गर्ने बताए । 

तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिम्स्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई दु्रतगतिमा कार्यान्वयन गर्नेबारेमा १५औँ बैठक केन्द्रित हुने अपेक्षा गरिएको महाशाखा प्रमुख भट्टराईले बताए  । 

स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नुहुनेछ । साथै, उहाँले प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार नै रात्रिभोजको आयोजना गरे । 

दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो । 

सम्बन्धित समाचार

बिम्स्टेक विशेष बैठक जारी 

काठमाडौँ। समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिकवृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को

बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौँमा गर्न नेपालले प्रस्ताव गरेको मितिमा सबै सदस्य राष्ट्रहरुबाट औपचारिक सहमति प्राप्त भएको छ ।  शिखर सम्मेलन

बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ ।  सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल

बिम्स्टेक शिखर सम्मेलन भदौमा काठमाडौँमा हुने

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते यहाँ आयोजना हुने भएको छ ।  बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही