• २०८१ बैशाख ६ बिहीबार

प्राचीन नैतिक शिक्षाको पुनरुत्थान किन आवश्यक छ ?

kharibot

मैले बाल्यकालमा पढेसुनेका प्रसङ्गहरूमध्ये सबैभन्दा मन छाएको प्रसङ्ग थियो, एउटा -  कुनै समयमा शिक्षक र विद्यार्थीको बीचमा यस्तो घटना घटेछ, जो आजका हाम्रो शिक्षापद्धतिसँग सोह्रै आना मेल खान्छ । यस घटनाले आजको शिक्षापद्धतिलाई पूर्णतः संकेत गरेको छ । एउटा गाउँमा एकजना शिक्षित व्यक्ति थिए । उनीसँग पढ्न आउने विद्यार्थीहरू धेरै थिए । टाढा–टाढाबाट पनि उनीसँग पढ्न भनी विद्यार्थीहरू आउने गर्दछ । त्यस्तै क्रममा अध्ययन गर्न भनी धेरै विद्यार्थीहरू जम्मा भए । उनीहरूले शिक्षकबाट धेरै कुरा सिके । प्रायः सबै विषयमा पारङ्गत बनाइसकेपछि शिक्षकले ती शिष्यहरूलाई लिएर कुनै नयाँ ठाउँमा घुमघाम गर्ने विचार गरे ।

तत्कालीन समयमा यात्राको निम्ति सबैभन्दा उपयुक्त साधन रथ, गोरुगाडा नै थिए । आर्थिक रूपले अलिकति सस्तो पर्ने भएकाले उनीहरू गोरुगाडा चढी यात्रामा निस्किए । शिक्षक–विद्यार्थी एउटै गाडामा चढेर गन्तव्यतर्फ लम्किरहेका थिए । बाटो धेरै टाढा भएको हुनाले शिक्षकलाई पट्यार तथा निद्रा लाग्न थाल्यो । उनले विद्यार्थीहरूलाई सम्झाउँदै भने– “म केही समय आराम गर्छु । तिमीहरू एकदम चनाखो भएर बस्नू । कुनै समय गाडाबाट केही खस्न पनि सक्छ । राम्ररी हेर्नू........“ केही छिनपछि शिक्षक निद्रामा मस्त भए । विद्यार्थीहरूले पनि शिक्षकको वाक्यलाई मनबाट ननिकालीकन चनाखो भई बसे । बाटो एकदम उखडबाखड भएको थियो । गाडा एकदम ढलपल ढलपल गर्न थाल्यो । नभन्दै गाडाबाट एकैछिनमा यात्राभर खानको निम्ति जम्मा पारेको फलफूलको पोको खस्यो । त्यसलाई ती सबै विद्यार्थीहरूले चनाखो भएर हेरिमात्र रहे ।

  • मातृदेवो भव, पितृदेवो भव, अतिथिदेवो भव, वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः, सत्यमेव जयते, स्वस्ति पन्थामनुचरेम, आत्मवत् सर्वभूतेषु जस्ता चिन्तन सिकाउने नीतिमूलक प्राचीन शिक्षा यही माटोमा उम्रिएको हो ।

केही समयपछि शिक्षकको निद्रा खुल्यो । शिक्षकले बाँडीचुडी केही खाऔँ भनी फलफूल राखेको पोको खोजे । पोको त अघि नै उनी निद्रामा मस्त हुँदा खसिसकेको थियो । उनले विद्यार्थीहरूलाई भने ’फलफूलसहितको पोको खोइ ?’ विद्यार्थीहरूले पनि एकस्वरमा उत्तर दिए– ’त्यो पोको त बाटामै खस्यो’ । यत्ति सुन्नेबित्तिकै शिक्षकको कन्सिरी तात्यो र उनले झोक्किएर विद्यार्थीहरूलाई भने– ‘झन्  मैले अघि नै तिमीहरूलाई सचेत गराएको होइन ? बाटो असहज छ जुनसुकै समयमा पनि गाडाबाट केही खस्न सक्छ चनाखो भएर हेर्नू ।“ विद्यार्थीहरूले पनि एक स्वरमा उत्तर दिए– “हामीले आँखा नझिम्काइकन हेरेका हौँ । हामीले फलफूलको पोको खसेको देख्दादेख्दै पनि हजुरको आज्ञा मान्नुपर्ने भएकाले नटिपेको ।“

विद्यार्थीको कृत्य र उनीहरूबाट आएको जवाफ सुनेर शिक्षकलाई आफूले प्रदान गरेको ज्ञानको आशय र विद्यार्थीको काममा एकरूपता नआउनुमा आफ्नो बुझाउने कला प्रभावकारी नभएको अनुभूति भयो । विद्यार्थीहरूलाई आफूबाट सही दिशानिर्देश नभएको ठानी उनले उनले तत्क्षण पुनः भने– “अब देखि यहाँबाट जे चिज भुइँमा खस्छ । त्यसलाई टिपेर जतनसाथ राख्नू ।“ शिक्षक यति भनेर पुनः गाडाको एक छेउमा पल्टिए । विद्यार्थीहरू पनि आफूबाट सही काम नभएको आत्मबोधपूर्वक शिक्षकले दिएको ज्ञानलाई मनमा राखेर बाटो वरपरका विविध मनोरम स्थलको अवलोकन गर्न थाले ।

कोमल नेपाल
बेल्कोटगढी-६, नुवाकोट
[email protected]

केही समय पर पुगेपछि गोरुले गोब्य्रायो । विद्यार्थीहरूले छिटोछिटो गरी त्यसलाई भुइँमा खस्न नपाउँदै शिक्षकको टाउकोछेउमा राखिदिए । अहिले भने आफूहरूबाट कुनै कमजोरी नभएको ठानी उनीहरू खुसी पनि भए । गाडा हल्लिदाँ टोउको छेउमा भएको गोबर शिक्षकको टाउकोमा पुग्यो । गोबरको गन्धले गर्दा पनि शिक्षकको निद्रा खल्बलियो । झल्याँस्स ब्युझिँदा त शिक्षकको टाउकोभरि यत्र तत्र गोबर नै गोबर थियो । आफ्नो त्यस्तो दुर्दशा देखेर शिक्षक क्रुद्ध भए र भने– “यहाँ कसरी गोबर आइपुग्यो ?“ प्रसन्नताका साथ विद्यार्थीहरूले एकै स्वरमा जवाफ दिए– “हामीले हजुरको आज्ञामुताबिक भुँइमा जे खसेको गोबरलाई टिपेर माथि राखेका हौँ ।“ विद्यार्थीको प्रतिक्रियाबाट शिक्षकलाई पुन आफूले विद्यार्थीहरूलाई सही दिशानिर्देश दिन नसकेकोमा निकै ग्लानि भयो । उपयुक्त मार्गदर्शन गर्नबाट आफू पुनः चुकेको अनुभव गरी शिक्षक कसरी मैले प्रदान गर्न खोजेको आशय विद्यार्थीले जस्ताको त्यस्तै ग्रहण गर्न सक्लान् ? भनी उपयुक्त उपायको खोजी गर्न लागे ।  केहीबेरपछि उनले विद्यार्थीले गर्नुपर्ने काम र गर्नु नपर्ने कामको सूची तयार पारे ।

त्यस सूचीमा अम्खोरा खस्दा टिप्ने, गोरुले गोब्य्राउँदा नटिप्ने, लत्ताकपडा खसेमा टिप्ने, गोरुले पिशाव फेरेमा नथाप्ने आदि पाँच सातवटा कार्यको स्पष्टतः जानकारी थियो । त्यो टिपोट गरेको कागज विद्यार्थीहरूलाई दिएर शिक्षकले भने– “अबदेखि मैले बनाइदिएको टिपोटअनुसार टिप्ने र नटिप्ने सामग्रीको पहिचान गर्नू र यहीबमोजिम काम गर्नू“ । विद्यार्थीलाई अब भने पक्कै पनि आफूबाट सही दिशानिर्देश भएको ठानी शिक्षक पुनः आराम गर्न्तिर लागे । केहीछिनमा नै उनी निदाए । गोरुगाडामा जाने बाटोमा एउटा नदीलाई पार गर्नुपर्ने थियो । एकछिनपछि उनीहरू त्यही नदीको छेउमा पुगे । बाटो नदीको बीचबाटै अगाडि बढेको थियो । गोरु त्यही पानीभित्रबाट नै नदी पार गर्न त्यहाँ पसे ।

नदीको प्रवाहले गाडा ढलपल ढलपल गर्न थाल्यो । त्यतिन्जेलसम्म विद्यार्थीहरू गाडाबाट ओर्लिसकेका थिए । शिक्षक भने मस्त निद्रामा नै थिए । पानीको बहावले गाडा ढलपलायो । त्यसै क्रममा शिक्षक नदीबीचमा नै खसे । नदीमा खस्ता उनी गाढा निद्रामा थिए । उनलाई यसबारे कुनै सुझबुझ रहेन । विद्यार्थीहरू खुब अत्तालिए । हतारहतार शिक्षकले तयार गरिदिएको सूची पल्टाएर हेरे । त्यहाँ शिक्षक नदीबीचमा नै खस्दा के गर्ने ? भन्ने कुराको जानकारी गरिएको नै थिएन । सूचीमा नलेखिएकै कारणले उनीहरू शिक्षकलाई नदीबाट तटमा उतार्ने काममा निष्क्रिय अनि असावधान देखिए । शिक्षक भने बल्लतल्ल पौडिएर आफ्नो ज्यान बचाउन सफल भए । ज्यान बचाए पनि उनी प्रसन्न भने हुन सकेनन् ।

साँच्चै भन्ने हो भने यस घटना वर्तमानमा यत्र तत्र व्याप्त भएको देखिन्छ । वर्तमानका शिक्षक र विद्यार्थीहरूको विद्याभ्यसन, सिकाइ उपलब्धि र व्यावहारिक जीवनशैलीलाई हेर्ने हो भने के गाउँ के शहर के मेची के महाकाली सबैतिर शिक्षा गुण र परिणाममा कमजोर भएको देखिन्छ ।  विवेकशील, सिर्जनशील, इमान्दार र सबल व्यक्तित्व निर्माण गर्न नसक्ने शिक्षाबाट शिक्षक र विद्यार्थी दुवैको अवस्था सकारात्मक हुँदैन । यो असफलताको मार्गबाहेक केही होइन । जुन शिक्षाले नयाँ गोरेटोको सिर्जना गर्न, माया, ममता, विश्वास उत्पादन गर्न र आफैँमा सक्षम, आत्मविश्वास भर्न सक्दैन, त्यो वास्तवमा नाममात्रको शिक्षा हो । सुगा रटाइमात्रले जागृति, संयम र आस्था भर्न सक्दैन, व्यवहारमा इमान्दारिता र मानवता ल्याउन सक्दैन ।

हर मानिसले व्यतीत गर्नुपर्ने जीवनको तमाम आरोह–अवरोहमा नवीनताको प्रभातकालीन किरणको उदय गराउनु नै शिक्षाको मूल क्षेत्र हो । यदि समस्यासँग जुध्न, नदीझैँ लक्ष्य प्राप्त नहुन्जेल नरोकिन, हिमालझैँ अटल हुन, प्रकृतिझैँ सरस र सरल हुन नसिकाउने शिक्षाले समाजमा नवजागरण पैदा गर्न सक्दैन । सम्पूर्ण शिक्षाप्रणाली, शिक्षकवर्ग, विद्यार्थीसमूह सबैतिर वर्तमानमा कमीकमजोरी देखिन्छ । हाम्रै वरिपरि आफ्नो बुभुक्षा कम गर्न अथक परिश्रमपूर्वक जम्मा पारेको अत्यावश्यक फलफूल खस्दा टुलुटुलु हेरिबस्ने, समय र आवश्यकताअनुसार त्यति अपेक्षा नगरिएको गोबर टिपी गाडामा राखी मख्ख पर्ने, शिक्षक पानीमा डुब्दा पनि मूकदर्शक बनी हेरीरहने विद्यार्थी तथा विद्यार्थीको योग्यताअनुसार उपयुक्त तरिकाले चेतनाको बीउ रोप्न भुसुभुसु निदाइरहने शिक्षक प्रशस्त भेटिन्छन् ।

  • शिक्षित व्यक्तिको संख्या त बढ्यो तर मानवीय मूल्य मान्यताप्रति मानिसको अवस्था भने औँलामा गन्न मिल्ने यो त प्लाष्टिकको सुन्दर सुन्तलाजस्तो भएन र ? आकारप्रकार त मिल्ने तर रस भने छैन । आज त्यहाँ हुनेगरेका आतंककारी हमला, बोकोहराम र इस्लामिक स्टेतको आतंक, बढ्दै गएको शरणार्थी समस्या के यसका उदाहरण होइनन् र ?

विद्यार्थीको योग्यताअनुसार सुझबुझ, ज्ञान र विवेक, करुणा, पौरखको शिक्षा सिकाउनुपर्नेमा गर्न हुने काम र गर्न नहुने कामको सूची बनाउनमा समय खर्चिने शिक्षकवर्ग देशमा हुनुमा कुन कुन समूह जिम्मेवार ? शिष्ट व्यवहार, मायालु वातावरण, बुद्धि, संस्कार र सीप निर्माणमा जोड दिने सिकाइ क्रियाकलापले पक्कै पनि अन्योल र अराजकताको काँडा जन्माउन सक्दैन । वर्तमानमा सामाजिक, धार्मिक, सांस्कृतिक तथा आपराधिक क्रियाकलाप बढ्नुमा, मौलिक परम्परा र आध्यात्मिक चेतनाको ह्रास हुनुमा, समाजमा परम्परित धर्म, संस्कृति र रीतिथिति कमजोर बन्नुमा,  नैतिकता, इमान्दारिता, विश्वबन्धुता हटेर अशान्ति फैलिनुमा, सबैतिर पराधीन र परावलम्बी स्वभाव बढ्नुमा, आहारविहार पनि स्वभावअनुसार अनुकूल नहुनुमा, अझ भन्ने हो भने प्रबुद्ध वर्गले आफ्नो वास्तविक धरातललाई भुलेर पानीमाथिको ओभानो हुन प्रयास गर्नुमा पनि उचित शिक्षादीक्षाको कमी नै प्रमुख कारक तत्त्व हो भन्दा फरक पर्दैन ।

शिक्षाबाट सर्वत्र जागृति पैदा हुनुपर्छ । आफ्नो जीवनको रहस्य र महत्त्वलाई बुझी दायित्वबोध गराउन सक्नुपर्छ । सर्वांगीण व्यक्तित्वको विकास गर्न सक्ने शिक्षा नै आदर्श शिक्षा हो । जीवनमा नभई नहुने शिक्षा नै सहभाव, सहअस्तित्व र पारस्परिक मैत्रीभावको कसी हो । चाहे मानवका तमाम भौतिक चाहना पूरा गर्न होस् चाहे मानवमा नवजागरण पैदा गर्न होस् चाहे मनमस्तिष्कलाई प्रकाशित गर्न होस् अनि मानवीय आध्यात्मिक, आधिदैविक र आधिभौतिक सम्पूर्ण समस्याको निदान गरी प्रगति र सन्तुष्टि दिन होस् शिक्षामात्र उपयुक्त माध्यम हो । तर यसको प्रणाली वर्तमानमा असन्तुलित भएको छ । नेपालमात्र नभई विश्वभरि नै शिक्षित व्यक्ति उत्पादन गर्ने नाममा बहिराहरूले गीत सुनिरहेका छन् ।

लङ्गडाहरूको रेस चलिरहेको छ, यसले मानिसको शिरमा इन्जिनीयर, डाक्टर, टेक्निसियन, सुरक्षाकर्मी प्रोफेसनलको रूपमा ताज भिराइदिन त सक्ला तर विवेकी स्वभावलाई मनमस्तिष्कमा घुसाइदिन भने सक्दैन । अनेकौँ नवीनताको चुचुरा वर्तमानमा ठडिए पनि मानवीय मूल्य धराशायी भई मानिस मानिससँग नै त्रस्त संत्रस्त कटुयथार्थ जगजाहेर नै छ । हाम्रा वरिपरि देखिएका वैयक्तिकमात्र नभई सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय दुष्प्रवृत्तिमा कहीँ न कहीँ शिक्षाको कारण देखिन्छ । अपराध, दुर्व्यवहार तथा दुर्व्यसनी, भ्रष्टाचार, हिंसा तथा दङ्गा, मानसिक विचलन तथा आत्महत्या, चोरी, ठगी, बलात्कार, शंका, अविश्सास, छलकपट जस्ता विकृतिबाट मान्छ मानिसहरूकै बीचमा एक्लिएको छ, कुहिएको फर्सीझैँ भित्रभित्र धराशायी बनेको छ, सबैतिर निराशा बढेको छ, अझ भनौँ ऊ उद्देश्यविहीन गन्तव्यको पथिक बनेको छ ।

के अब पनि हामी यस्तै बोझ र कष्टपूर्ण जीवन यापन गर्ने चाह राख्नु उपयुक्त होला ? हाम्रो देशमा मात्र होइन यी समस्या विकसित मानिसएका देशहरूमा पनि विकराल रूपमा देखिएका छन् । त्यहाँ पद्धतिअनुसार शिक्षाप्रणाली आकर्षक र प्रभावकारीजस्तो लागे पनि मानवीय आचरणलाई सुधार गर्ने काममा भने कमजोर बनेको छ, त्यहीँ नै मानवीय मूल्यको ठाडो उपहास हुने गरेको देखिन्छ । शिक्षित व्यक्तिको संख्या त बढ्यो तर मानवीय मूल्य मान्यताप्रति मानिसको अवस्था भने औँलामा गन्न मिल्ने यो त प्लाष्टिकको सुन्दर सुन्तलाजस्तो भएन र ? आकारप्रकार त मिल्ने तर रस भने छैन । आज त्यहाँ हुनेगरेका आतंककारी हमला, बोकोहराम र इस्लामिक स्टेतको आतंक, बढ्दै गएको शरणार्थी समस्या के यसका उदाहरण होइनन् र ?

हालसालै अमेरिका, बेलायतमा विभिन्न कार्यक्रममा हुने गरेका अन्धाधुन्ध गोली प्रहार, त्रिपोलीको भग्नावशेष, काश्मीरको वितण्डाले के मानवतावादी सबैलाई उपहास गरेका छैनन् र ? यी यस्तै समस्या तथा गम्भीर चुनौतिहरूको समाधान गर्न पनि अब हामी सबै मिलेर शिक्षा जगत्मा तथा शिक्षण सिकाइ क्रियाकलापमा नवीनताको खोजी गर्नु आवश्यक छ । शिक्षा व्यवसाय होइन, शिक्षा बजार होइन, शिक्षा आडम्बर होइन, शिक्षा त सबैलाई सुख दिने बगैँचा हो, सबैको बुभुक्षा शान्त पार्ने ओखती हो, प्यास मेटाउने पानी हो, शीतलता दिने चौतारी हो । के शिक्षालाई वास्तविक संहिता बनाउन हामी सबै लाग्नुपर्दैन र ? यसप्रति हाम्रो कर्तव्य छैन र ?
मानसिकताअनुसारको उपयुक्त शिक्षा, समय, संगत, क्षेत्र, परिस्थितिअनुसारको अनुकूल शिक्षाबाट नै समाजमा आमूल परिवर्तन गर्न सकिन्छ । यसले नै ज्ञानी, विवेकी, विशेषज्ञ व्यक्तिको निर्माण गर्न सक्छ । विश्वमा चलिआएको सबैप्रकारका शिक्षाप्रणालीको आलोडन–विलोडन गर्ने हो भने मान्छेलाई साँच्चै मान्छे बनाउने नैतिक शिक्षाप्रणालीले नै विश्वलाई सही दिशानिर्देश गर्न सक्छ । यो नै आदर्श व्यक्ति, आदर्श समाज, आदर्श व्यवहार, आदर्श मूल्यमान्यता, आदर्श आचरणको कारक बन्न सक्छ । नैतिक शिक्षा वेदमूलक आचरणमा आधारित हुन्छ । सबै जाति, भाषा, धर्म, संस्कृति, परम्परा, रीतिथितिलाई समेट्ने अनेकतामा आधारित एकताले युक्त शिक्षा प्राचीन गुरुकुलीय प्रणालीमा आधारित शिक्षामा पाइन्छ ।

  • अठारौँ शताब्दीको औद्योगिक क्रान्तिपछि पाश्चात्य मुलुकमा भौतिक उन्नति तथा आधुनिक सुखसुविधामा आश्चर्यजन नवीनता देखा परÞ्यो तर मानिस भने झन् झन् पशुको श्रेणीमा ओर्लन थाल्यो । त्यसकै परिणामस्वरूप प्रथम तथा द्वितीय महायुद्धहरू भए । मान्छे डरलाग्दो मेसीनजस्तै बन्यो, जहाँ भावना, अनुभूति, हृदय भन्ने तत्त्व छँदै छैन, छ त मात्र अर्डर डिजाइन ।

एउटा व्यक्तिले जान्नैपर्ने विभिन्न शिक्षाका विषयहरूमा कम्तीमा पनि ६४ प्रकारको कला भनी त्यहाँ विभाजन हुनुले पनि प्राचीनकालमा अहिलेको एसिया महादेश र मूलतः नेपाल तथा भारतमा विकसित भएको प्राचीन शिक्षाप्रणाली आफैँमा सर्वांगीण भएको पुष्टि हुन्छ । यदि यस्तो प्रणाली विश्वमा स्थापित भयो भने नेपालको समृद्धि, गरिमामात्र बढ्दैन समग्र विश्वमा नै कल्याणको राज्य स्थापित हुन्छ, यस धर्ती नै स्वर्ग बन्छ भने हामी सबैको जीवनपद्धति देवताको जस्तो हुन्छ ।  यही नैतिक मूल्यमा आधारित शिक्षा आवश्यक भएको महशुस गरी समृद्ध अमेरिकी तथा युरोपियन देशहरूमा समर कल्चरल, स्पिरिचुअल क्याम्पको आयोजना हुन थालेका छन्, सामूहित प्रार्थनाको आयोजना हुने गरेका छन्, आधुनिक विशेषज्ञ तथा वैज्ञानिकहरू सम्मिलित संस्थान नासाले प्राचीन वैदिक जीवनपद्धति, आचरण र व्यवहार पूर्णतः वैज्ञानिक भएको पुष्टि गरेका छन्, योग दिवसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।  

अठारौँ शताब्दीको औद्योगिक क्रान्तिपछि पाश्चात्य मुलुकमा भौतिक उन्नति तथा आधुनिक सुखसुविधामा आश्चर्यजन नवीनता देखा परÞ्यो तर मानिस भने झन् झन् पशुको श्रेणीमा ओर्लन थाल्यो । त्यसकै परिणामस्वरूप प्रथम तथा द्वितीय महायुद्धहरू भए । मान्छे डरलाग्दो मेसीनजस्तै बन्यो, जहाँ भावना, अनुभूति, हृदय भन्ने तत्त्व छँदै छैन, छ त मात्र अर्डर डिजाइन । प्रेमबेगरको प्रतिस्पर्धी मानवको क्रिया, सुविधासम्पन्न भएर पनि चैनविहीन मानवजीवन, बाहिरको आँखाले देखे पनि भित्री आँखा बन्ध भएको परिस्थिति, जागृतिविनाको जागिरे जीवन, के यही हो त ? शिक्षाबाट प्राप्त उपलब्धि ? कलाविहीन मानव के साँच्चै मानव नै हो त ? संस्कार र संस्कृतिमा ऐँचोपैँचो गर्नुसट्टा एकलकाटे मानव के साँच्चै मानव नै हो त ? शिरदेखि पाउसम्म तीन हात, वित्तामा फैलिएको मानवशरीरमात्र वास्तवमा मान्छेको द्योतक हो त ? के त्योभन्दा फरक केही हुनुपर्छ तमाम मानवमा ? यसबाट हामीले पूर्वजले अथाह परिश्रम गरेर कमाएको नासोलाई आउने सन्ततिमा सकुशल हस्तान्तरण गर्न सक्छौँ र ? एकछिन विचार गरौँ त हामी सबै मिलेर ।

मातृदेवो भव, पितृदेवो भव, अतिथिदेवो भव, वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः, सत्यमेव जयते, स्वस्ति पन्थामनुचरेम, आत्मवत् सर्वभूतेषु जस्ता चिन्तन सिकाउने नीतिमूलक प्राचीन शिक्षा यही माटोमा उम्रिएको हो । यही माटो र मुटुको सम्मिश्रणस्वरूप विश्वमा सगरमाथाको रूपमा राज गरेको प्राचीन शिक्षालाई वर्तमानमा पुनर्जीवित गराउनु आवश्यक छ । सर्वसम्मान र सर्वहितको निम्ति पनि हामीले गाउँगाउँमा यसको बीउ रोप्नु आवश्यक छ । यही नै वर्तमानको आवश्यकता र हामी सबैको कर्तव्य हो । यही नै हामीबाट पूर्वजको गरिएको सच्चा सम्मान र आगन्तुकका निम्ति मार्गदर्शन हो । अतः वर्तमानमा पनि प्राचीन नैतिक शिक्षापद्धति लागू गर्न तपाईँ हामी आ–आफ्नो तहतप्काबाट उठौँ, जागौँ, जगाऔँ, सही सुरुवातलाई गोडमेल गरौँ, मलजल गरौँ, फुल्ने–फुलाउने वातावरण निर्माण गरौँ, स्वदेशमा मात्र होइन संसारभर नै सगरमाथाको शिरबाट बुद्धको सुवास छरौँ । अस्तु । धन्यवाद ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै