• २०८१ बैशाख ११ मंगलबार

देशका बिभिन्न ठाउमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी छठ मनाइयो 

kharibot

छठ पर्वको अवसरमा बिहीबार गुहृेश्वरी मन्दिर अगाडि बागमती नदीमा छठी माताको पूजाआजाका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालुहरु । तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइएको छ । 

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन् । उनले कमलपोखरीमा पनि स्थापित छठी मातालाई पूजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएकी छन् । 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यस पर्व मंगलबारदेखि शुरु भएको हो । छठको मुख्य दिन आज बेलुकी वर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । ‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट् राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यविना रुख, बिरुवा, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । 

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको उल्लेख छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रसन्न भई वर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्काबाट व्रत गराउने गर्छन् । अर्थ अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । 

व्रतविधि 

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई अलिकति वर्तालुले प्रसादस्वरुप खाने र नून नखाई एक छाक फलाहार गरिन्छ । यस पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआरधाना गरी अघ्र्य दिने विधिविधान रहेको स्थानीयवासी जीतेन्द्र झाले बताए । 

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । सरकारले यस पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष भने छठको भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिइने दिन पनि सार्वजनिक बिदा दिइएको छ । 

छठ पर्वका लागि राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका वर्तालु कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि छठ पर्व सम्पन्न हुन्छ ।

विराटनगर :

मोरङका विभिन्न ठाउँहरूमा छठ पर्वका वर्तालुहरूले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका छन् । 

जलाशयमा मनाइने गरिएको यो पर्वमा वर्तालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अघ्र्य अर्पण गरेका हुन् । 

यसैबीच विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको पूजास्थलसम्म सुतेर दण्डवत गर्दै पुगेका छन् । विगत १४ वर्षदेखि उनी आफ्नो घरदेखि सिंग्याहीखोलाको एक किलोमिटरभन्दा बढीको दूरी सो विधि अपनाएर पूरा गर्नेगर्दछन् । 

उनले लगातार १३ वर्षसम्म आफ्नो परिवारको कल्याणका लागि सुतेर दण्डवत गर्दै पुजास्थलसम्म पुगेको र यसपल्ट नगरवासीको कल्याणको लागि गरिएको बताए । 

कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो भने आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरिएको छ र भोलि उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ । 

विराटनगरस्थित सिंग्याही खोला, केशलिया खोला, नहरलगायत विभिन्न जलाशयहरूमा उल्लासमय वातावरणमा छठ पर्व मनाइरहेको देखिन्छ । हजारौंको सङ्ख्यामा पर्व हेर्नेहरूको उपस्थिति रहेको छ ।

जनकपुरधाम :

छठ पर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजार्चना गरेका छन् । 

व्रतालुहरू यहाँका इतिहासवर्णित सरोवर गङ्गासागर, धनुषसागर, अरगजालगायत पोखरीमा अ सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवामिष्ठान्न गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने चलन छ । 

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटाको हात्ती, सूप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको पवित्रतापूर्वक व्यवस्था गरी साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । 

छठमा अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ । यो पर्व शरद् ऋतुको कात्तिक पष्ठी र वसन्त ऋतुको चैत महिनाको षष्ठीका दिन मनाइन्छ । संख्यात्मक दृष्टिले चैते छठ पर्वमा व्रत गर्नेको सङ्ख्या अपेक्षाकृत कम हुने गरेको छ । 

मानवलाई उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने आदि देवता सूर्यलाई वैदिक कालदेखि नै पुजिएको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ । ऋग्वेदमा सूर्यलाई सबै देवताको स्रोत मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’का रूपले लोकमानसमा ठाउँ पाएको हुन सक्ने विश्वास पाइन्छ । 

छठ पर्वमा अघ्र्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूलले प्रकृतिप्रति कृतज्ञता र केराले विष्णुको वास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश दिन्छ । पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटाको सामग्रीको व्यवस्थापन गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ ।

छठमा शुक्रबार पनि बिदा :

सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि बिदा दिने भएको छ । 

यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै