• २०८१ बैशाख ७ शुक्रबार

फास्ट ट्रयाक निर्माणकार्यले गति लिँदै

kharibot

बारा । राष्ट्रिय गौरवका योजनामध्ये सबैभन्दा चर्चित रहेको काठमाण्डौं—निजगढ फाष्ट ट्र्याक नेपाली सेनाबाट निर्माणकार्य सुरु भएसँगै यसले अहिले गति लिन थालेको छ । राजधानीलाई कम समयमा तराईसँग जोड्ने रणनीतिक राजमार्गको रुपमा रहेको काठमाडौं–तराई दु्रतमार्ग (फाष्ट ट्र्याक)को निर्माणको पहिलो चरणअन्तर्गत काम सुरु भएको हो ।

सरकारले सेनालाई दिँदा समयमै राजमार्गको निर्माण हुने भन्दै द्रुतमार्ग निर्माणको जिम्मा दिएको थियो । ७६.५ किलोमिटर लामो दुरीमा पर्ने दु्रतमार्गको कामलाई अगाडि बढाउन सेनाका टोलीले शिविर खडा गरेका छन् । बाराको निजगढबाट काठमाडौं जोड्ने यस दु्रतमार्गको कामलाई गति दिन शिविर व्यवस्थापन अन्तिम चरणमा पुगेको र केही समयभित्र नै निर्माणकार्यले गति लिने नेपाली सेनाका उपरथी योगेन्द्र बहादुर खाणले जानकारी दिए ।

दु्रतमार्गको कामलाई अगाडि बढाउन स्थलगत निरीक्षणमा आएका उनले शिविर व्यवस्थापनका साथै इन्जिनियरिङ्ग डिजाइनका काम भइरहेको जानकारी दिए । अहिले खोलिएका सडकको ट्र्याकहरुलाई सफा गर्ने, सम्याउने र मोडहरु मिलाउने काम करिब अन्तिम चरणमा पुगेको बताउँदै उपरथी खाणले इन्जिनियरले गरेको डिजाइनअनुसार कामलाई गति दिने जानकारी दिए ।

राष्ट्रिय गौरवका योजनाअन्तर्गत पर्ने यो योजनालाई गुणस्तरीय तरिकाले चार वर्षभित्र सम्पन्न हुने गरी कार्य योजना बनाएर काम अगाडि बढाइएको समेत उनले जानकारी दिए ।

जनतामा उत्साह थपिँदै
फास्ट ट्र्याक निर्माणसँगै मधेश क्षेत्रका बासिन्दा र सरोकारवाला पक्ष पनि उत्साहित बन्न थालेका छन् । सेनाले निर्माणको कामलाई गति दिएकोमा हर्षित हुँदै स्थानीय प्रकाश लम्सालले भने, ‘राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व राख्ने दु्रतमार्ग निर्माणमा नीति निर्माण तहबाट नेपाली सेनालाई काम गर्ने सहज वातावरण बन्नुपर्छ, जसका कारण सेनाले समयमै निर्माण सम्पन्न गरोस् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठ १४ गतेका दिन दु्रतमार्गको शिलान्यास गरेका थिए ।

फाइदै फाइदा
राजधानी जोड्ने राष्ट्रिय राजमार्गका सड्कहरु लामो र खर्चिलो रहिरँदा दुर्घटनाको सम्भावना बढी हुने तथा ढुवानी खर्च र पेट्रोलियम पदार्थको लागत अर्बौंमा जोगिने हुँदा दु्रतमार्गको निर्माणले गति लिँदा आफूहरु उत्साहित भएको तराई यातायात व्यवसायी संघ सिमराका सचिव जिवन कुमार श्रेष्ठले बताए ।

काठमाण्डौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ किलोमिटर गरी कुल ७६ दशमलव २ किलोमिटरको यो सडक निर्माण कार्य १० स्थानबाट आरम्भ गरेर समयमा सम्पन्न गर्ने सेनाले तयारी सुरु गरेको छ ।

मधेशसँगको सम्बन्ध र मुलुकको समुन्नत विकासका लागि यो मार्ग तत्कालै आवश्यक भई सकेको तथा यस योजनाले समग्र मधेशको विकासमा समेत ठूलो अर्थ राखी यसको मुनाफा यसै भेगले पाउँने निश्चित रहेकोले दु्रतमार्गको निर्माण हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै