कथा – ‘एली सुब्बा’

खरीबोट

लेखक : दिनेश कुमार कोइराला

 यो कथा एली सुब्बाको कथा होइन । यो नाकचुच्चेको कथामा एली सुब्बा यसरी आएर ठोक्किई, मानौं यो उसकै कथा हो । मुख्य पात्र भएर पनि नाकचुच्चे कथामा कता कता हराउँछ । पछाडि पर्छ । हुन त ऊ जिन्दगीभर नै कहाँ पो अगाडि भयो र ? 
    

कक्षा एक । पालेले बजाएको टि ..नि.. नि.. – ट्याङ–ट्याङ घण्टीसँगै दोस्रो पिरियड सुरु भयो । दबङ फिल्मका चुलबुल पाण्डेझैंं नेपाली गुरु विजय सरको प्रवेशसँगै कक्षामा चरोमुसो केहीको पनि आवाज सुनिन छाड्यो । भुराहरु सबैले किताब पल्टाए । विजय सरको कक्षा सुरु भयो । 

    “नाकचुच्चे ए..ए..ए.. च..” धोत्रो स्वरमा विजय सरले डल्लीलाई भने “हेर् डल्ली यी यो पिताम्बरको चुच्चेनाक जस्तो च ।”
    डल्लीले पिताम्बरलाई हेर्नुअगाडि नै उसले माथिल्लो ओठनिरै आइपुगेको सिंगानको मुठो स्वाँट्ट नाकभित्र छिरायो । एली सुब्बाले पिताम्बरलाई हेरी, पिताम्बर भुइँ हेर्दै लजायो । 
    पाँच कक्षा पढ्दा एली र पिताम्बरले बिहे गरे । हनुमानेले टिनको बिर्काेमा हलुवा पकायो । घोत्लीले थोत्रो कचौरामा मासु भुटी । बङ्गुरको मासु । पिताम्बरले आफ्नो बिहेमा खसीको मासु खाने चाहनामा डल्ली तगारो बनेकी थिई । 

    “यी काट्छ खसी !” एलीले घाँगर उचाली दिई त्यसपछि सहमतिमा बङ्गुर काटियो । 
    बिहे सकियो । बिहे सकिनासाथ दिउँसै रात प¥यो । चउरको विस्तरामा एली र पिताम्बर सँगै सुते । अली पर अर्कै गाउँमा सुतेका घोत्ली र हनुमानले आँखा छोपेर घुर घुरु गरेपछि पिताम्बरले एलीलाई च्याप्प समात्यो र भन्यो –“डल्ली अब तिमी पाउने 
भयौ ।”

    “पित्तु अब म छोरो पाउँछु ।” एली सुब्बा मख्ख परी । 
तुरुन्तै भोलिपल्ट भो । नवदम्पती घर सल्लाहमा जुटे – 
    “डल्ली अब म सहर गएर धेरै पढ्छु अनि जागिर खाएर तँलाई लिन आउँछु ।”
एली सुब्बा ठुस्स परी । 

          “पित्तु तिमी खुरुक्क लाहुर जाऊ अनि फर्किएर आउँदा मलाई लुगा गहना ल्याइदेऊ ।”
    डल्लीको चाहनाअनुसार पित्तु सानैमा लाहुर हिँड्यो । डल्ली, हनुमाने र घोतलीले पित्तुको निधारमा माटोको टीको लगाइदिए । करेसामा डल्ली पित्तुको शरीरमा टाँसिएर 
रोई । आँखाबाट थुकको आँशु बराबर्ती खस्यो । 

    कक्षा दशमा पुग्दा एली सुब्बा कक्षाकै सबैभन्दा राम्री केटी भई । ऊ हलक्कै बढेकी थिई । गालामा थुप्रिएको मासुले उसका साना आँखा झनै साना बनेका थिए । शरीर छिप्छिपाउँदो जवानीले भिजिसकेको थियो । 

    बिचरा पिताम्बरलाई मलको डोको र अम्रिसाको मुठाले थिचीथिची ख्याउटे बनायो । उस्को चुच्चो नाकको उचाइ गाला चाम्रिएर झनै चुच्चो भो । छिप्छिपाउँदो जवानीले ऊ पनि भिज्यो । 

    एलीलाई के हुन्थ्यो कुन्नी बेला—बेलामा त्यतिकै इत्तरिन्थी । 
    “तिमी त मेरो भाइजस्तै सानो छौ ।” यसो भन्दै ऊ पिताम्बरलाई च्याप्दै 
समात्थी । बिचरा ख्याउटे पिताम्बर एलीको अङ्गालोमै हराउँथ्यो । 

         सपनामा एली सुब्बा काउकुती बढाउन आउँथी । पिताम्बर रातभरि 
छट्पटाउँथ्यो । सुब्बाकी छोरीले रातै भिजाउँथी पसिनै पसिनामा । 

    “हेर पिताम्बर अरु परीक्षाजस्तो हैन । एसएलसी  भन्या एसएलसी हो । डल्लीलाई सिकाउँदा सिकाउँदै आफ्नो परीक्षा बिग्रेला । तँ फेल होलीस् डल्ली फस्र्ट होली ।”
    उनै विजय सरले परीक्षा अगाडि पिताम्बरलाई सम्झाएका थिए । जति सम्झाए पनि आखिर डल्लीको सुख नै पिताम्बरको सुख थियो । एली फष्र्ट हुन्छे भने पिताम्बरलाई फेल हुन पनि मञ्जुर थियो । 

    नभन्दै त्यस्तै भयो । एसएलसीमा एली र पिताम्बर सँगसँगै भए । एलीलाई सिकाउँदा सिकाउँदै पिताम्बर आफू सबै उत्तर लेख्नै भ्याउँदैनथ्यो । पछि रिजल्ट आयो । एली फस्र्ट भई । पिताम्बर फेल भएन । सातौँ भयो । 
    पिताम्बरका बा सामान्य किसान थिए । आमा बितेपछि पिताम्बरले आफ्ना बाको जिन्दगीमा कहिल्यै खुसी देखेन । ऊ सकेसम्म बालाई सघाउँथ्यो ता कि बा हाँस्न सकून् तर त्यो कहिल्यै भएन । वर्षमा एकचोटि अम्रिसो र अदुवा बेचेर अलि अलि पैसा आउँथ्यो बाँकी जीवन उधारै चलेको थियो । 

        समय परिवर्तनशील थियो र त्यही समयसँगै कुनै समयका प्रभावशाली पण्डितको खलक सीमान्तकृत बन्दै थियो । गाउँलेसँगको ऐँचोपैँचो र उनै सुब्बासँगको सापटीले दैनिक क्रियाकलाप त सहज बनाउँथ्यो तर अस्तित्व अनि स्वाभिमान दिनदिनै धर्मराउँथ्यो । 
    “सुब्बा साब, पिताम्बरलाई पढ्न सहर पठाउनुप¥यो । यता बसे भने छोरा बरालिन्छन् । उता गए बरु उतै खुट्टा टेक्लान् । गोडा बिसेक जति सहयोग गर्नुप¥यो ।”
    तिघ्रामा बसेको झिङ्गालाई प्याट्ट हिर्काउँदै सुब्बाले भने –
    “ठूलो जातको मान्छे आँगनमा आइसकेपछि खाली हातै त म कसरी पठाऊँ । अघिल्लो हिसाबको बारे सुब्बेनी के भन्छे उसैलाई पो सोध्छौ कि बाजे ।”
    पिताम्बरका बा र सुब्बेनीको हिसाबकिताब सुब्बालाई थाहा थिएन । यसपटक पनि सुब्बेनीले अघिल्लो पटकको ऋणको ब्याज मिनाहा गरी दिई । 
    “एलीका बा ? यिनलाई दिएर पठाऊँ ?” सुब्बेनी भित्रैबाट कराई । 
    “दे न ओ दे ।”

    थाप्लोमा बीस हजार ऋण थपेर पिताम्बरका बा घरबाहिर निस्किँदा फलैँचामा बसेर सुब्बा हुक्का तान्दै थिए । 
    “किन सल्किँदैन ? हेर्दे न ए !” आँगनमा बसेर डोको बुन्दै गरेको भद्रबहादुर सुब्बाको तमाखु सल्काइदिनथाल्यो । 
    “सुन् त बाजे, काठमाडौंमा मेरो बहिनीको घर छ । पिताम्बरलाई अन्त कोठा नखोज्न भन, उसैकोमा बसोस् गाह्रो अप्ठ्यारो हेर्छे त्यसले पनि ।”
    बानेश्वर हाइटको ठूलो कम्पाउन्डवाला घरमा सुब्बाकी बहिनी एक्लै बस्दी रै’छ । लाहुरे श्रीमानको अनुपस्थितिबाहेक अम्बिका सुब्बालाई केहीको खाँचो थिएन । गला र कानको सुनले सम्पन्नताको झल्को दिएकै थियो । खँदिलो ज्यानमा टिमिक्कै मिलेका आधुनिक वस्त्रले ढलपल जवानीलाई डिलैसम्म छचल्क्याउँथ्यो । 

    “एकसरो सामान सबै छ । केही पुगेन भने मलाई भन ।”
अम्बिका सुब्बाले छिँडीको कोठाको चाबी पिताम्बरलाई दिँदै भनी –
    “भरे मेरोमा खाना खान आउनु, भोलिदेखि आफैँ पकाउनु ।”

    बस्दै जाँदा अम्बिका सुब्बा पिताम्बरको घरबेटी कम साथी बढी भई । बोल्दाबोल्दै प्याट्ट हिर्काउँथी । खाँदा खाँदैको हात समाइदिन्थी । जहिले—जहिले साँझ उसकोमा खाना खान पिताम्बर जान्थ्यो ऊ त्यतिकै टोलाउँथी । आँखा अनौठो अनुग्रहले भिज्दथे । उसका ती रसिला आँखाहरु पिताम्बरलाई एली सुब्बाका आँखाझैँ 
लाग्थे । एली सुब्बा आँखैमा आइदिन्थी । 

    नभन्दै +२ सकेर एली पनि काठमाडौं आई । जवान एलीलाई पिताम्बर र अम्बिकाले एयरपोर्टमा स्वागत गरे । ऊ परैबाट उफ्रिई । ऊसँगै उफ्रिएको उसको जवानी पिताम्बरको आँखैमा खस्यो । 

       पहिला एलीले अम्बिकालाई अँगालो हाली त्यसपछि पिताम्बर एलीको अङ्गालोमा पहिलाजस्तै हरायो । चुच्चो नाक एलीको गालामा ठोकियो । अनौठो एलीको तातो श्वासमा ठस्स रक्सी गन्हायो । 

    ब्याचलरको तीन वर्षे पढाइ अवधिमा पिताम्बरले एलीको मन पढ्यो, तन पढ्यो, पढ्न बाँकी केही छुटाएन । रक्सीको सुरमा सुरवीर बन्न पिताम्बरलाई एलीले कहिले सिकाई, अम्बिकालाई थाहै भएन, जुन दिनदेखि आश्चर्यचकित भई । पिताम्बर सल्कियो वा एली पल्किई कुनै टुङ्गो थिएन । जे होस् अभिभावकको भूमिका निभाउँदै भनी – “बिगार्लास् मेरो बहिनीलाई ।” 

    पिताम्बर र एलीको गाइँगुइँ गाउँसम्मै पुग्यो । सुब्बा रनक्क रन्किए – “त्यो नाकचुच्चे सुब्बाकी छोरी पो ताक्दो र छ हौ गाँठे । तित्रा निमोठेझैं निमोठी पो दिन्छु अनि चाल पाउला ।” 
    यता काठमाडौंमा अम्बिकाले पिताम्बरलाई घर निकाला गरिदिई । कुमारी क्लबनिर कोठा लिएर पिताम्बर टुप्पी कसेर पढ्न लाग्यो । एली बेलाबखत भेट्न गइरहन्थी । भुक्ने कुकुर भुकिरहन्थे । 

    “एली ! तिमीहरुजस्तो हामी धनी छैनौं । मैले राम्रो काम नगरे तिमीलाई पाल्ने हैसियत बन्दैन । ट्युसन पढाएर कति दिन चल्छ र !”
    परिस्थिति त्यस्तै थियो । न त पिताम्बरको परिवारसँग प्रशस्त जग्गा थियो न त अन्य सम्पत्ति । थियो त केवल नाकचुच्चो हुनुको परिचय । बाबुबाजेले जोडेको पण्डितको पगरी । दुनियाँमाथि राज गरेको महाअभियोग । 

    उता सुब्बाको आँखाले देखुञ्जेलसम्मको जग्गाजमिन । नेताहरुसँगको उठबस । आलिशान बसोबास । विदेशी रक्सीको रसास्वादन । बाहुनले पेलेरै नाक थेप्चिएको भन्ने खाले मनरोग । राज्यले मर्न लाहुर पठाएको भन्ने खाले प्रष्टोक्ति । 

    पिताम्बरले पहिलोपटक मै लोकसेवाको लिखित परीक्षा पास ग¥यो । अफिसर लेबल त्यो पनि खुल्लाबाट । त्योभन्दा खुसी उसलाई एलीले बनाई । रातभर एलीलाई उसले पढाएको खेर गएन । जनजाति कोटामा उसको पनि नाम निस्कियो । सपनाले आकार लिँदै थियो । पिताम्बर उसै उसै दङ्ग थियो । 

    इन्टरभ्यु भयो । एली इन्टरभ्यु बिगारें भन्दै थिई । पिताम्बरको राम्रो भो । नाम निस्किनेमा ऊ ढुक्क थियो । तर अपसोच ! परिवारलाई मनसुनको साथ थिएन, पिताम्बरलाई भनसुनको साथ थिएन । आरक्षणको जगजगी थियो, जात, लिङ्ग समुदाय विशेषलाई आरक्षण थियो वर्ग विशेषलाई थिएन ।

    एलीले लिखित पास गरेको खबरले सुब्बा दङ्ग परे । फोन घुमाए सहरका आलिशान महलतिर । 

        रिजल्ट आयो । पिताम्बरको नाम थिएन एली सुब्बाको नाम निस्केको खुसीमै उसले आफ्नो चित्त बुझायो । 
    एलीले नाम निस्केको पार्टी दिई । त्यहाँ उसका धेरै साथीको बीचमा उसले एउटा घोषणा गरिदिई – “साथी हो अब छिट्टै अर्काे पार्टी जम्छ । अबको स्पेसल पार्टी मेरो लाहुरेले दिन्छ ।”

    यति भनिसक्नासाथ उसलाई एउटा गोरा अग्लो केटाले च्याप्प समात्यो र सबैको अगाडि चुम्बन ग¥यो ।     पिताम्बरको चित्त त दुख्यो तर नशामा एलीले यस्तो गरेकी हो भन्नेमा ऊ ढुक्क थियो । 

    त्यो घटनाको एक हप्तासम्म पिताम्बरले एलीलाई भेटेन । एली पनि उसलाई भेट्न आइन । उसले अरुको मुखबाट सुन्यो — एलीको पोष्टिङ विराटनगर भयो । दुई दिनपछि ऊ जाँदै थिई । पिताम्बरले भेट्न बोलायो । ढिलै भए पनि एली आई । 
    पिताम्बरको बिहेको प्रस्ताव इन्कार गर्दै एलीले भनी – 

    “हेर पिताम्बर ! मैले धेरै सोचें बिहे भनेको आफ्नै हैसियतको मान्छेसँग गर्नु राम्रो । तिमीलाई थाहै छ मेरो बाले लाहुरे खोज्छ । तिमीले अफिसरमा नाम निकालेको भए म बालाई एक पटक सोध्थेँ, त्यो पनि भएन ।”    पिताम्बर बोल्नैसकेन । आखिर के हैसियतले बोलोस् ! सुब्बाको ऋणमा उसको स्वाभिमान थिचिएको ऊ बुझ्ने भइसकेको थियो । लामो सन्नाटापछि उसले सोध्यो –
    “तिमी मलाई भुल्नसक्छौ ?”
    “सक्नुपर्छ ।” एली दृढ देखिई । 
    बच्पन सँगै बित्यो । जवानी एक अर्कालाई बुझाए । ती सुख दुःख, ती एकान्तका कहानी । सपना देखाइ अनि एली एक्कासी कठोर भई । पिताम्बरको सम्पति नै उही थिई भिखारी बनाएर गई ।    
       पिताम्बर लाहुर हिँड्यो । पिताम्बरका बाले निधारमा अबिरको टीको लगाइदिए । आँखाबाट बरबर्ती आँशु खस्यो । जब सम्बन्धमा प्रहार भो, पिताम्बर हा¥यो । एली सुब्बा जितेर गई । 

सम्बन्धित समाचार