सहयोगी हातको खोजीमा २२ बच्चाबच्चीकी एक्ली आमा विनिता अर्याल 

खरीबोट

विनिता अर्याल र उनले पालन पोषण गर्दै आएका बच्चाबच्ची , तस्विर : खरीबोट

काठमाडौँ, पाँच कक्षामा पढ्ने एउटी स्कुले विद्यार्थीको खुट्टामा बेन्चले चेपेर बगेको रगतमा जब विनिताको आँखा पुग्यो, अनि आफ्नो टिफिन खाने पैसाले औषधि गर्न पुग्छिन् र यहीँबाट सुरु हुन्छ विनिताको समाजसेवा । तर आफूले उपचार गरिदिएकी विद्यार्थीलाई कस्तो भयो होला भन्ने सोचेर भेट्न जाँदा उसको मृत्यु सौतेनी आमाले कुटेर भएको खबर थाहा पाएपछि विनिताको मन साह्रै रोयो । र यही नै उनको जीवनको टर्निंग पोइन्ट बन्न पुग्यो । यो घटनाले विनितालाई यस्ता आमामाविहीन बच्चाको सेवा गर्न आवश्यक रहेको लाग्यो । 

स्कुल पढ्दै गरेको सानो केटाकेटी उमेर खेल्ने, पढ्ने अनि रमाउने उमेर सबै साथी संगी आफ्ना आफ्ना काममा व्यस्त रहेको समय तर आफू त्यो समयदेखि नै दुःखीको सेवामा लागेको विनिता बताउँछिन् । जनकपुरमा २०४७ सालमा जन्मेकी विनिताको हुर्काइबढाइ भने झापामा भयो । चार दिदीबहिनीमा माइली छोरी हुन् उनी । दुईवटा भाइ पनि छन् । आफ्नी आमाले सधैँ अरुको सेवा गरेको देखेकी विनिता अरुको सेवा गर्न आमाबाट नै प्रेरणा पाएको बताउँछिन् । 

सानै उमेरदेखि खाजा खाने पैसा बचाएर हजुरआमालाई आवश्यक सामानहरु किन्ने बानी परेकी विनिता स्कुलमा एक्टिभ स्टुडेन्ट थिइन् रे । उनी भन्छिन्, ‘स्कुलमा एक्टिभ थिएँ, स्कुलका हरेक क्रियाकलापमा भाग लिन्थेँ, पोजिसन पनि आउँथ्यो ।”

पटकपटक आएको हावाहुरीले घरबार भत्काएको र समस्यामा परेको देखेकी विनिताले भविष्यमा के बन्छेस् भन्ने प्रश्नको उत्तर सधैँ हावाहुरीको कारण समस्यामा परेकालाई एक बोरा चामल दिन्छु भन्थिन् रे । यसबाटै थाहा हुन्छ : विनिता सानै उमेरबाट समाजसेवी बन्न चाहन्थिन् । जुन समाजसेवा कसरी गर्ने भन्नेसम्मको ज्ञान भने उनमा थिएन । 

आजभन्दा आठ वर्षअगाडि काठमाडौँ आउँदा कान्तिपुर पत्रिकामा पाँच जना बच्चाको बारेमा समाचार उनले पढेकी थिइन् । त्यस्तै ६÷६ महिनाको अन्तरालमा बाबुआमा मरेको अनि बच्चा खान नपाएर मर्नलागेको अवस्थाको समाचार पढेपछि प्रहरीसँग सम्पर्क गर्दा जम्मा १८ वर्षको बच्चा आफैँ पाँच जना बच्चाको आमा बन्ने भन्दै धज्जी उडाएको सुनेपछि उनी धेरै दुःखी भइन रे ।

बच्चाको लागि भिख माग्न तयार रहेको बताउने विनितालाई त्यो समयमा राम्रो काम गर्दा विभिन्न आरोप पनि लाग्ने गरेको महसुस भयो । तर उनको निराशालाई चिर्दै जब बाग्लुङ्गको एक गाविस सचिवले फोन गरेर पाँच जना बच्चा लान अनुरोध गरे । यसले भने उनको भुइँमा खुट्टा नै भएन । “५ जना बच्चाको आमा बन्ने कुराले म यति धेरै खुसी भएँ कि लाग्छ म अब उड्दै छु”, उनले सुनाइन्, ‘१८ वर्षकै उमेरमा आमा बन्ने मेरो चाहना अनि त्यो आँट देखेर मम्मीले रोक्नुभएन, यसमा उहाँको भरपुर सहयोग रहेको छ ।’ कुनै योजनाविना गरेको आफ्नो इच्छा, चाहना पूरा गर्न सक्छु कि सक्दिन भन्ने नै त्यतिबेला आफूलाई थाहा नभएको उनको अनुभव छ ।

आफ्नी आमाको साथमा १०, ८, ७ , ५ र २ वर्षका ती बच्चा लिन बाग्लुङ्ग पुग्दा जाडोको समयमा पातलो लुगा लगाएर बसेका साना बच्चा देख्दा उनको मन कँुडियो । एक, दुई वर्षकी बालिका आधा किलोको मात्र थिइन्, उनै बालिकाको अवस्थाले विनितालाई गरिबी के हो भन्ने कुरा सिकाएको उनको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएकाले राम्रोसँग लाउन र खान नपाएका बच्चाहरुले सुरुसुरुमा कुकुर कुकर नै खाना खाने गरेको उनले सुनाइन् । बच्चाको अवस्था यस्तो थियो कि ३० किलो चामल तीन दिनमा सक्थे । पहिलो पटक ल्याएका ५ बच्चालाई स्कुल भर्ना गर्न स्कुलले अनुमति नदिँदा उनी धेरै निराश भइन् । 

आर्थिक अवस्था कमजोर तथा बाबुआमा नभएका बच्चा मात्र नभएर सडकमा फालिएका बच्चा अनि अपाङ्ग बच्चा समेत गरेर २२ जना बच्चाबच्चीको सुसार गर्दै आएकी  विनिता भन्छिन्, “आर्थिक अवस्था कमजोर भएकाले समस्या भएको छ । ”

सडकबाट ल्याएका बच्चाबच्ची सडकमा जान खोज्ने भएकाले सुरुका दिनमा दिसापिसाब गराउन समेत धेरै गाह्रो भएको बताउने विनिताले हरेस भने खाइनन् । बच्चा हुर्काउन कति गाह्रो हुन्छ, त्यो त बाबु आमालाई मात्र थाहा हुने उनको भनाइ छ ।

बच्चाको लागि धेरै संघर्ष गर्दै आएकी विनिता समस्या धेरै रहेको बताउँछिन् । “आर्थिक अवस्था कमजोर भएकाले आधारभूत आवश्यकता पूरा गर्न पनि धेरै समस्या छ”, उनी भन्छिन् । बच्चाबच्ची पाल्ने अनि समाजसेवा गर्नै आफ्नो चाहनालाई पूरा गर्ने क्रममा धेरै दुःख पनि पाइन् विनिताले । जिन्दगीमा कहिल्यै नपरेको दुःख अनि शब्द शब्दमा आँशु छ उनको जिन्दगीमा । जिन्दगीमा धेरै दुःख हुँदाहुँदै पनि संस्था छोड्न सकिनन् उनले । कतिपय अवस्थामा प्रार्थना गरेर बसेको पनि उनलाई याद छ । 

बच्चा पाल्न धेरै पटक अरुसँग माग्दै हिँडेको अनुभव त छँदै छ, देउसीभैलोबाट उठाएको पैसाले घर भाडा तिरेको, दान आएको चामल खाएको र सहयोगमा ५, १० रुपैयाँ समेत मागेको कारुणिक अनुभव छ उनीसँग  ।  तर उनी जिन्दगीमा कहिल्यै हार मानिनन् । धेरै ऋण अनि दुःख भएकाले श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएको उनी सुनाउँछिन् । उनले परिवारबाट भने उल्लेख्य हौसला पाएकी छिन् । उनकी आमा, बहिनी र श्रीमानले उनलाई धेरै सहयोग गरेका छन् ।

धेरै संस्थाहरुले सरकारी सहयोग पाएको र आफू मात्र सहयोगविहीन भएकोमा दुःखी छिन् विनिता । हालसम्म विभिन्न संघसंस्थाबाट सहयोग र स्कुल, कलेजका विद्यार्थीको भोलेन्टियर भन्दा अरु सहयोग उनमा छैन । भन्छिन्, ‘मान्छेलाई लाखौँ कमाउँदा त पुग्दैन, म त यतिमै सन्तुष्ट छु ।’ निरन्तर रुपमा एउटा मात्र बच्चाको विषयमा सहयोग कसैले गरे मात्र पनि खुसी हुने गरेको उनको भनाइ छ । 

खुसीको क्षण 

बच्चा भर्ना गर्न लाँदा भर्ना लिन नमान्ने स्कुलले पछि २२ वटै बच्चालाई निःशुल्क भर्ना गर्न माने । अनि बच्चा बच्चा रमाउँदै स्कुल जाँदाको त्यो क्षण उनलाई सबैभन्दा रमाइलो लाग्यो रे । विस्तारै बच्चामा देखिएको परिवर्तन, पढाइ तथा विविध क्रियाकलापमा प्रथम भएर पाएका पुरस्कारले उनी सबैभन्दा खुसी हुन्छिन् । भन्छिन्, “बच्चाहरु खुसी हुँदै पुरस्कार बोकेर आउँदा धेरै खुसी लाग्छ, मेरो दुःख छोराछोरीले बुझे भन्ने लाग्छ ।” पुरस्कारले हौसल्ला दिन्छ । 

विगतदेखि नै धेरै संघर्ष गर्दै आएकी विनिताको हालसम्म पनि अवस्था दयनीय नै छ । नर्सरीदेखि कक्षा ८ सम्म पढ्ने बच्चाहरुलाई धेरै व्यावहारिक बनाएको बताउने उनी भन्छिन्, ‘बच्चाको क्षमताको आधारमा विविध सीप सिकाएकाले दुई वर्षभित्र ७ वटा बच्चा आफ्नो खुट्टामा उभिनसक्ने हुन्छन् ।’ आफूले ल्याएको बोल्न नसक्ने बच्चा दिसा, पिसाब छुट्याउन नसक्ने बच्चा जो हालसम्म पनि बोल्न सक्दैन, उसले इसाराको भरमा आफूमाथि भएको अन्यायको प्रतिकार गरेको देख्दा उनलाई खुसी लाग्छ । कम्तीमा अन्यायमाथि प्रतिकार गर्नसक्ने बनाएकोमा उनी खुसी छिन् । इसारामा जब बच्चाबाट ममी म बोल्न नसके पनि कम्प्युटर चलाएर बाँच्न सक्छु भन्ने जवाफ पाउँछिन्, उनको आँखाबाट आँशु नै झर्छ । 

भविष्य 

उनलाई आफ्नो भविष्य भनेकै आफ्ना बच्चाहरु हुन् । ‘आर्थिक समस्याले गर्दा मापदण्डअनुसार बच्चा राख्न सकेकी छुइनँ, मापदण्डअनुसार बच्चा राख्ने ठूलो रहर छ’, उनले भनिन् । सुरुवाती समयमा पानी खान घिनाउनेले अहिले खाना खान आउँछु भन्दै फोन गर्दा संस्थामा धेरै सुधार आएको महसुस उनले गरेकी छिन् । भन्छिन्, ‘पानी खान घिनाउनेले आज तिम्रोमा खाना खाने भनी फोन गर्दा खुसी लाग्छ ।” आफ्नो संस्था परिवार छ र भविष्यमा अफिसियल तथा हाइजेनिक बनाउने उनको सपना छ । यसको लागि सबैले सहयोग गर्नेछन् भन्नेमा उनी ढुक्क छिन् । छोराछोरीले ठूलो भएपछि डाक्टर, वकिल बन्छु भन्दै कुरा राख्दा उनी खुसी हुन्छिन् । आफुलाई जे बन्ने इच्छा, चाहना र क्षमता छ, त्यही बन्नुपर्छ भन्दै हौसाउने विनिताको बानीले बच्चा सबै दङ्ग छन् । इच्छाअनुसार पढाइसँगै कुक, ब्युटिपार्लर, डान्स, कम्युटरलगायतको सिकाइमा भर्ना समेत गरिदिएकी छिन् । बच्चा जे बन्न चाहन्छन्, त्यसको लागि आफू जस्तोसुकै दुःख गर्न पछि नहट्ने उनको दृढ संकल्प छ । 

अपिल 

लामो समयदेखि समाजसेवामा लागेकी विनिताले आर्थिक सहयोग नमागेको बताइन् । भन्छिन्, ‘आवश्यक सामान दिनु नै आर्थिक सहयोग गरेजस्तै हो, आखिर पैसाले पनि सामान   नै किन्ने हो । यदि हरेक व्यक्तिले थोरै भए पनि आफूले गर्नसक्ने सहयोग गरे, त्यो नै ठूलो सहयोग हुन्छ  ।’ भन्छिन्, ‘ठूलो सहयोग पर्दैन एक डल्लो सामान मात्र पनि सहयोग गरे  मलाई सहयोग पुग्छ ।’ 

संस्थाले नै प्यारी बनायो 

सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी विनिता घरमा सासूससुराकी सबैभन्दा मन नपर्ने बुहारी बनिन् । कारण क्षेत्रीकी छोरीले बाहुनको एक मात्र छोरोसँग गरेको विवाह हो । विवाह गरेको समयदेखि नै बुहारीसँग राम्रो व्यवहार नगर्ने सासूससुरालाई उनले रिझाउन सकिनन् । उनी थप्छिन्, ‘तर जब हाम्रो बाल संरक्षण धरोहर नेपाल संस्थाको समाजसेवी भन्दै सबैले गुनगान गाउनथाले, अनि सासूससुरा पनि राम्रो काम गरेको भन्दै प्रशंसा गर्न थाले ।’ कहिलेकाहीँ घर जाँदा सबैले समाजसेवी भन्दै स्वागत गर्दा उनको मन प्रफुल्ल हुने गरेको उनले बताइन् ।

सम्बन्धित समाचार

जनताको समस्यामा सहयात्री बनेर सहयोग गर्छु : एमाले प्रदेशसभा उम्मेदवार कार्की

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेश ‘ख’ नेकपा एमालेको तर्फबाट उम्मेदवार कुसुम कुमार कार्कीले आफ्नो क्षेत्रको विकास गर्न थुप्रै विकासका नीतिहरु अघि सारेका छन् । उनले आफूले देश र जनताको लागि

रोशनको पौरखले उज्यालो काठमाडौँ 

काठमाडौँ । २०४४ सालमा आमा सुमन र बुवा शिवशंकर श्रीवास्तवको जेठा छोराको रुपमा रौतहटमा जन्मिएका हुन् रोशन श्रीवास्तव । सानामा उनी एकदमै चञ्चले र बदमास स्वभावका उनी बाल्यकाल भन्नेबित्तिकै स्कुल

युट्युबका कारण म्यूजिक भिडियोको बजार विश्वव्यापी भयो - समन अधिकारी, म्यूजिक भिडियो निर्देशक

काठमाडौँ । समन अधिकारी मुलतः संचारकर्मी हुन । संचार कर्ममा पनि उनको रोजाईको क्षेत्र टेलिभिजन हो । उनले नेपालको पहिलो धार्मिक तथा अध्यात्मिक च्यानल भक्तिदर्शन टेलिभिजनमा प्रमुख भएर लामो समय

जनआन्दोलनमा आफू बाचेकोमा पछूतो छ - घाइते नन्दप्रसाद रुपाखेती

काठमाडौँ । नन्द प्रसाद रुपाखेती आमा भगवती र बाबु भगनाथ रुपाखेतीको कान्छा छोराको रुपमा २०३४ सालमा धादिङको जीवनपुरमा जन्मिएका हुन् । डेढ वर्षको हुँदा उनका बाबु बेपत्ता भएको कारण उनले