• २०८१ बैशाख ७ शुक्रबार

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

kharibot

काठमाडौँ ।  मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ । 

सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए । धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको मेनका खड्काले गुनासो गरे । 

एक हप्तासम्म सुन्दरीजल क्षेत्रकै धारामा पानी नआएपछि बुधबार स्थानीयवासीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल प्रशोधन केन्द्रका प्रमुखलाई भेटी नियमित पानी वितरणको व्यवस्था मिलाउन माग गरे । 

लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराई वाग्मतीको पानी लगेर मेलम्चीको प्रशोधन केन्द्र र पाइपमा परीक्षण गर्दा पानी आपूर्तिमा अवरोध नहुने गरी गर्ने सम्झौता भएको बताउछन् । सुन्दरीजल जलविद्युत् केन्द्रमा मर्मत भइरहेकाले पनि पानी कम वितरण भएको हुनसक्ने उनको भनाइ छ । 

मेलम्ची खानेपानी आयोजनाले भने पानी परीक्षण गरेर पुरानै सञ्जालमा फर्काइने व्यवस्था मिलाइएकाले धारामा पानी बन्द हुनुपर्ने कारण नरहेको जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पानी परीक्षणले नभई अन्य कारणले नै अवरुद्ध भएको हुन सक्ने बताए । 

“प्रशोधन केन्द्रका छ वटा कक्षमा पानी परीक्षण भइसकेकाले अब चार दिनमा बाँकी दुई कक्ष पनि परीक्षण गरी सकिने छ, प्रशोधन केन्द्र परीक्षण सकेपछि पाइपको परीक्षण लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले गर्नेछ”, उनले भने । 

पानी अवरुद्ध भएको गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मानन्धर पुरानो सञ्जालको पानी नयाँ प्रशोधन केन्द्रमार्फत नयाँ सञ्जालबाटै परीक्षण गर्दा पुरानो सञ्जालमा पानी नआएको हुनसक्ने बताउछन् । 

पानीको स्रोत भएकै स्थानमा पानी नदिई अन्यत्र वितरण नगर्न लिमिटेडलाई पटक–पटक अनुरोध गरिए पनि नमान्दा स्थानीयवासीले पानी नपाएको उनले सुनाए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै