• २०८१ बैशाख ७ शुक्रबार

शताब्दी पुरुषको उपाधि पाएका संस्कृतिविध सत्यमोहन जोशी

kharibot

बाल्यकालमा उनी बिरामी परिरहन्थे । उनी अर्थात् सत्यमोहन जोशी । तर एकपटक उनकी आमाले सुंगुरको मासु खान दिइन् । त्यसपछि अहिले ९७ वर्षको उमेरसम्म पनि ठम्ठम्ती हिँड्छन् उनी ।

संस्कृतिविद् सत्यमोहन जोशी लोकसंस्कृति र इतिहासका जिउँदो पुस्तकालय नै हुन् । ललितपुरको बखुम्बहालस्थित उनको घरमा प्रायः कोही न कोही नेपालीहरु संस्कृति र कलाबारे सोध्दै झिँजो लगाउन पुगिरहेकै हुन्छन् ।

तर, उनी दिक्क मान्दैनन् । कसैले जान्न खोजेका र सोधेका कुरा उदाहरण र सन्दर्भसहित बताउँछन् । शताब्दी चार वर्ष मात्रै बाँकी रहेका अर्थात् अहिले ९७ वर्षमा हिँडिरहेका उनी नथाकुन्जेल बात मारिरहन्छन् । थाकेपछि आफ्नै शैलीमा भन्छन्, ‘बाँकी भोलि पर्सि गरौं न है !’

हुन पनि उमेरको यो उचाइमा सक्रिय जीवन बाँच्नु चानचुने कुरा होइन । सत्यमोहनले यस घडीसम्म चानचुने जीवन पनि बाँचेनन् । नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा विकासमा उहिलेदेखि अहिलेसम्म अगुवा जसरी डटिरहेकै छन् । र त कतै संस्कृतिको केस्रा पल्टाउनुपर्यो कि पहिलो क्रममा सिफारिस गरिने नाम उनकै हुन्छ ।

पछिल्लो समय सत्यमोहनले किताब पढ्ने कामबाट विश्राम लिएका छन् । बजारमा पुस्तकबारे आउने थरिथरि हल्ला सुनेर उनी दिक्क हुँदा रहेछन् ।

कहिले फलानोको धर्मसम्बन्धी किताब आएको छ भन्छन्, ‘कहिले फलानाले यस्तो पुरस्कार पाएको किताब आयो भन्छन्, कहिले ठूलै मान्छेको आत्मकथा आयो भन्छन् । मलाई चाहिँ वाक्क लाग्यो’, उनले यसको कारण पनि बताए, ‘त्यो पढेर के गर्ने हो ? जीवनको उत्तराद्र्धमा त्यस्ता गाथा गाइएको किताब पढेर के काम लाग्नु ?’

दशकौं अरुको पढेर, सुनेर, बुझेर आएका उनी हालका वर्षहरुमा अरुको मात्र कति पढ्नु भन्ने मनस्थितिमा पुगेका छन् । उनले भने, अरुको मात्र पढ्ने होइन, आफूले पनि त दिन सक्नुपर्यो नि ! राष्ट्रलाई मैले केही न केही दिन सक्नुपर्याे भन्ने लागिरहन्छ ।

अन्तिम समयमा केही दिन सक्यो भने जाती हुन्छ भन्ने सोचले उनी नयाँनयाँ सिर्जनामा तल्लीन छन् । यसैले किताब पढ्नबाट छुट्टी लिएका रहेछन् । वयोवृद्ध उमेरमा सिर्जनामा व्यस्त भइरहे पनि उनी ज्यान गल्दै जाँदा आफैंबारे भन्न थालेका छन्, ‘ज्ञानको भण्डार ओइलाउँदै गयो अब । सेलायो । जमानामा चाहिँ गरिएकै हो !’

संस्कृति र लोकसंस्कृतिको क्षेत्रमा उनले पुर्याएको योगदानलाई विशेष मानिन्छ । उनी भने आफ्नो कृतिमध्ये नेपालका राष्ट्रिय विभूति तथा वास्तुकलामा दक्ष अरनिकोबारे लेखिएको कलाकार अरनिको पुस्तकलाई उल्लेख गर्न रुचाउँछन् ।

यो कृति ०४४ सालमा विजय गजानन्द वैद्य प्रकाशक रहेर साझा प्रकाशनबाट छापिएको थियो । त्यसवेला आफ्नो किताब निस्किएपछि अरनिकोबारे नेपालमा थप चासो बढेको उनी सम्झिन्छन् ।

उनले भने, ‘त्यसबेला चीन नपुग्ने मान्छे कोही थिएनन् । राजादेखि राजाका नातेदार, मन्त्री, राजदूतहरु, खेलाडी, कलाकार, लेखकसम्मका सारा पुगेर आए । तर तीमध्ये कसैले पनि नेपाली कलाकारले बनाएको प्यागोडाबारे चर्चा गरेनन् ।’

सत्यमोहनले कामको सिलसिलामा चीनमा एक पटक चार वर्ष र पछि दुई वर्ष गरी ६ वर्ष बस्ने मौका पाए । सोही वेला उनले फुर्सदको समयमा सोखका रुपमा खोज अनुसन्धानको काम गरे । त्यस क्रममा बेइजिङ लगायतका ठाउँ घुमेर अरनिकोको कलाबारे अध्ययन गरेका थिए ।

बेइजिङमा अरनिकोले श्वेत चैत्य महाविहार बनाएका थिए, जसलाई ह्वाइट प्यागोडा समेत भनिन्छ । अरनिकोले आठ वर्ष लगाएर श्वेत चैत्य बनाए । अर्को आठ वर्ष लगाएर श्वेत चैत्यलाई बिहार बनाए । आजभन्दा सात सय वर्षअघिका प्रतिभा थिए अरनिको । प्यागोडा शैलीका मन्दिर बनाउन दक्ष मानिने उनले त्यतिवेला नेपाली कलाकारहरुको नेतृत्व गर्दै वास्तुकला र धातुकलालाई चीन र तिब्बतमा प्रसार गरेका थिए ।

०४० को दशकमा सीमित स्रोतसाधन, चीनियाँ भाषाको सीमा लगायत सबै चुनौती चिर्दै सत्यमोहनले अरनिकोबारेको सारा तथ्य पत्ता लगाएर पुस्तकाकार रुप दिए । दुई सय ३० रुपैयाँ पर्ने यो किताब बजारमा पाइन्छ । तर, किनेर पढिदिँदैनन् मान्छे, गुदी कुरामा मान्छेको रुचि घटेकोमा नमज्जा मान्छन् उनी ।

अरनिकोको श्वेत चैत्यबारे उनले ०४० सालमा नेपाल भाषामा महाकाव्य समेत लेखेका थिए । जुन गत वर्ष अणुराम जोशीको अनुवादमा नेपालीमा ‘अरनिकोकृत श्वेत चैत्य’ शीर्षकमा प्रकाशन भएको छ । नेपालको प्रतिष्ठित मानिने मदन पुरस्कार तीनचोटि पाउने एकमात्र हस्ती सत्यमोहन नै हुन् । उनी हाँस्दै भन्छन्, ‘एक चोटि भेट्टाउन त गाह्रो छ, मैले तीन चोटि पाएँ ।’

कस्तो भने, मदन पुरस्कारको स्थापनासँगै पहिलोपटक ०१३ मै यो पुरस्कार संयुक्तरुपमा पाउनेमा चित्तरञ्जन नेपाली र बलराम जोशीसँगै उनी पनि थिए । त्यसपछि नेपाली राष्ट्रिय मुद्धा का लागि ०१७ सालमा र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा ०२८ सालमा सो पुरस्कार पाए ।

नेपाली भाषा उत्पत्ति भएको थलो जुम्लाको सिँजा उपत्यका पुगेर उनी नेतृत्वको पाँच जनाको टोलीले स्थानीय संस्कृतिको अध्ययन र्गयो । फर्केपछि पाँचैं जनाले कर्णालीको लोकसंस्कृतिबारे एउटा एउटा किताब लेखे । जोशीका साथै प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ र स्थिरजंगबहादुर सिंहले लेखेको किताब तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले छापेको थियो ।

संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान र्पुयाएको भन्दै त्रिमूर्ति निकेतनले ०७१ साल मंसिर १५ गते उनलाई शताब्दी पुरुषको उपाधिसहित सम्मान गरेको थियो । उमेर त मेरो त्यस्तै ९५ वर्ष जति थियो, पाँच वर्ष गे्रस दिएर शताब्दी पुरुष मानियो । सय वर्षसम्म त बाँचिन्छ बाँचिन्न ! भरोसा नभएको जीवनलाई जिस्काए उनले ।

त्रिचन्द्र कलेजबाट बीएसम्म अध्ययन गरेका सत्यमोहन डा. समेत हुन् । लोकसाहित्यमा लागेकोले कदरस्वरुप काठमाडौं विश्वविद्यालयबाट उनले ०६८ सालमा मानार्थ महाविद्यावारिधिको उपाधि पाएका थिए । आफ्नो सक्रिय उमेरमा साहित्य-संस्कृतिमा काम गरे पनि सरकारले केही नदेखेकोमा खिन्न मान्छन् उनी । अलि बुझ्ने मान्छेलाई आफ्नो कामबारे केही थाहा भए पनि नजान्नेलाई के न के गरे जस्तो हुने भन्दै उनी छेड हान्छन् ।

मरेपछि कसैले रिसर्च गर्ला अब ! यतिबेला त खै अब, सरकारले पनि केही गरेन, उनले खुइय्य गरे । अहिलेको बजारु प्रवृत्तिबारे जानकार रहेछन् उनी, आजलाई थाकेँ, बिसाऔं भन्नुअघि उनले भने, उदेक लाग्छ, कसैको चाहिँ अलिकति केही भयो भने यहाँ कति ठूलो प्रचारबाजी हुन्छ !

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै