डोटी । भीमदत्त राजमार्गअन्तर्गत् डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा मंगलबार दुई यात्रीबाहक बस एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
अरु २४ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा देहिमान्डौं बैतडीकी ८० वर्षीया द्रौपती भण्डारी र पर्शुराम नगरपालिका–१४ का विक्रम बोहरा छन् ।
डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना४ख ६८५६ र महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना५ख ६०८१ नम्बरका बस मंगलबार मध्याह्न १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरुको परिचय खुलिसकेको छैन ।
घाइते भएका २४ जनामध्ये गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ । बाँकीको डडेल्धुरामा उपचार भइरहेको घटनास्थलमा रहेका प्रहरीचौकी गैराका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेशबहादुर चन्दले जानकारी दिए ।