• २०८१ बैशाख ६ बिहीबार

संसद बैठक : बाढीपहिरो पीडितको उचित व्यवस्थापन गर्न सांसदहरुको माग

kharibot

फाइल तस्विर

काठमाडौँ, व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले मुलुकभर बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्थापन गर्न माग गरेका छन् । 

सांसद चन्द्रकान्त भण्डारीले मुलुकमा अपार प्राकृतिक स्रोतसाधन भएपनि आर्थिक दुरावस्था र जनताका जनजीविकाका समस्या यथावत् रहेको र जनताले सामान्य औषधि उपचारसमेत नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद श्रीमाया थकालीले मुस्ताङमा पहिरोले भएको क्षतिका बारेमा जानकारी गराउँदै बेनी–जोमसोम बाटो स्तरोन्नति गर्न माग गरे । सांसद नारायणबहादुर कार्कीले अस्थायी शिक्षकका जायज माग अविलम्ब पूरा गरी शिक्षाको गुणस्तर सुधार्न माग गरेका छन् । 

सांसद गौरीशङ्कर चौधरीले कैलालीमा अबिरल वर्षाले डुबान भएको भन्दै वर्षायाममा जिल्लाबाट राजधानी जोड्ने एकमात्र विकल्प हवाई यातायातमा दैनिक दुई मात्र विमान भएको र हवाई भाडामा सिण्डिकेट सुरु भएकामा सरकारको ध्यानाकर्षण गराए । 

सांसद लीलादेवी श्रेष्ठले मुलुकमा ८० हजार किमी सडक भएपनि स्तारोन्नति नभएका कारण दुर्घटना बढ्दै गएकाप्रति ध्यानाकर्षण गराइन् । सांसद जनकराज चौधरीले गएरातिको अबिरल वर्षाका कारण कैलालीमा थुप्रै बस्ती जलमग्न भएकाले पीडित परिवारलाई हात दिन आग्रह गरेका छन् । 

सांसद अइन्द्रसुन्दर नेम्बाङले विदेशमा काम गर्ने कामदारलाई अनलाइन मार्फत भए पनि मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था गर्न माग गरे । सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा के हुने त्यसबारेमा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने माग गरेका छन् । 

सांसद मीना पुनले अबिरल वर्षाका कारण बागलुङमा बाढी पहिरोले कैयाँैका घरमा क्षति हुनुका साथै केहीको मृत्यु र बेपत्ता भएको भन्दै शीघ्र खोजबिन गर्न र आवश्यक राहतको व्यवस्था गर्न माग गरिन । 

सांसद पवनकुमार शारदाले व्यापारघाटा घटाउन औद्योगिक क्षेत्र बढाउन पर्ने माग गरेका छन्। सांसद रुक्मिणी चौधरीले निर्वाचन क्षेत्र निर्धारण आयोग समावेशी नभएको भन्दै आयोगमा महिलाको प्रतिनिधित्व गर्न माग गरे ।

सांसद लक्ष्मण राजवंशीले मुलुकमा ठूलाठूला भ्रष्टाचारका घटना हुँदै गएको भन्दै कर फछ्र्योटमा भएको २० अर्बको घोटालामा अन्य ठूला पदमा रहेका व्यक्ति पनि भएको हुनसक्ने भन्दै छानबिन गर्न माग गरे । सांसद जनकराज जोशीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्ने हो भने संसद्मा विचाराधीन विधेयकमा सोहीअनुसारको संशोधन गर्दा सहज हुने धारणा राखे । 

सांसद रामहरि खतिवडाले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनामा निर्माण चीनको विवादित गेजुवा कम्पनीलाई दिन लागिएको प्रति आपत्ति जनाए । सांसद लालबहादुर रावलले बझाङमा बाढी पहिरोले यातायात अवरुद्ध भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । 

सांसद निशाकुमारी साहले संविधानले व्यवस्था गरेको पैत्रिक सम्पत्तिमा लैङ्गिक समान हकको व्यवस्था उपयुक्त कानुन बनाई लागू गर्न माग गरिन । सांसद रेशमबहादुर बानियाँले म्याग्दीमा आएको बाढीबाट भएको क्षतिका सम्बन्धमा ध्यानाकर्षण गराउँदै उचित राहत र बाढीपहिरोको रोकथामको व्यवस्थापन गर्न माग गरे । 

सांसद हर्कबोल राईले राजनीतिक दलले शहिद घोषणाको माग गर्दै जाने र सरकारले पनि घोषणा गर्दै जाने प्रवृत्तिले सच्चा शहिदप्रति सम्मान नहुने भन्दै त्यसको स्पष्ट आधार र मापदण्ड बनाउन माग गरे । सांसद श्यामकुमार श्रेष्ठले संविधानअुनसार अब बाँकी निर्वाचन गर्न ंसमय कम छ भएकाले आवश्यक कानूनी व्यवस्था गरी एकैपटक गर्दा उचित हुने धारणा राखेका थिए । 

सांसद ज्ञानकुमारी छन्त्यालले बागलुङमा पहिरोले भएको जनधनको क्षति भएको भन्दै मृत्यु भएकालाई क्षति दिनुपर्ने र सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ हुन नसकेको गुनासो गरे । सांसद नरदेवी पुनले म्याग्दीमा बाढीपहिरोका कारण बस्ती नै विस्थापित भएको भन्दै बस्तीलाई सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरिन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै