• २०८१ बैशाख १३ बिहीबार

देशका विभिन्न ठाउमा पहिरो, उद्धार र राहतको काम जारी

kharibot

नारायणगढ-मुग्लिन सडकखण्डमा गएको पहिरो , फाइल तस्विर

काठमाडौँ, वर्षायाम सुरु भएसँगै मुलकका विभिन्न ठाउमा बाढी पहिरो जाने क्रम बढेको छ ।

बाग्लुङको बाहुनगाउँमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । त्यस्तै नारायणघाट-मुग्लिन सडकखण्डमा गएको पहिरोले हरेक दिन बाटो अवरुद्ध भइरहेको छ । मुग्लिन नारायणगढ बाहेक नवलपरासीको दाउन्नेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने बुटवल-पाल्पा सडक खण्डपनि पहिरोका कारण अवरुद्ध भएको थियो ।

त्यस्तै म्याग्दीको पहिरोले थुनिएको मराङ खोला अहिले खुलेको छ भने पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । गएराति परेको पानीले बांगाबगरमा सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको हो । देशभरबाट पहिरोले सडक अवरुद्ध भएको र मानिसले ज्यान गुमाएका खबरहारु प्राप्त भएका छन् । सरकारले सधै बर्षायाममा जाने पहिरोका लागि कुनै सतर्कता अपनाएको देखिएको छैन । 

बाग्लुङ : तीनजनाको ज्यान गयो

घरमाथिबाट खसेको पहिरोमा परी बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा दुईजनाको ज्यान गएको छ । ६३ वर्षीया नन्दकली छन्त्याल र उनकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल पहिरोमा बेपत्ता भएका छन् ।  घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए । 

यस्तै, पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको ज्यान गएको छ । उनकी श्रीमती र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार निसीखोला गाउँपालिका–१ हुल्दीमा पनि एक महिला पहिरोमा बेपत्ता भएकी छन् । लालबहादुर सिँजालीको अन्दाजी ६५ वर्षीया आमा (नाम खुल्न नसकेको) बेपत्ता भएको प्रहरीले जनाएको छ । 

भीषण वर्षापछि गएराति ठाउँ–ठाउँमा गएको पहिरोले धनजनको क्षति पु¥याएको हो । “जिल्लाको पश्चिम भेगका थुप्रै ठाउँमा पहिरो गएको छ”, उपरीक्षक खापुङले भने, “घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ ।” 

कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दासमेत उद्धारमा खटेको जनाइएको छ । गत वर्ष पनि जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिरोले ठूलो क्षति पु¥याएको थियो । 

घटनास्थलमा उद्धार र राहतलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी खटाएको जनाइएको छ । अन्य सामाजिक सङ्घसंस्था पनि राहतका लागि जाने तयारीमा छन् । 

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले सडक बगायो 

ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डको भालुढुङ्गामा गएराति पहिरोले सडक बगाउँदा समस्या थपिएको छ । 

नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २७ किलोमिटरको दूरीमा रहेको भालुढुङ्गामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको छ । तीन मिटर नै हाराहारी लम्बाइ बगेपछि तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम थालिएको उनले बताए । 

सडकका अन्य ठाउँको पहिरो पन्छाउँदै गर्दा बगेको सडक मर्मत गरिसक्ने गरी काम थालिएको छ । सो सडकका १० ठाउँमा ठूला पहिरा खसेका छन् भने ठाउँठाउँमा साना पहिरा झरिरहेपछि सडक अवरुद्ध बनेको छ । बुधबार साँझदेखि अवरुद्ध बनेको सडकको संवेदनशील क्षेत्रका बीचमा फसेका गाडी बिहीबार साँझ सडक एकतर्फी खोलेर गन्तव्यतर्फ पठाइएको थियो । 

शुक्रबार बिहानदेखि दुईतर्फी सडक सञ्चालनका लागि काम भइरहेको खनालले बताए । दिउँसोसम्म सडक सञ्चालनका लागि दमौलीबाट एउटा लोडरसमेत झिकाइएको छ । ती ठाउँका पहिरो पन्छाउन मुग्लिनतर्फ तीन लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सीमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर खनालका अनुसार १० ठाउँमा ठूला पहिरो खसेका हुन् । अन्य भित्तो काटिएका ठाउँमा साना पहिरो खसेका छन् । मुग्लिनदेखि गाईघाटसम्मको १७ किलोमिटर क्षेत्रमा पहिरो खसेको हो । मुग्लिन नजिकै एउटा ठूलो पहिरो खसेको छ । 

त्यसैगरी, मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ चेपाङडाँडादेखि कालीखोलासम्मको पाँच सय मिटरमा तीनवटा ठूला पहिरो खसेको खनालले बताए । 

यसैगरी, मुग्लिनबाट ३.५ किमी टोपीखोला, चार किलो भन्ने ठाउँ, ४.५ किमी चोरखोला, सात किलो जलवीरे, नौ किलो भालुढुंगा र १४ किलो केराबारीमा एक–एकवटा ठूला पहिरा खसेको उनले बताए । तीन दिनदेखि सडक अवरुद्ध भएपछि यात्रु सडकमा अलपत्र परेका छन् ।

पाल्पा : दोभानमा पहिरो

वर्षातका कारण पहिरो खस्दा अवरुद्ध बनेको पाल्पा–बुटवल सडकखण्ड विहिबार साँझ देखि एकतर्फीरुपमा सञ्चालन भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानस्थित प्रहरी चौकी नजिकै पहिरो खसेको हो । 

बुधबार अपराह्न ४ बजे पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज बिहानदेखि एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हरिराज वाग्लेले जानकारी दिए । सडकमाथिबाट ठूलाठूला ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । 

लामो समयसम्म सडक सञ्चालन नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको थियो । ठूला ढुंगासहितको पहिरो पन्छाउन कठिन भएकाले पूरै सडक सञ्चालन गर्न नसकिएको प्रहरीको भनाइ छ । 

मुग्लिन–नारायणघाट सडकको विकल्पका रूपमा रहेको सो सडक अहिले काठमाडौँबाट नेपालको पश्चिमतर्फ छुट्ने बस यही बाटो हुँदै गुड्ने गरेका छन् । पाल्पा–बुटवल सडकखण्डमा अहिले यात्रुको चाप बढ्दो छ । 

नवलपरासी : दाउन्नेमा पहिरो 

नवलपरासीको दाउन्नेमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ । स–साना पहिरोले दाउन्नेका सडक अवरुद्ध भइरहेका बेला तीन दिनदेखिको लगातारको वर्षाले दाउन्नेको एस मोडमा ठूलो पहिरो गएको हो ।

पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भएपनि निरन्तर बर्षा भइरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा रहेको प्रहरी बिट नजिक पहिरो खस्दा यातायात अबरुद्ध भएको हो । पहिरो खसेपछि सवारी साधन तथा यात्रुहरु ८ घन्टादेखि अलपत्र छन् । प्रहरीले शुक्रबार अपरान्हसम्म सडक खुल्ने बताएको छ ।

म्याग्दी: पहिरोले थुनिएको मराङ ठूलोखोला खुल्यो 

म्याग्दीको धौलागिरि गाउँपालिका–६ कोटबाट खसेको पहिरोले थुनिएको मराङ ठूलोखोला प्राकृतिक रुपमा नै खुलेको छ ।  छिमेकी मल्कवाङको सिमाना आसपासबाट खसेको पहिरोले बिहीवार दिनभर मराङ खोला थुनिएको थियो । खोला थुनिएपछि आसपासका तटीय क्षेत्रका साथै मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोला आसपासमा रहेका बस्तीका सर्वसाधारणसमेत त्रसित भएका थिए । 

स्थानीयवासी गमबहादुर गर्बुजाले दिएको जानकारीअनुसार पहिरोले मराङ लघुजलविद्युत्को कुलोमा पनि क्षति पुगेको छ । मानवीय क्षति नभए पनि करिब २० रोपनी खेतीयोग्य जमिन बगाएको छ । 

“पहिरोले थुनिएको खोला बिस्तारै खुल्यो, अहिले खतरामुक्त छ”, गर्बुजाले भने । उनका अनुसार बुधबार र बिहीबार पहिरोको कारण पश्चिम म्याग्दीको जनजीवन प्रभावित बनेको थियो । 

बर्खाको समयमा खोला थुनिएको हल्ला चलेपछि दरवाङवासीसमेत त्रसित भएका थिए । खोलाको माथिल्लो क्षेत्रबाट खसेको पहिरोले थुनिएको मराङ खोलाको अवस्था बुझ्न इलाका प्रहरी कार्यालय दरवाङबाट समेत प्रहरीको टोली खटिएको थियो । थुनिएको खोला बिस्तारै खुलेपछि जोखिम टरेको थियो । खोला खुलेसँगै तटीय क्षेत्रमा त्रसित अवस्थामा रहेका सर्वसाधारण घर फर्किएका छन् ।

यसैबीच, बिहीबार जिल्लाभरको जनजीवन प्रभावित भएको छ । बेनी नगरपालिका–१० पात्लेखेतमा पहिरोले पुगेको क्षतिको स्थलगत अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो ।

बैतडी : महाकाली राजमार्ग अवरुद्ध

गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।  बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ७ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीय बासिन्दा सुरेश श्रेष्ठले जानकारी दिए । 

बांगाबगरमा माथिबाटआएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । अवरुद्ध सडक खुलाउन जेसिवी लगाइएको र दिउँसोसम्म सडक पुनः सञ्चालनमा आउने प्रहरीले जनाएको छ । 

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला र बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । 

विसं.२०६०मा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।पहिरोले त्यो बेला बांगाबगरमा छ घर पूर्णरुपमा नष्ट गर्नुका साथैे १५० रोपनी जमिन बगरमा परिणत गराएको थियो । त्यसबेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासी चिन्तित भएका छन् । 

तेह्रथुम : म्याङ्लुङ–वसन्तपुर सडकखण्डमा पहिरै–पहिरो

वर्षाका कारण भिरालो जमिन भएको पहाडी जिल्ला तेह्रथुमका अधिकांश गाउँ पहिरोको जोखिममा परेका छन् । 

पछिल्ला वर्षहरुमा अनियन्त्रितरुपमा भइरहेको सडक निर्माणका कारण जिल्लाका एक दर्जन भन्दा बढी गाविसमा पहिरोको खतरा बढेको हो । बुधबार राति परेको ठूलो वर्षाका कारण पहिरो खस्दा एक दर्जन बढी परिवार विस्थापित भएका छन् । बिहीबार राति पनि जिल्लामा भारी वर्षा भएको छ । 

पहिरोले घर जोखिममा पारेपछि म्याङ्लुङ नगरपालिकाको जिरीखिम्ती र सुर्केका इन्द्र सुवेदी, मेनुका तामाङ, मोहन गुरुङ, तारा बस्नेत, रामप्रसाद गौतम र भीमबहादुर लिम्बूको परिवार विस्थपित भएको हो । पहिरोले घर बगाउने, पुर्ने जोखिम भएपछि घर छाडेर छिमेकमा बसिरहेको सुर्केबजारका रामप्रसाद गौतमले बताए । 

गएरातिको वर्षापछि जिल्लाका मोराहाङ, श्रीजुङ, आम्बुङ, आङ्दिम, ओयाक्जुङ, वसन्तपुर, दाँगपालगायत गाउँका विभिन्न ठाउँमा पहिरोले स्थानीयवासीलाई त्रसित बनाएको छ । म्याङ्लुङ–वसन्तपुर सडकखण्डको टुक्रे, जिरीखिम्ती, सुर्के, लसुने क्षेत्रका दर्जनौँ ठाउँमा पहिरो खसेको छ । 

विगतमा पहिरोको जोखिममा रहेको पहिचान गरिएका गाउँसहित जथाभावी सडक निर्माण र वर्षाका कारण करिब एक दर्जन भन्दा बढी गाउँमा पहिरोको जोखिम बढेको हो । सडक निर्माणमा स्काभेटरको प्रयोग गर्ने चलन बढेपछि भिरालो जमिन खस्ने, कान्ला खस्नेजस्ता समस्या बढ्दै गएको म्याङ्लुङ नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले बताए । 

“सडक निर्माणसँगै आसपासमा घर बनेँ,” उनले भने – “सडक नै पक्का भएका छैनन् । सँगै जोडिएर बनेका घरका जग कसरी बलिया होउन् ?” जिरीखिम्ती बजारको लाक्चुम टोलका करिब १५ घर पहिराको जोखिममा परेका उहाँले बताउनुभयो । जिरीखिम्ती–मोराहाङ सडकखण्डका एक दर्जन भन्दा बढी ठाउँमा माथिबाट पहिरो खसेको छ । 

नाली बनिनसकेका सडकमा पहिरो खसेपछि बीच सडकबाटै भल बग्दै किसानका बारीमा पस्ने गरेको छ । त्यही कारण पनि दर्जनौँ ठाउँमा पहिरो गएको मोराहाङका दुर्गाराज लिम्बूले बताए । म्याङ्लुङ–सक्रान्ति सडकखण्ड र मध्यपहाडी लोकमार्गको सोही खण्डमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेको छ । 

अन्य एक सयभन्दा बढीको संख्यामा रहेका निर्माणाधीन ग्रामीण सडकले पनि वर्षासँगै खोल्सीको रुप लिएका छन् । सडकै–सडक भएर भल बग्दै गएर गाउँको बस्तीमा खनिँदा बस्ती नै जोखिममा परेका छन् । “सडकमा बग्दै आउँछ, नाली नबनाइएका कारण सडकबाट बगेको पानी गाउँतिर खनिन्छ, अनि गाउँ नै पहिरोको शिकार बन्ने रहेछ,” इवाका नरेन्द्र बानियाँले भने । 

नियन्त्रणका लागि गरिएका प्रयास असफल भएपछि विगतमा जोखिमयुक्त भनिएका गाउँमा समेत थप खतरा बढेको छ । वसन्तपुर र फुलेकमा दशकअघिदेखि वर्षेनी बढ्दै गएर ठूलो आकारका पहिरोले बस्ती तान्ने खतरा बढेको स्थानीयवासीले बताए । 

पहिरोको आकार वर्षेनी बढ्दै जाँदा किसानका खेतीयोग्य जमिनको क्षेत्रफलसमेत घट्दै गएको स्थानीय पदम खड्काले बताउनुभयो । गाउँ पुछारबाट शुरु भएको पहिरो घर छेउ आएपछि फुलेकको चम्फुलाका बासिन्दाको निद्रा हराएको छ । अझ गाउँ गाउँमा सडक निर्माण गर्ने क्रम बढेपछि पहिराको जोखिम बढेको उनीहरुको भनाइ छ । 

“पानी पर्नासाथ गाउँलेको घरै बगाउँला भन्ने डर छ,” लालीगुराँस नगरपालिका–७ का वडाध्यक्ष देवेन्द्र खड्काले भने – “भित्रभित्रै पहिरो पूरै गाउँभरि छिरेको छ ।” गएको पाँच वर्षको अवधिमा पहिराले ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन, जंगल तथा अलैँची बगान बगाएको उनले बताए । 

रोकथामका लागि गाउँलेले रुखबिरुवा, बाँस तथा मालिंगो रोप्नेदेखि पानी तर्काउनेसम्म गरे पनि प्रभावकारी भएको छैन । पहिरो नियन्त्रणका लागि जिल्ला भू–संरक्षण कार्यालयले पाँच वर्ष लगाएर काम ग¥यो । तर रोकिने छाँटकाँट नदेखेर कार्यालयले काम स्थगन गरेको छ । 

पहिरो ठूलो भएको र कार्यालयमा आउने थोरै बजेटले रोकथामको प्रयास सम्भव नभएको कार्यालयको भनाइ छ । भूमिगत पानी तर्काउन प्रभावित क्षेत्रमा लगाएको पाइप पहिरोले बगाएको छ । गाउँ पुछारको मंसेवा खोलाबाट शुरु भएको पहिरो घरछेउ आइपुगेको स्थानीय यामबहादुर गुरुङले बताउनुभयो । 

खाम्लालुङ, ह्वाकु, इवा, आङ्दिम, चुहानडाँडा र दाँगपा गाविसका दर्जनौँ बस्तीसमेत पहिराको जोखिममा रहेका छन् । “पानी नपर्दा परेन भन्ने हुन्छ, पर्दा पनि गाउँ नै पहिरोले बगाउँला भन्ने डर,” खाम्लालुङका सुमन खापुङले भन्नुभयो । खहरे खोला र खोल्सी आसपास तथा नयाँ बाटो खोलिएका गाउँमा पहिरोको त्रास बढी देखिएको खापुङले बताए । 

जिल्लास्थित रेडक्रस, दैवी प्रकोप उद्धार समिति र सम्बन्धित क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका अनुसार १५ वटा गाउँ पहिरोको उच्च जोखिम रहेको छ । यद्यपि जथाभावी सडक निर्माणको क्रम बढेकाले वर्षाको समयमा पहिरो खस्ने क्रम विगतभन्दा बढी देखिएको ह्वाकुका भीष्म डाँगीले बताए । 

बर्खायाममा बग्न सक्ने पहिरो र त्यसबाट हुने क्षतिबारे प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । 
 

-खरीबोट सम्वाददाताहरु र राससको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै