• २०८१ बैशाख ७ शुक्रबार

बाम गठबन्धनलाई पहिलो गाँसमा ढुंगा, नयाँ शक्तिले आफ्नै चुनाव चिन्हबाट लड्ने निर्णय  

kharibot

काठमाडौं । नयाँ शक्ति पार्टीले सूर्य चिन्ह लिएर चुनाव नलड्ने भएको छ ।

यसअघि एमाले र माओवादीसँग तालमेल गर्दै सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेको नयाँ शक्तिले गठबन्धनमा आफूहरुलाई उचित स्थान नदिइको भन्दै सूर्य चिन्ह लिएर चुनाव नलड्ने भएको हो । 

नयाँ शक्तिको संघीय सचिवालयको आज बसेको विस्तारित बैठक सो निर्णय गरेको हो । बैठकमा एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्नुको साटो नयाँ शक्तिकै चिन्ह आँखा लिएर लड्नुपर्नेमा नेताहरुले जोड दिएका पछि सो निर्णय गरिएको नयाँ शक्तिले जनाएको छ । 

साथै नयाँ शक्तिले निर्णय भइसकेका निम्न क्षेत्रहरुमा भने पूर्ववत् निर्णय अनुसार नै उम्मेद्वारी दिने निर्णय गरेको छ । जसअनुसार डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट, कृष्णकुमार चौधरी, कैलाली क्षेत्र नम्बर ३ बाट, दानबहादुर चौधरी,  कपिलबस्तु एक बाट, प्रेम तामाङ, रसुवाबाट र मदन राई, खोटाङबाट चुनाव लड्ने भएका छन् ।

नयाँ शक्तिको विस्तारित बैठकले आफ्नै चुनाव चिन्ह आँखाबाट चुनाव लड्ने निर्णय गर्दै बाम गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । गठबन्धनबाट बाहिरिने विषयमा कुनै निर्णय नगरेपनि बैठकमा संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने र तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने निर्णय गरेको छ ।

यस अघि नयाँ शक्तिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १५ सिट पाउनुपर्ने र अध्यक्ष बाबुराम भट्टराईलाई गोरखाका दुई मध्ये कुनै एक क्षेत्रमा टिकट दिनुपर्ने माग गरेपनि माओवादी र एमालेका नेताले डा. भट्टराईलाई गोरखाबाट टिकट नदिने बताएपछि डा. भट्टराई रुष्ट बनेका थिए । 

डा. भट्टराईले विहिबार मात्र एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सँगै भेटी आफुलाई गोरखाबाट टिकट नदिए आफु गठबन्धनमा नबस्ने अल्टिमेटम दिएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै